प्रमुख पदमा महिला उम्मेदवार थोरै


उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गर्न आइतबार सभागृह पुगेकी एमाले नेतृ मञ्जु भण्डारी(दाँया)लाई बधाई दिदै माओवादी केन्द्रकी नेतृ कमला अधिकारी(चेतना श्रेङ) ।
धरान,असार ६ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनसरी जिल्लाका राजनीतिक दलहरुबाट समावेशी कोटामा बाहेक प्रमुख पदहरुमा न्युन संख्यामा मात्र महिलाहरुको उम्मेदवारी परेको छ । चुनावमा जसरी पनि जित्नुपर्ने राजनीतिक दलको मानसिकताको कारण महिलाहरुलाई प्रमुख पदमा उम्मेदवारी दिनबाट बञ्चित गराइएको हो ।
संविधानले प्रमुख र उपप्रमुख पदमध्ये एकमा अनिवार्य महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेपनि प्रमुख दलहरुले नै ‘तालमेल’को नाममा महिलालाई उम्मेदवारी दिनबाट बञ्चित गरे । पार्टीको प्रचारप्रसारमा महिलाको सहभागीता उत्साहजनक भएपनि उम्मेदवारीमा भने निराशाजनक छ । प्रमुख, उपप्रमुख पदमा उम्मेदवारको आकांक्षी भएपनि महिलाहरुलाई टिकट दिए हारिने डरले पुरुषले नै टिकट हत्याउन सफल भए । आइतबार सुनसरी जिल्लाको २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकामा भएको उम्मेदवारी मनोनयनको तथ्यांक हेर्दा पनि प्रमुख पदहरुमा पुरुषहरुकै वर्चश्व रहेकोछ । नगर वा गाउँपालिका प्रमुख वा अध्यक्षमा पुरुष उम्मेदवार हाबी रहदा कतिपय पार्टीले उपप्रमुखमा पनि महिलालाई पाखा लगाएको छ । राजनैतिक दलहरुले महिलालाई समावेशी कोटाअन्र्तगत महिला सदस्य र दलित महिला सदस्यमा मात्र सिमित राख्न चाहेको देखिन्छ ।
धरान ११ मा वडा अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराउन आइतबार सभागृह जादै गरेकी माओवादी केन्द्रकी कमला राई ।
सुनसरीस्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार १२ स्थानीय तहको प्रमुख वा अध्यक्षमा १ सय २० जना पुरुष उम्मेदवारको मनोनयन दर्ता हुदा महिलाको संख्या भने १२ मात्र छ । यस्तै, उपप्रमुख वा उपाध्यक्षमा ८१ जना महिलाको उम्मेदवारी मनोनयन दर्ता हुदा सोही पदमा २८ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको छ । कार्यकारी अधिकार रहने वडाअध्यक्ष पदमा जिल्लाभरमा ७ सय ४१ पुरुषको मनोनयन दर्ता हुदा महिला उम्मेदवारी भने मात्र ४१ जनाको मात्र छ । ‘पहिलो कुरा त उम्मेदवारको प्रतिस्पर्धामा महिला दिदीबहिनीहरु कमै देखियो, तर जति थिए उहाँहरुलाई पार्टीहरुले वडाको अध्यक्षमा पनि पत्याएको देखिएन,’ महिला अधिकारकर्मी एवं महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्यले भनिन्, ‘पार्टीहरुमा पनि निर्णय गर्ने तहमा महिलाहरु छैनन्, महिलालाई टिकट दिनुपर्छ भन्ने नभएपछि पाउने कुरा पनि भएन ।’ लामो समय निर्वाचन नहुदा राजनीतिमा महिलाहरु सक्रिय नहुदा पनि नेतृत्वमा समस्या भएको उनको बुझाई छ ।
जिल्लाको दुई उपमहानगर धरान र इटहरीमा प्रमुख(मेयर) पदमा २२ जना पुरुषको उम्मेदवारी मनोनयन दर्ता हुदा महिलाको भने मात्र ५ जनाको मनोनयन दर्ता भएको छ । धरानमा मेयर पदमा १० जना पुरुष र २ जना महिलाले मनोनयन दर्ता गरेका छन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रको रोजाईमा पुरुष उम्मेदवार हुदा राप्रपाले तारादेवी शाक्य र राष्ट्रिय जनमोर्चाले कमला तामाङ खड्कालाई मेयर पदमा उम्मेदवार बनाएर चुनौती पेश गरेको छ । धरानमा माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग तालमेल गर्दा उपमेयरमा समेत ४ जना महिला आकांक्षीहरु उम्मेदवार हुनबाट बञ्चित भए । उपमेयर पाएको फोरमले उपमेयरमा पुरुषलाई नै उम्मेदवार बनायो । यस्तै, इटहरीमा १२ पुरुष र ३ महिला उम्मेदवारले मेयर पदमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस र एमालेले मेयरमा पुरुष उम्मेदवार उठाउदा माओवादी केन्द्रले भने महिला उम्मेदवार हरिमाया जिमीलाई उठाएको छ । यस्तै, नेपाल परिवार दलबाट सीतादेवी ढकाल र साझा पार्टीबाट स्वतन्त्र उम्मेदवार ताराकुमारी काफ्लेलाई मेयर पदमा उम्मेदवार बनाएको छ ।
कांग्रेसबाट धरानमा उपमेयरकी उम्मेदवार श्यामा रेग्मी ।
इनरुवा नगरपालिकामा ९ जना पुरुष उम्मेदवारले मनोनयन दर्ता गर्दा मात्र ३ जना महिलाले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवारहरुमा महेश्वरी न्यौपाने, यमुनादेवी निरौला र रुपा प्रधान छन् । दुुहबी नगरपालिका, बराह नगरपालिका र रामधुनी नगरपालिकामा भने प्रमुख पदमा एक जना पनि महिलाको उम्मेदवारी परेन । मेयर, उपमेयरपछि कार्यकारी अधिकार रहेको वडाअध्यक्ष पदमा पनि महिला उम्मेदवारको संख्या टिठलाग्दो देखिन्छ । जिल्लाको सबै स्थानीय तहमा गरी ४१ जना महिलाको मात्र वडाअध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्यही पदमा पुरुष उम्मेदवार भने ७ सय ४१ को मनोनयन दर्ता भएको छ ।
धरान उपमहानगरमा ९९ जना पुरुषको वडाअध्यक्षमा मनोनयन दर्ता हुदा ९ जना महिलाको मात्र मनोनयन दर्ता भएको छ । कुल २० वटा वडामध्ये माओवादी केन्द्रले वडा ११ मा मात्र कमला राईलाई अध्यक्षमा उठाएको छ भने राप्रपाले वडा २ मा चन्द्रकला काफ्ले र वडा ६ मा जानकीदेवी मगर लुंगेलीलाई उम्मेदवार बनाएको छ । यस्तै, संघीय समाजवादी फोरमले वडा ९ मा ऐसा सुनुवार र वडा १० मा कृष्णकुमारी राईलाई उम्मेदवार बनाउदा प्रमिला येङतेनले स्वतन्त्रबाट वडा ८ को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । इटहरी उपमहानगरमा १ सय १७ जना पुरुष उम्मेदवारले वडाअध्यक्षमा मनोनयन दर्ता गर्दा ११ महिलाले मात्र उम्मेदवारी दर्ता गरेका छन् । जसमा माओवादी केन्द्रले वडा ८ मा कविता भटराई, वडा १९ मा जिना राई र वडा ११ मा पन्नकुमारी पोखरेल गेलाललाई उम्मेदवार बनाएको छ भने मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक)बाट वडा ४ मा चिना खवास, एमालेबाट वडा १० मा सीतकुमारी पौड्याल, राप्रपाबाट वडा १८ मा चन्द्रकला घिमिरे उम्मेदवार छन् । यस्तै, संघीय समाजवादी फोरमबाट वडा ११ मा शारदादेवी रिजाल र वडा १२ मा हेमलता चौधरी वडाअध्यक्षका उम्मेदवार छन् भने वडा ३ मा नेपाल परिवार दलकी मीना रसाइली, वडा ६ मा स्वतन्त्र उम्मेदवार जानुका झा र वडा १८ मा मैमुल खातुन स्वतन्त्र उम्मेदवार छन् ।
इनरुवा नगरपालिकामा मात्र २ जनाको मनोनयन दर्ता हुदा दुहबी नगरपालिकामा ३ जना, रामधुनी नगरपालिकामा ६ जना र बराह नगरपालिकामा ६ जना महिलाले वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । यस्तै, भोक्राहा गाउँपालिकामा १ जना, कोशी गाउँपालिकामा २ जना र बर्जु गाउँपालिकामा १ जना महिलाले वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाको देवानगञ्ज, बर्जु र हरिनगरा गाउँपालिकामा भने एक जना पनि महिला उम्मेदवारले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छैनन् । अनेमसंघकी जिल्ला अध्यक्ष एवं महिला नेतृ निरा आचार्यका अनुसार महिलाले गर्न सक्दैनन् भन्ने पुरुष सत्तात्मक सोचले महिलालाई प्रमुख पदबाट बञ्चित गराएको हो । ‘पुरुष मानसिकता हावी भएकैले महिला पाखा लगाइएको हो । महिलाले सहकारी, बैंक पनि चलाएका छन्, ती बुझ्नेले अघि सारे, बुझ्न नसक्नेले पछि पारे,’ नेतृ आचार्यले भनिन् ।
एमाले जिल्ला उपाध्यक्ष रमेश बस्नेतको विचारमा क्षमतावान् महिलाहरु हुदा हुदै पनि दलहरुमा जित्नुपर्छ भन्ने मानसिकता र सामाजिक परिवेशले महिला उम्मेदवार कम भएको हो । महिलाहरुले अवसर कम पाएको र तुलनात्मकरुपमा समाजमा कम परिचित हुने गरेकोले पनि राजनीतिक दलले पुरुषलाई प्राथमिकता दिएको उनको भनाई छ । ‘हाम्रो सामाजिक परिवेशले महिलालाई कम अवसर दिएको छ, समाजमा महिलालाई स्थापित हुने, परिचित हुने मौका ज्यादै कम छ,’ उपाध्यक्ष बस्नेतले भने, ‘त्यसैले पार्टीहरुले जित्नकै लागि महिलालाई प्रमुख पदमा ज्यादै कम उम्मेदवार बनाएको हो ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे