धरानमा मयेरमा १२ र उपमेयरमा १२ को मनोनयन दर्ता(फोटोफिचर)

धरान, असार ४ । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि धरान उपमहानगरमा ७ राजनीति दल र ६ स्वतन्त्र गरि १३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् भने उपमेयर पदमा पनि १२ जनाको उम्मेदवारी परेको छ । धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नेपाली कांग्रेसबाट मेयर पदमा तिलक राई, नेकपा एमालेबाट मेयर पदमा तारा सुब्बा र नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीको गठबन्धनले मेयर पदमा अइन्द्रबिक्रम बेघाको उम्मेदवारी दर्ता गराएको छ ।
प्रमुख तीन दलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदमा तारादेवी शाक्यको उम्मेदवारी दर्ता भएको छ।यसैगरि, जनजागरण पार्टीबाट मेयर पदमा चन्द्रकुमार शेर्माले उम्मेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट भिमप्रसाद तिम्सिना, राष्ट्रिय जनमोर्चा नेपालबाट मेयर पदमा कमला खड्का तामाङले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । मेयर पदमा राजनीतिक दलबाहेक कृष्णनारायण पलिखे, तीर्थबहादुर तामाङ,  कृष्ण उदास, रविन लामा र भीमकुमार राईको स्वतन्त्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
यसैगरि, उपमेयर पदमा नेपाली कांग्रेसबाट श्यामा रेग्मी, एमालेबाट मञ्जु भण्डारी सुवेदी र माओवादी केन्द्र, समाजवादी फोरम गठबन्धनबाट पारस काङमाङ राईको उम्मेदवारी दर्ता भएको छ । यस्तै, राप्रपाबाट प्रकाश राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट पुर्णकला लिम्बू, खम्बुवान राष्ट्रिय मोचाबट नरदेवी राई, जनमोर्चाबाट विष्णु खवास र नेकपा माले पार्टीबाट एकराज सुब्बाले पनि उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक, उपमेयर पदमा तुलसा गुरुङ, मेहरमान ह्युज, ममिता राई र विनिता राईले पनि उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक अधिकृत खतिवडाका अनुसार धरानको २० वटा वडामा २० वडाअध्यक्ष पदका लागि १ सय ७ जनाको उम्मेदवारी दर्ता भएको छ भने ४० जना खुल्ला सदस्य पदमा १ सय ८० जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरि, २० जनाको महिला सदस्य कोटामा ९१ जना र २० जना दलित महिला कोटाको लागि ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
...........................................................................

प्रमुख दलका उम्मेदवारहरुले भने, ‘विकासको लागि एकजुट छौं’

दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि धरान उपमहानगरमा उम्मेदवारी मनोनयन दर्ता भएको कारण बिहानैदेखि धरान ८ स्थित सभागृहमा बाक्लो संख्यामा सुरक्षाकर्मीसँगै स्थानीय नेता, कार्यकर्ताहरुको चहलपहल थियो ।
दिउँसो कांग्रेसको मनोनयन दर्ता चलिरहदा कांग्रेस, एमाले र माओवादीका मेयर पदका उम्मेदवारहरु क्रमशः तिलक राई, तारा सुब्बा र अबइन्द्रबिक्रम बेघा सभागृह परिसरमा आमनेसामने भए । तिनैजना उम्मेदवारहरुले एकअर्कासँग हात मिलाएर औपचारिकता मात्र पुरा गरेनन्, केहीबेरसम्म हात बाँधेर चुनावी स्वच्छ प्रतिस्पर्धामा आफुहरु उत्रिएको सन्देश पनि थिए । साथै, धरानको विकासमा आफुहरु एकजुट हुने उद्घोष पनि गरे । तिनै पार्टीका मेयर पदका उम्मेदवारले एकअर्काको हात समातेर माथि उचालेपछि पत्रकारहरुले तस्बिर लिदै सोधे, ‘तपाईहरु यसले के सन्देश दिन चाहदै हुनुहुन्छ ?’ जवाफमा कांग्रेसका उम्मेदवार तिलक राईले भने, ‘नगरको विकासको लागि हामी एकजुट छौं ।’ यो बोलीमा मात्र हो कि व्यावहारमा पनि हो ? पत्रकारदीर्घाबाट पुनः प्रश्न आयो । जवाफमा एमाले र माओवादीका उम्मेदवारद्धयले भने, ‘हामी साँच्चै नै एक छौं ।’ प्रमुख तीन दलका मेयर पदका उम्मेदवारहरुको यो भनाईले अन्य उम्मेदवार र पार्टी नेता, कार्यकर्ताहरुलाई पनि निक्कै खुशी देखिन्थे ।
त्यसो त, तीन उम्मेदवारको भेट हुनुअघि नै कांग्रेसका उम्मेदवार राई र माओवादीका उम्मेदवार बेघाको सभागृह परिसरमा जम्काभेट भएको थियो । त्यसबेला दुवै उम्मेदवारले हात जोडेर नमस्कार गर्दै एकअर्कालाई भोट मागेको रोचक दृष्य पनि पत्रकारहरुको क्यामेराले कैद गर्न भ्याएको थियो । ‘नमस्कार तिलक दाई, एक भोट मलाई है त,’ माओवादी उम्मेदवार बेघाले भोट मागेपछि कांग्रेसका उम्मेदवार राईले पनि भने, ‘अइन्द्र भाई, मलाई पनि एक भोट है ।’ यो दृष्य हेरिरहेका नेता, कार्यकर्ता तथा अन्य उम्मेदवारहरु रमाइलो मानिरहेका थिए ।
........................

                                          उम्मेदवारी दर्तामा शक्ति प्रर्दशन

साना दल र स्वतन्त्र उम्मेदवारहरु आफ्ना थोरै समर्थकको साथमा मनोनयन दर्ता गरिरहदा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र–समाजवादी फोरम गठबन्धनका उम्मेदवारहरु झाँकीसहित वृहत र्याली लिएर सभागृह पुगेपछि भने चुनावी रौनक छायो । वडाहरुमा घरदैलो अभियानमा सिमित कांग्रेस, एमाले र माओवादी केन्द्रलाई उम्मेदवारी मनोनयन शक्ति प्रर्दशनको अवसर पनि भयो ।
तीन ठुला पार्टीहरुले उम्मेदवारी मनोनयन गर्न जादा मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरु मात्र होइन, ढोल झ्याम्टासहित आफ्ना कार्यकर्ता र समर्थकहरुको ठुलो संख्यामा र्याली नै निकाल्यो । कोशी राजमार्ग छोडेर सहायक बाटो हुदै सभागृह प्रवेश गर्नुअघिसम्म तीन दलको र्याली निस्कदा सवारी आवागमन ठप्प बनेको थियो । पार्टीका नेता, कार्यकर्ताहरु नाचगान गर्दै उम्मेदवारी दर्ता गर्न सभागृह पुगेका थिए । पुरुष उम्मेदवारहरु कोही दौरा सुरुवाल र ढाका टोपीमा थिए भने महिला उम्मेदवारहरु जातीय मौलिक भेषभुषामा सजिएका थिए । उम्मेदवारी दर्ता गर्न जादा कांग्रेस, एमाले र माओवादी गठबन्धनको र्यालीले धरानमा यही तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन शुरु भएको छ ।
मनोनयन दर्तामा जादा निस्किएको र्यालीबाट प्रमुख तीन दलका उम्मेदवारहरु निक्कै हौसिएका छन् । तिनै जना उम्मेदवारले आफुले जित हासिल गर्ने दाबीसमेत गरे । कांग्रेसका उम्मेदवार तिलक राईले जनताको उभार आएको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित भएको दाबी गरे भने माओवादीका उम्मेदवार अइन्द्रबिक्रम बेघाले मनोनयन दर्ता गर्न जाने क्रममा धरान र सभागृह कब्जा गरेझै भएको बताए । साथै उनले जनपरिचालनको हिसाबले आफुले जित हासिल गरिसकेको तर घोषणा गर्न मात्र बाँकी रहेको बताए । उता, एमाले उम्मेदवार तारा सुब्बाले पनि हजारौंको संख्यामा कार्यकर्ताहरुको उपस्थिति भएको उल्लेख गर्दै यो प्रर्दशनबाट नै धरानमा एमालेको जित पक्का भएको दाबी गरे ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे