धरान उपमहानगरमा उम्मेद्वारीः ‘जातीय सन्तुलन’ मिलाउँदै दल

धरान । आसन्न स्थानीय तह चुनावमा आफ्नो सिट सुरक्षित गर्न  यहाँका प्रमुख राजनीति दलले ‘जातीय सन्तुलन’ मिलाएर उम्मेद्वार टुंग्याउने रणनीति बनाएका छन् । कांग्रेस, एमाले र एकीकृत माओवादी समावेशी सिद्धान्तअनुरुप धरान उपमहानगरपालिकामा सन्तुलित ढंगले उम्मेदवार छनोट गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन् ।
नेपाली कांग्रेस उपमहानगर समितिले तिलक राई,किशोर राईसहित मेयरमा ११ जना मेयरका आकांक्षीलाई मेयर तथा गैरजनजातिका आकांक्षीमध्येबाट उपमेयरको टिकट दिनुपर्नेे रायसहित सिफारिस पठाएको छ । मेयरमा तिलक वा किसोरमध्ये एकले उम्मेदवारी पाउने निश्चित छ । उपमेयरमा श्यामा रेग्मी, मीना पुलामी, नीलु गिरी थापा, उर्मिला प्रधान, ममता घिमिरेलगायतले दाबेदारी प्रस्तुत गरेका छन् । कांग्रेस धरान उपमहानगरपालिकाका सभापति एवं मेयर आकांक्षी तिलकका अनुसार यहाँ विभिन्न जातजातिको बसोबास भएकोले जातीय उपस्थिति अनुसार सन्तलन मिलाएर उम्मेदवार छनोट गर्नु आवश्यक छ । यस पक्षलाई ख्याल गरी उम्मेदवार छानेका दलले विगतका चुनाव जितेको देखिन्छ ।
‘विगतका चुनावमा कांग्रेसले सन्तुलन मिलाएर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको उम्मेद्वार छनोट गर्दै आएको छ । यसपालि पनि यस पक्षलाई ख्याल गरेर उम्मेद्वार तोकिन्छ,’ उनी भन्छन्,‘परिवर्तित सन्दर्भमा विविधता समेट्दै अघि बढ्नुपर्छ ।’ संविधानले समावेशी मुद्दालाई स्थापित गरेको सन्दर्भमा उम्मेद्वार छनोटमा सन्तुलन मिलाउनुपर्ने एमालेबाट मेयरका प्रमुख दाबेदार तथा उपमहानगर कमिटी अध्यक्ष तारा सुब्बा बताउँछन् । ‘प्रमुखमा एक समुदायबाट टिकट दिइएको छ भने उपप्रमुखमा अर्काे समुदायलाई समेट्नुपर्छ भन्ने एमालेको धारणा छ, सन्तुलन नमिलाउँदा भोट सुरक्षित गर्न गाह्रो हुन्छ,’ उनी भन्छन्,‘हामीले यसलाई विचार गर्दै उम्मेदवार सिफारिस गरेका छौं । पक्कै पार्टीले यसलाई आत्मसात गरेर निर्णय लिन्छ भन्ने लाग्छ ।’ एमालेबाट उपमेयरमा मन्जु भण्डारी, सावित्री श्रेष्ठ र वेणु काफ्लेको सिफारिस भएको छ ।
राई, लिम्बू, नेवार, क्षेत्री, ब्राह्मण, गुरुङ, तामाङ, मगरलगायत जातिको बसोबास रहको धरानमा जातीय संस्थाको मत आफ्नो पक्षमा पार्ने ध्याउन्नमा दलहरु छन् । धरानमा राईहरुको किरात राई यायोक्खा, लिम्बूहरुको किरात याक्थुङ चम्लुङ, नेवारहरुको नेवार एकता समाज र नेवा देयः दबु, तामाङ घेदुङ संघ, नेपाल मगर संघ, ब्राह्मण समाज नेपाल, खस क्षेत्री एकता समाजलगायत संस्था क्रियाशील छन् । अघिल्ला निर्वाचनमा यस्ता संस्थाको भूमिका निर्णायक देखिएकाले पनि दलहरु सन्तुलन मिलाउन लागिपरेका छन् ।    
‘यी संस्थाले चुनावमा प्रत्यक्ष सघाउन नमिल्ने भए पनि उनीहरुले कुनै पनि उम्मेद्वारको पक्षमा आन्तरिक लबिङ गरेमा त्यसले नतिजामा असर पार्न सक्छ,’ नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ भन्छन्,‘अघिल्ला चुनावमा यस्तो अवस्था स्पष्ट रुपमा देखिएको छ ।’ पार्टीका कार्यकर्तालाई यस्तो लबिङले केही फरक नपरे पनि सर्वसाधारण मतदातामा यसले प्रभाव पार्नसक्ने उनको दाबी छ ।
नेकपा माओवादी केन्द्रले अइन्द्रविक्रम बेघालाई सर्वसम्मत मेयरको उम्मेद्वार बनाएको छ भने उपमेयरमा कमला अधिकारी, लक्ष्मी प्रधान, गंगा पौडेल र कमला राईलाई सिफारिस गरेको छ । माओवादी केन्द्र धरान उपमहानगरका संयोजक फोक्वाहाङ सुब्बा धरानका आमसमुदायको धारणा आत्मसात गर्दै मेयर तथा उपमेयरको उम्मेद्वार टुंगो लगाउने विचार राख्छन् ।
राप्रपाले पनि उम्मेद्वार छनोटमा समावेशीतालाई ध्यानमा राख्दै उम्मेदवार तोकेको छ । राप्रपाका तर्फबाट मेयरमा तारा शाक्य र उपमेयरमा प्रकाश राईलाई उठाउने निश्चित भएको छ । नेवार समुदाय तथा महिलाको मत आकर्षित गर्न तारालाई मेयर तथा नगरमा बढी जनसंख्या भएको राई समुदायलाई समेट्न प्रकाशलाई उपमेयरमा उठाउने निर्णय गरेको राप्रपाका धरान अध्यक्ष जुद्ध लोहनीले जानकारी दिए । संघीय समाजवादी फोरम नेपालले भने उपमेयरमा मात्र पारस काङमाङ राईलाई उम्मेदवार बनाएको छ । मेयरमा अरु पार्टीसँग तालमेल गर्ने संघीयको रणनीति छ ।
२०४८, २०५१ र २०५६ सालको संसदीय चुनाव तथा २०४९ र २०५४ सालको स्थानीय चुनावमा जातीय र पहिचानको मुद्दाभन्दा पार्टीगत वैचारिक अजेन्डा मतदाताको प्राथमिकतामा पर्ने गरेको जानकार बताउँछन् । यी सबै चुनावमा धरान नगर तथा क्षेत्र नम्बर १ बाट एमालेले जितेको थियो । २०६२/६३ को जनआन्दोलनलगत्तै माओवादी शान्ति प्रक्रियामा आएपछि जातीय तथा पहिचानको मुद्दा प्रबल रुपमा उठ्न थाल्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धरान उपमहानगरपालिकासहितको सुनसरी क्षेत्र नं १ मा तत्कालीन एकीकृत माओवादीका किरणकुमार राईले जिते । जनजाति हकहितको मुद्दा माओवादीले उठाएको भन्दै यायोक्खाले किरणलाई जिताउन भूमिका खेलेको थियो ।
 २०६८ सालको जनगणना अनुसार धरान उपमहानगरमा राईहरुको जनसंख्या सबैभन्दा बढी २२ हजार २ सय ३० छ, जुन निर्णायक मत हो । त्यसपछि नेवारको जनसंख्या १६ हजार ३ सय ७०, लिम्बूको जनसंख्या १४ हजार ४ सय ४२, क्षेत्रीको जनसंख्या ११ हजार ४ सय ६३ र ब्राह्मणको जनसंख्या ८ हजार ३ सय ६३ छ । सुनसरी जिल्ला निर्वाचन कार्यालयका अनुसार धरान उपमहानगरमा ७८ हजार २ सय ८८ मतदाता छन् ।  
२०७० सालको दोस्रो संविधानसभा चुनावमा कांग्रेसका उम्मेद्वार चन्द्रप्रसाद श्रेष्ठलाई जिताउन नेवार समुदायले लबिङ गरेपछि राई समुदायको निर्णायक मत एमालेका कृष्णकुमार राईको पक्षमा गएको थियो । राईले कांग्रेसका श्रेष्ठलाई करिब २ हजार मतले पछि पार्दै विजयी भए । अन्तिम समयमा तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार ध्यानबहादुर राईले आन्तरिक रुपमा कृष्णकुमारलाई जिताउन भूमिका खेलेको धरानको राजनीतिक वृत्तमा व्यापक चर्चा छ ।
कांग्रेस जिल्ला सचिव तामाङका अनुसार धरानका कूल जातजाति मतदातमध्ये १० प्रतिशतजतिले जातीय संस्थाको लबिङ अनुसार भोट दिने गरेको देखिन्छ । ‘कांग्रेस, एमाले, माओवादीलगायत दलले धरानमा उम्मेद्वार तोक्दा एकदमै ख्याल गर्छन्,’ उनी भन्छन्,‘एउटा पार्टीले प्रमुख, उपप्रमुखमा कुन समुदायको उम्मेद्वार उठाउँछ, त्यही हेरेर अरु पार्टीले पनि उम्मेद्वार तय गर्छन् ।’ सबै समुदायको भावना समेट्नसक्ने उम्मेद्वारले यहाँ जित्ने गरेको तामाङको बुझाइ छ ।
ब्राह्मण समाज नेपालका जिल्ला कमिटी अध्यक्ष उद्धवप्रसाद अधिकारीको अनुभवमा जातीय संस्थाले चुनावमा उम्मेद्वार जिताउन निर्णायक भूमिका खेल्छन् । ‘धरान उपमहानगरको हकमा राई, लिम्बू, नेवार जातिको भोट विगतको चुनावमा निर्णायक बनेको छ,’ उनी सुनाउँछन्, ‘गैरजनजातिभन्दा पनि जनजातिका संस्थामा कुन उम्मेद्वारलाई जिताउने भन्ने लबिङ सफल भएको देखिन्छ ।’
कुनै पनि जातिको सघन बसोबास भएको ठाउँमा पञ्चायतकालदेखि नै त्यही समुदायबाट उम्मेद्वार तोक्ने प्रचलन रहेको लिम्बूवान अध्ययन केन्द्रका कमल तिगेला बताउँछन् । ‘२०४६ सालपछि पहिचानको मुद्दा सुरु भएकाले विभिन्न जातीय संस्था खुलेका हुन्, त्यसपछिका चुनावमा ती संस्थाको अप्रत्यक्ष रुपमा भूमिका छ,’ उनी भन्छन्, ‘जातीय सन्तुलन मिलाएर दलहरुले उम्मेद्वार छनोट गर्नु स्वभाविक छ ।’ २०६२÷६३ को आन्दोलन पछाडि पहिचानको मुद्दा अभैm तीव्र रुपमा अगाडि बढेको उनको ठम्याइ छ ।
किराँत राई यायोक्खाले स्थानीय तह निर्वाचनमा राई समुदायबाट बढीभन्दा बढी उम्मेदवार तोकिनुपर्ने भन्दै भित्रभित्रै लबिङ थालेको छ । प्रादेशिक चुनावमा किराँत राज्य स्वीकार्ने दललाई आफूहरुको समर्थन रहने यायोक्खाका जिल्ला सहसचिव राजेन्द्र राई बताउँछन् । ‘किराँत समुदायबाट अधिक उम्मेद्वार उठाउनुपर्छ भन्ने हाम्रो माग सम्बोधन गर्ने दललाई समर्थन रहन्छ,’ उनी भन्छन् । किरात याक्थुङ चुम्लुङ स्थानीय तह चुनावमा पहिचानवादीको पक्षमा देखिएको छ । चुम्लुङका अध्यक्ष सुवास हुक्पा चोङवाङ अहिले पहिचानवादी दलको संख्या बढ्दै गएकोले कसलाई सघाउने भन्ने अन्योल रहेको बताउँछन् । ‘अजेन्डाको हिसाबले लिम्बूवान पार्टीनजिक छ, तर, लिम्बूवान पार्टीको संख्या धेरै भएकाले अन्योल छ,’ उनी भन्छन् ।
महेन्द्र बहुमुखी क्याम्पस धरान राजनीतिशास्त्रका उपप्राध्यापक अमृत शाक्य भने चुनाव परिणाम नै प्रभावित हुने गरी जातीय भोट नजाने दाबी गर्छन् । उनी भन्छन्, ‘दलहरु जातीय सन्तुलन राख्नुपर्छ भन्ने मान्यताप्रति सचेत देखिन्छन् तर, अधिकांश मतदाताले पार्टीको विचारलाई नै प्राथमिकतामा राख्छन् ।’







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे