धरानमा ‘लालकिल्ला’ तोडिएला !?

धरान,असार १० । २०४६ सालमा प्रजातन्त्र पुर्नवहालीपछिको स्थानीय, संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिको दुई संविधानसभा निर्वाचनको मतपरिणामले मात्र होइन, निरंकुश पञ्चायती व्यवस्थामा पनि धरान कम्युनिष्टहरुको गढकोरुपमा रहेको जानकारहरु बताउँछन् । पञ्चायती व्यवस्थामा पनि जनपक्षीय उम्मेदवारको नाममा धरानमा वामपन्थीहरु चुनावमा उठेर नेतृत्व लिने गर्थे ।
२०४६ पछिको सबै निर्वाचनमा धरानबाट नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले जित हासिल गर्यो । २०४९ र २०५४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयर दुवैमा एमालेको जित भयो भने २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा एमाले उम्मेदवारले कांग्रेसलाई पराजित गर्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवारको हार भएपनि लालकिल्ला तोडिएन । माओवादी केन्द्रका उम्मेदवारले जित्दै लालकिल्ला कायमै राखे । त्यसबेला कांग्रेस तेस्रो स्थानमा झर्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पुनः एमाले उम्मेदवारले यहाँबाट जित हासिल गर्दा कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा झर्यो । जुनसुकै निर्वाचनमा पनि कम्युनिष्टले जितेर लालकिल्लाकोरुपमा परिचित १ नं प्रदेशअन्र्तगत धरान उपमहानगरपालिकामा असार १४ को स्थानीय तह निर्वाचनले सबैको ध्यान तानेको छ ।
यसपाली लालकिल्ला तोडिएला त ? नेता, कार्यकतासँगै आममतदाताहरुको मनमा यही प्रश्न खेलिरहेको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले धरानमा केन्द्रीय नेता ल्याएर मतदातालाई रिझाउने प्रयास पनि गरिरहेको छ । कांग्रेस नेता मिन विश्वकर्मा चुनावलाई लक्षित गरेर धरानमै छन् । शुक्रबार मिनेन्द्र रिजाल, महेश आचार्य, अर्जुननरसिंह केसीलगायत नेताहरु ल्याएर चुनावी सभासमेत कांग्रेसले गर्यो । माओवादीले घरदैलो अभियानमा केन्द्रीय नेता देव गुरुङ हिडायो भने शनिबार चुनावी सभामा नेता रामबहादुर थापा वादलसहित गठबन्धनमा रहेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई पनि ल्यायो । आइतबार एमालेले केन्द्रीय नेता ल्याएर धरानमा चुनावी सभा गर्दैछ ।
कांग्रेसले मेयरमा धरान सभापति तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उम्मेदवार बनाएको छ । एमालेबाट मेयरमा धरान अध्यक्ष तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी चुनावी होडमा छन् भने माओवादी केन्द्र–संघीय समाजवादी फोरम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा मेयरमा र पारस काङमाङ राई उपमेयरमा उठेका छन् । सधै पराजय व्यहोरेको नेपाली कांग्रेस असार १४ गतेको स्थानीय तह निर्वाचनमा जितेर लालकिल्ला तोड्न चाहन्छ । नेकपा एमाले आफ्नो विरासत जोगाउन चाहिरहदा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीचको चुनावी तालमेलले त्रिपक्षीय प्रतिस्पर्धा हुने अडकलबाजी हुन थालेको छ ।
धरानमा राप्रपा, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी र ५ जना स्वतन्त्र उम्मेदवारसहित १२ जना मेयरमा उठेपनि कांग्रेस, एमाले र माओवादी गठबन्धनबीचमा प्रतिस्पर्धा हुने अनुमान छ । ‘धरानमा २००७ सालअघिदेखि नै कम्युनिष्ट गतिविधि भएको ठाउँ हो । यहाँको जनता सधै विद्रोही स्वभावका छन्, २००७ सालमा दिल्ली सम्झौता धोका हो भन्दै राजा त्रिभुवनलाई कालोझण्डा देखाउने धरानेहरु नै हुन् । यो वा त्योरुपमा पञ्चायतमा पनि वामपन्थी उम्मेदवार उठेर जित्थे,’ विश्लेषक एवं महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद दाहालले भने, ‘लालकिल्ला तोड्न त्यति सहज छैन, तर कम वा बेसी कांग्रेस, एमाले र माओवादीबीचमा नै प्रतिस्पर्धा हुन्छ ।’
कांग्रेस नेताहरु विगतमा जितेका कम्युनिष्ट उम्मेदवारहरुले धरानको विकास र समृद्धिको स्पष्ट खाका कोर्न नसकेकोले यो पटक जनताले वैकल्पिक शक्तिकोरुपमा कांग्रेसलाई जिताउने दाबी गर्छन् । ‘यसअघि जितेको दल र उम्मेदवारले धरानको भौतिक पुर्वाधार, सामाजिक विकासको लागि दीर्घकालीन नीति र कार्यक्रम ल्याउन सकेन । अहिले पनि बसपार्क अस्तब्यस्त छ, दिगो आर्थिक स्रोत छैन, महंगी बढेको छ,’ कांग्रेसबाट मेयर पदका उम्मेदवार राईले भने, ‘जनताले वैकल्पिक शक्ति चाहिरहेको छ, त्यसैले यो पटक कांग्रेसको जित निश्चित छ ।’ विगतको तुलनामा अहिले कांग्रेस सांगठनिकरुपमा वलियो रहेको उनको दाबी छ । यद्यपी, कांग्रेसले विगतमा जस्तो अन्र्तघात रोक्न नसके धरानमा जित्न कठिन पर्ने कांग्रेसीवृत्तमा नै चर्चा छ । पुर्व नगरसभापति किसोर राईले मेयरमा भोट माग्दै हिडिसकेको अवस्थामा टिकट नपाएपछि अन्र्तघातको आशंका बढेको थियो । तर, किसोरले तिलकलाई सघाउने उद्घोष गरिसकेका छन् । कांग्रेसका उम्मेदवार राई जातिको सबैभन्दा बढी जनसंख्या भएको र मेयर पदमा कांग्रेसबाट मात्र राई उम्मेदवार भएको मत पाउने कांग्रेसी नेताहरुले अपेक्षा गरेका छन् । कांग्रेसका मेयरका उम्मेदवार जातीय संस्था किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष पनि हुन् । केही दिनअघि यायोक्खा जिल्ला कमिटिले धरानका सबै राई उम्मेदवारलाई निमन्त्रण गरेर शुभकामना कार्यक्रम राखेपछि राईहरुको ‘न्युट्रल’ मत कांग्रेस उम्मेदवारले पाउने चर्चा छ ।
एमालेले धरानमा आफ्नो विरासत जोगाउन तेस्रो पटक पार्टीको अध्यक्ष भएर नेतृत्व गरिरहेका सुब्बालाई भरोसा गरेको छ । पार्टी नेतृत्व गर्नुका साथै सुब्बाले धरानको विकास निर्माण तथा जनचासोको बिषयमा लामो समय सक्रिय भुमिका निर्वाह गरेर जनताको विश्वास जितेकोले जित हासिल गर्ने एमालेको दाबी छ । ‘धरानमा अहिले जे जति विकास निर्माण भएको छ, ती सबै हाम्रो जनप्रतिनिधिको कार्यकालमा बनेको भिजनअनुसारको हो । त्यतिबेला नै धरानलाई साँस्कृतिक, पर्यटकीय, शैक्षिक, आवासिय शहर बनाउने भिजन बनेको थियो,’ एमालेबाट मेयरका उम्मेदवार सुब्बाले भने, ‘सांगठनिकरुपमा हामी वलियो छौं र जनताको विश्वास हामीसँगै छ । त्यसैले यसपाली पनि जित्छौं ।’ जातीय मत कांग्रेसलाई जाने सन्र्दभमा उनले अस्वीकार गरे । एमालेमा धेरै संख्यामा राई जातिको नेता, कार्यकर्ताहरु भएको र वडामा धेरै संख्यामा एमालेबाट राई उम्मेदवार भएकोले एकपक्षीयरुपमा मत नजाने उनको तर्क छ । आफ्नो मतदाता बढी भएको विष्णुपादुका गाविस धरान उपमहानगरमा गाभिएकोले पनि जित हुनेमा एमाले ढुक्क छ ।
माओवादी उम्मेदवार अइन्द्रबिक्रम बेघा राजनीतिक एजेण्डासँगै समाजवादी फोरमसँगको गठबन्धनले आफ्नो जित सुनिश्चित भएको बताउँछन् । ‘राजनीतिक एजेण्डाको कारणले पनि जनताको मत हामीले पाउछौं । संघीयता, गणतन्त्र, पहिचान, महिला र दलितको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी नै हो,’ मेयरका उम्मेदवार बेघाले भने, ‘हामीसँग जनाधार छ, धरानको विकासको भिजन बनाएका छौं र यो गठबन्धनपछि पहिलो पार्टी भएका छौं, हाम्रो जित सुनिश्चित भएको छ ।’ पहिलो संविधानसभा निर्वाचनमा विजयी बनेकोले पनि माओवादी केन्द्र धरानमा जित हुनेमा आशावादी छ । धरान उपमहानगरमा कुल मतदाता संख्या ७९ हजार २ सय ८२ मतदाताहरु छन् । धरान २० वडामा विभाजित छ ।
चुनावी एजेण्डाः पानी र विजुली निःशुल्कदेखि भ्रष्टचारमुक्त र सुकुम्बासीलाई स्वामित्वसम्म 
स्थानीय तह निर्वाचनमा होमिएको धरानका मुख्य राजनीतिक दलहरुले मतदातालाई आकर्षिक गर्न पानी र विजुली निःशुल्क दिने, उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त गर्नेदेखि बसपार्क बनाउने, सुकुम्बासीलाई जग्गा र बसोबासको स्वामित्व दिलाउनेसम्मको एजेण्डा अघि सारेको छ । माओवादी केन्द्रले धरानलाई प्रदेश नं १ को राजधानी बनाउने, प्रत्येक परिवारलाई १० हजार लिटर पानी र १० युनिट विजुली निःशुल्क उपलब्ध गराउने, जोेगमुनीबाट धरानसम्म रेल्वे ल्याउने, धरानको गुमेको व्यापारी खासलाई उठाउने, धरानलाई स्मार्ट सिटि बनाउने, वैज्ञानिक कर लागु गर्ने, सेउती सर्दुलगायत खोलामा तटबन्ध निर्माण र पक्की पुल बनाउने तथा सुशासन कायम गर्न र नगर सरकारको काम अनुगमन गर्न शक्तिशाली नागरिक संयन्त्र गठन गरेर जनपालको व्यवस्था गर्नेलगायतका एजेण्डा बोकेको छ ।
कांग्रेसले उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउने, उपमहानगरप्रति गुमेको जनताको विश्वास जोगाउने, आर्थिक समृद्धिको लागि पर्यटन, कृर्ष, उद्योगमा लगानी बढाएर रोजगारी सृर्जना गर्ने, धरानलाई प्रदेशनको राजधानी बनाउन पहल गर्ने, एयरपोर्ट र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने, विष्णुपादुका तथा पाँचकन्याको समग्र विकास गर्ने वृहत्तर विकास परियोजना सञ्चालन गर्ने, सुकुम्बासीलाई नगरबासी बनाउन परिचय पत्र दिएर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतमा बिशेष छुट व्यवस्था गर्नेलगायत नारा दिएको छ । एमालेले धरानको विकास र समृद्धिको आधार सुनिश्चित गर्न धरानलाई सुरक्षित, व्यवस्थित, व्यावसायिक, आवासिय, पर्यटकीय सुन्दर शहर बनाउने भन्दै मतदातासम्म पुगिरहेको छ । धरानलाई पर्यटकीय, व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, खानेपानी आयोजना पुरा गरेर धरानबासीलाई खानेपानी अभावबाट मुक्त गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई सुरक्षित गरेर स्वामित्वसहितको आवास व्यावस्थापन गर्ने, सभागृहलाई अन्र्तराष्ट्रियस्तरको बहुउद्देश्यीय सेमिनार हल बनाउने, बसपार्क निर्माण गर्ने, धरान वडा नं ६ लाई औद्योगिक क्षेत्रको रुपमा विकास र विस्तार गरी उद्योग कलकारखाना स्थापनालाई प्रोत्साहन गर्न, सेउती र सर्दु तटबन्धन गर्न, नगरबासीहरुको स्वास्थ्य विमा गर्न, धरानलाई पुर्ण सारक्ष बनाएर शैक्षिक केन्द्र बनाउन, धरानमा चक्रपथ निर्माण गर्ने लगायत एजेण्डा एमालेको छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे