धरानलाई भ्रष्टचारमुक्त बनाउछौं: गठबन्धनका उम्मेदवारद्धय

धरान, असार १० । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टीलगायत ९ दलीय गठबन्धनका मेयर र उपमेयर पदका उम्मेदवार द्धयले धरान उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउने उद्घोष गरेका छन् ।
चुनावी गठबन्धनले शनिबार भानुचौकमा आयोजना गरेको विशाल सभामा बोल्दै मेयरका उम्मेदवार अइन्द्रबिक्रम बेघा र उपमेयरका उम्मेदवार पारस काङमाङ राईले धरान उमहानगरमा विकास, निर्माणको नाममा भ्रष्टचार भइरहको दाबी गर्दै त्यसलाई अन्त्य गर्ने बताए । मेयर उम्मेदवार बेघाले चुनावमा जित भएर स्थानीय सरकारको जिम्मा पाएपछि धरानबाट भ्रष्टचारको जरो उखेल्ने बताए । ‘जनताले बाटो, घर बनाउदा उपमहानगरपालिकाले धेरै दुःख दिइरहेको छ । भ्रष्टचार छ, त्यसको संरक्षक कुन पार्टी हो भन्ने हामीलाई थाह छ, अब हामी त्यसको जरो उखेल्छौं,’ बेघाले भने ‘तपाई हामी हिड्ने बाटो, कल्भर्ट, खानेपानी र नगरको सुविधामा भ्रष्टचार हुने छैन, हामी हुन पनि दिदैनौं ।’
प्रत्येक घरलाई १० युनिट विजुली र १० हजार लिटर पानी निःशुल्क दिने घोषणालाई पपुलिष्ट नारा भनिएको भन्दै बेघाले त्यसलाई कार्यान्वयन गरेरै छोड्ने बताए । जितेपछि खानेपानी व्यवस्थापन बोर्डको पहिलो बैठकबाटै निःशुल्क पानी उपलब्ध गर्ने निर्णय गराउने बेघाको भनाई थियो । ‘यो हाम्रो पपुलिष्ट नारा होइन, कार्यान्वयन गर्न घोषणा गरेका हौं । दिल्लीमा केजरीवाल सरकारले खानेपानी निःशुल्क दिएको छ, हामी किन नसक्ने ?’ बेघाले भने, ‘यो लाहुरेको शहर हो, निर्माण भइरहेको ब्रिटिश गोर्खा पार्कलाई पुरा गछौं, विजयपुर दरबार क्षेत्रको सिमांकन र संरक्षण गछौं ।’ उनले जलाधार क्षेत्र संरक्षण गर्न कार्ययोजना बनाएको खुलाउदै तीनकुने सुन्दर वस्ती विकास आयोजनामा अल्पकालीनरुपमा बसपार्क बनाउने, सुकुम्बासीको घरमा डोजर नलगाइ नै एयरपोर्ट निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिवद्धता पनि जनाए । सुकुम्बासीहरुलाई घरधनीपुर्जा दिने भनेर विश्वास दिलाउन प्रतिवद्धताको प्रमाणपत्र दिएको दाबी गर्दै धरानमा आफ्नो हार हुने निश्चित भएको देखेर कांग्रेस, एमाले पार्टीले नक्कली धनीपुर्जा बाडेको भन्दै झुटो प्रचार गरेको बताए ।
कोशी राजमार्गले धरानको मुख्य बजार क्षेत्रलाई क्षति नपुग्ने गरी प्लाई ओभरको अवधारणा अघि बढाउने र धनकुटे(धरान चतरा)सडक विस्तारलाई वाइपास गरेर लैजाने बेघाले बताए । जनतालाई आर्थिक भारकोरुपमा रहेको एकीकृत सम्पत्ति करको अव्यावहारिक बुँदाहरु खारेज गरेर वैज्ञानिक कर प्रणाली लागु गर्ने, धरानको व्यापार व्यावसायलाई सुरक्षित बनाउन डन र चन्दा आतंकबाट मुक्त पार्ने पनि बेघाको भनाई थियो । युवाहरुलाई रोजगारमुलक तालिम दिने, सेउती र सर्दुसँगै अन्य खहरेहरुमा तटबन्ध निर्माण गर्ने, विष्णुपादुका र पाँचकन्यालाई अग्र्यानिक कृर्षि क्षेत्र बनाउने, नियम बन्नुअघि खरीदबिक्री भएको ५ धुर जग्गामा घर बनाउन पाउने प्रावधान गर्नेलगायत प्रतिवद्धता मेयर उम्मेदवार बेघाले गरे ।
उपमेयरका उम्मेदवार पारस काङमाङ राईले पनि उपमहानगरपालिकामा व्यापक भ्रष्टचार भइरहेकोले त्यसलाई निर्मुल गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उपमहानगरले बनाएको सडक २, ३ महिनामै भत्कने गरेको उल्लेख गर्दै उनले ५ लेयरमा अलकत्रा लगाउनु पर्ने भएपनि २ लेयर जति मात्र लगाएर चरम भ्रष्टचार गरिरहेको दाबी गरे । उनले सर्दु जलाधार क्षेत्रमा भुमाफियाहरुको ठुलो चलखेल भएकोमा चिन्ता प्रकट गर्दै आफुहरुले जितेमा चलखेल पुर्णरुपमा रोकेर तत्काल संरक्षणको पहल थाल्ने बताए । ‘हामी भ्रष्टचार मुक्त छौं, त्यसैले नगरपालिकालाई पनि भ्रष्टचारमुक्त बनाउछांै । जलाधारमा माफियाको चलखेललाई निमिट्यान्न पाछौं र संरक्षणको लागि तत्काल वृक्षारोपण गछौं,’ उपमेयर उम्मेदवार राईले भने । उनले खानेपानी समस्यालाई समाधान गर्ने, सुकुम्बासीहरुको समस्यालाई पनि दीर्घकालीनरुपमा समाधान गर्ने बताए ।

पहिचान राजनीतिको केन्द्रविन्दुमाः नेता राई

धरान,असार १० । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिको केन्द्रविन्दु पहिचान भएपनि संविधानले पुर्णरुपमा तिरस्कार गरेकोले सच्याउन जरुरी रहेको बताए । नेकपा माओवादी केन्द्रसहित ९ दलको चुनावी गठबन्धनले शनिबार भानुचौकमा आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै नेता राईले अपुरो रहेको संविधानलाई परिमार्जन गरेर सच्याउन खोजिए पनि एमाले बाधक भएको विचार राखे । उनले एमाले राष्ट्रिय एकताको विरुद्ध भएको आरोप लगाउदै एमालेकै कारण मुलुकले राजनैतिक निकास नपाएको पनि दाबी रे । ‘अहिले नेपालको राजनीतिको केन्द्रविन्दु भनेको पहिचान हो, जसलाई यो संविधानले पुर्णरुपमा तिरस्कार गरेको छ । त्यसैले सच्याउदै संविधान लैजानुपर्नेछ तर एमाले सच्याउन मानेको छैन र देशलाई निकास पनि दिन चाहिरहेको छैन,’ नेता राईले भने, ‘एमाले राष्ट्रिय एकताको विरुद्धमा छ । गणतन्त्र, संघीयता र पहिचानलाई एमालेले स्वीकार गरेकै छैन ।’
नेता राईले देशका सबै जाति, भाषी र सँस्कृतिका जनताले समान सम्मान र अवसर पाउनुपर्ने धारणा राखे । गणतन्त्र, संघीयता र पहिचानवादी शक्तिहरुबीचको धरानमा गठबन्धन आवश्यकताले गरेको भन्दै उनले जनताले पनि जिताउने विश्वास व्यक्त गरे । संविधानले स्थानीय सरकारलाई दिएको २२ अधिकारमध्ये जग्गा दर्ता गर्न पाउने भएकोले सोही अनुसार सुकुम्बासीलाई निःशुल्क पुर्जा वितरण गर्न उनले उम्मेदवारहरुलाई आग्रह पनि गरे । ‘शुल्क लिएर होइन, निःशुल्क धनीपुर्जा वितरण गर्नुपर्छ । जग्गा दर्ता र भुउपयोग नीति स्थानीय सरकारको अधिकार क्षेत्र हो,’ उनले भने । माओवादी केन्द्रका नेता रामबहादुर थापा वादलले पनि धरानमा राष्ट्रवादी र पहिचानवादी शक्तिहरुबीच गठबन्धन भएकोले मत दिएर जिताउन आग्रह गरे । गठबन्धनले जितेमा धरानको मुहार फेरिने उनको भनाई थियो ।
यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष के.पी.पालुङ्वाले २०४६ सालपछि स्थानीय र केन्द्रीय सत्तामा पुगेका एमाले, कांग्रेसले धरानको विकास गर्न नसकेको आरोप लगाए । गणतन्त्र, संघीयता र पहिचानवादी शक्तिहरुको गठबन्धनले जितेमा धरानमा विकासको लहर आउने उनको दाबी थियो । ‘धरान कुवाको भ्यागुतो जस्तो भइसकेको छ, २०३६ सालको भानुचौक अहिले पनि उस्तै छ, खै त्यसको विकल्प खोजेको ? अहिलेसम्म जितेको एमाले र प्रमुख प्रतिपक्षमा बसेको पार्टी कांग्रेसले धरानमा के गर्यो ?’ नेता पालुङ्वाले भने, ‘अब यो गठबन्धनले जितेर धरानको मुहार फेर्छ ।’
सोही चुनावी सभामा जनजागरण पार्टीका मेयर पदका उम्मेदवार चन्द्रकुमार शेर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै गठबन्धनका मेयर र उपमेयर उम्मेदवारलाई सघाउने घोषणा गरे । निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता गर्ने म्याद सकिएपनि गठबन्धनसँग उनले यस्तो सहमति गरेका हुन् । सभामा बोल्दै शेर्माले पहिचान, राष्ट्रियता, गणतन्त्रवादी शक्तिलाई वलियो बनाउन र धरानको विकास गर्न गठबन्धनको उम्मेदवारलाई जिताउन उम्मेदवारी फिर्ता गरेको बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे