एकल महिला दिवसमा सम्मान

धरान,असार ९ । ७ औं अन्र्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा शुक्रबार धरानमा विभिन्न महिला व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । मानवअधिकारको लागि महिला एकल महिला समुह सुनसरीले धरान उपमहानगरपालिकास्थित कर्मचारी एशोसिएशनको हलमा एक कार्यक्रमको आयोजना गरी संस्थागत एवं क्षमता विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
सोही अवसरमा उच्चशिक्षामा प्रोत्साहन गर्न एसइइ परीक्षा उर्तीण गरेका एकल महिलाका सन्तानहरुलाई पनि नगद पुरस्कार दिइएको थियो । समुहकी जिल्ला अध्यक्ष जयन्ती लाखेका अनुसार समुहको संस्थागत एवं क्षमता विकासको लागि सहयोग गर्ने एमाले नगर उपाध्यक्ष नारायण सुवेदीसहित समाजसेवी सरला कायस्थ, मीना पुलामी मगर, सकुन्तला भुषाल, रम्भा कर्मचार्य, नैनकला न्यौपाने र जमुना त्रिखत्री मोक्तानलाई सम्मान गरिएको थियो । यस्तै, समुहको अवसर कोषमा आर्थिक सहयोग गर्ने महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्य, सुनिता केसी राई, मिना पुलामी, उर्मिला प्रधान, सीता मादेम्बा र सरला कायस्थलाई पनि सम्मान गरिएको थियो ।
 सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि एवं उपमहानगरपालिकाकी महिला शाखा फोकल पर्सन हेमा थलङले सम्मान पत्र प्रदान गरेकी थिइन् । सोही कार्यक्रममा अवसर कोषअन्र्तगत एसइई परीक्षामा उर्तीण एकल महिलाका सन्तानहरु अनुष्का खड्का, युनिल घिमिरे, राम परियार, निरञ्जन भण्डारी, निशा शंकर र सोनी राईलाई प्रोत्साहन स्वरुप जनही एक हजार प्रदान गरिएको थियो भने बुबाआमा विहिन विद्यार्थी अमर भुजेललाई पनि सहयोग प्रदान गरिएको थियो । नगद थोरै भएपनि उच्च शिक्षाको लागि प्रोत्साहन गर्न प्रदान गरिएको समुहले जनाएको छ । संयुक्त राष्ट्र संघले जुन २३ लाई एकल महिला दिवस मनाउने निर्णय गरेपछि विश्वभर मनाउने गरिन्छ ।
सोही कार्यक्रममा एमालेबाट उपमेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले एकल महिलासहित समग्र महिलाहरुको सशक्तिकरणको लागि स्थानीय सरकार गठन भएपछि बिशेष कार्यक्रम र बजेटको व्यवस्था गर्ने बताइन् । महिलाहरुमा धेरै समस्या भएको भएको र एकल महिलाहरुमा झन् बढी नै पीडा भएको उल्लेख गर्दै उनले समस्यालाई केलाएर, आवश्यकता बुझेर काम गर्ने बताइन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेयर पदकी उम्मेदवार तारा शाक्यले मेयरमा अरु दलले महिलालाई वेवास्ता गरेपनि आफुलाई एक्लो उम्मेदवार बनाएको भन्दै जिताउन आग्रह गरिन् । धरानमा महिलाको नेतृत्वमा सरकार बनाएर धरानलाई महिलामय र महिला मैत्री बनाउने अवसर रहेको पनि उनले बताइन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे