चुनावको ऋण तिर्न ठगी, लेखान्दाससहित ८ जना पक्राउ

धरान,असार १ । दोस्रो संविधानसभा निर्वाचन(२०७०)मा मोरङ क्षेत्र नम्बर ३ मा नेपाल नागरिक पार्टीको मोवाइल चुनाव चिह्नका उम्मेदवार थिए, प्रदिप सिंह क्षेत्री । उनले चुनावमा मात्र २ सय २२ मत पाए । जनताले नरुचाएका क्षेत्रीको जमानत जफत त भयो नै, निर्वाचनको क्रममा खर्च गर्दा उनी झण्डै २० लाख ऋणमा परे । पार्टीले मात्र ३ लाख जति सघायो । चुनावमा लज्जास्पद हार र ऋणले उनी डिप्रेशनको शिकार भए ।
आधाभन्दा बढी रकम उनले जसोतसो तिरे, तर अझै ८ लाख जति बाँकी थियो । त्यही ऋण तिर्न नसकेर क्षत्रीले यस्तो बाटो रोजे, जसले उनलाई मात्र होइन अन्य ७ जनालाई प्रहरीको खोरमा पुर्याएको छ । धनकुटाको गुरासे ३ स्थायी ठेगाना बताउने क्षेत्री क्रिश्चियन धर्मावलम्बी हुन् । उनी डेरा गरि बसेको धरान वडा १३ स्थित एक चर्चमा दशकअघि नै जमुना तामाङको परिवारसँग चिनजान भएको थियो । क्षेत्रीले तिनै तामाङको धरान १४ विजयपुरस्थित कित्ता नं ६४३ को १ कट्ठा जग्गा नक्कली जग्गाधनी खडा गरेर आफ्नो नाममा पारे । त्यसपछि, धरानकै चम्पा देवानलाई १५ लाख रुपैयामा धितो बन्धकी राखेर चुनावमा लागेको आफ्नो ऋण चुक्ता गरे । अहिले जालसाजी गरेर ठगी गरेको अभियोगमा क्षत्रीसँगै ८ जना प्रहरी थुनामा छन् ।
‘संविधानसभा चुनावमा मोरङ क्षेत्र नं ३ बाट उठेको थिएँ, ८ वटा गाविसमा घुम्दा धेरै पैसा सके । ऋण पनि लाग्यो, चुनाव पनि हारे । त्यसले डिप्रेशन भयो,’ प्रहरी हिरासतमा रहेका क्षत्रीले भने, ‘धेरै त तिरे, तर ७÷८ लाख जति बाँकी थियो । त्यो ऋण तिर्न नै यस्तो काम गरेको हो । गल्ती भै त हाल्यो, अब जे हुन्छ हुन्छ ।’ उनका अनुसार पीडित एवं सक्कली जग्गाधनी तामाङसँग चर्चमा सेवा गर्न जादा एक दशक अघि नै चिनजान भएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार जग्गा किर्ते गरेर बिक्री गरेको उजुरी आएपछि अनुसन्धान गर्दा २ साताको अवधिमा ८ जना पक्राउ परिसकेका छन् । ‘मुख्य नाइके क्षत्री नै हुन्, उनी २०७० सालको संविधानसभामा मोरङमा उम्मेदवार पनि थिएछन्,’ डिएसपी खतिवडाले भने, ‘यो प्रकरणमा सबैजसो पक्राउ परिसकेकोले उनीहरुलाई ठगी मुद्दा चलेको छ ।’ अहिलेसम्मको वयान र अनुसन्धानबाट मालपोत र नापी कार्यालयको कर्मचारीको संलग्नता नखुलेको उल्लेख गर्दै डिएसपी खतिवडाले त्यस्तो पाइएमा कानुनले कसैलाई पनि नछोड्ने बताए ।
प्रहरीले घटनाको मुख्य नाइके क्षत्रीसँगै नक्कली जग्गाधनी बनेकी देउमाया राई, लेखानदास तथा विजयपुर बुढासुब्बा लेखपढी सेन्टरका प्रह्दाल कुँवर, लेखापढीमा साक्षी बसेका सोही सेन्टरका निराजन पोखरेल र समिर पोखरेललाई पनि पक्राउ गरेको छ । यस्तै, जग्गा किनबेचमा दलाली गर्ने कमल राई र कमल श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले बुधबार मात्र क्षत्रीबाट जग्गा खरीद गरेकी चम्पा देवानलाई पनि पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार जग्गा बिक्रीको सिफारिश झिकिदिने भन्दै क्षत्रीले गत फागुनमा जमुना तामाङको नागरिता र जग्गा धनीपुर्जा लगेका थिए । त्यसपछि क्षत्रीले जमुनाजस्तै अनुहार भएको महिला खोजी गर्ने क्रममा देउमायालाई फेला परेका थिए । देउमायालाई आफु जमुना तामाङ भएको भन्न सिकाएर फागुन १७ गते उक्त जग्गा क्षत्रीले आफ्नो नाममा पास गर्न सफल भएका थिए । त्यसको ३ दिनमा फागुन २० गते सोही जग्गा चम्पा देवानको नाममा धितो बन्धकी राखेको खुलेको छ । क्षत्रीले श्रीमतिको नागरिकता र धनीपुर्जा लिएर सम्पर्कविहिन भएपछि मालपोतमा गएर बुझ्दा आफ्नो जग्गा अर्कैको नाममा बिक्री भइसकेको थाह पाएर तामाङ दम्पत्तिले जेठ १७ गते प्रहरीमा उजुरी गरेका थिए । ‘सिफारिश ल्याउछुँ भनेर श्रीमतिको नागरिकता र धनीपुर्जा लगेको थियो, एक सातापछि त बेपत्ता नै भयो । पछि बुझ्दा त जग्गा नै अरुलाई बिक्री गरिसकेको रहेछ, ’ जमुनाका पति उमेशले भने, ‘अब कसरी त्यो जग्गा आफ्नो बनाउने भनेर चिन्तामा छुँ ।’
मालपोत कार्यालय धरानका अधिकृत यज्ञ भण्डारीका अनुसार सक्कल नागरिकता, धनीपुर्जा र उस्तै अनुहार भएको जग्गाधनी महिला उपस्थित भएकोले जग्गा बिक्री पास भएको बताउछन् । यो प्रकरणमा मालपोतको कुनै बद्नियत नभएको दाबी गर्दै अब जग्गा कस्को हुने भन्ने बारेमा अदालतको फैसलामा भर पर्ने उनले बताए । ‘सम्बन्धित जग्गाधनीको सक्कल पुर्जा, नागरिकता लिएर आएको छ । अनुहार हेर्दा दुरुस्तै देखिन्छ, यसमा हाम्रो कुनै वदनियत छैन,’ भण्डारीले भने, ‘अब यो मुद्दा अदालतमा पेश भएपछि जे पैmसला हुन्छ, त्यसैमा भर पर्छ ।’ डिएसपी खतिवडा नेपाली नागरिकतामा १६, १७ बर्षको उमेरमा खिचेको फोटो हुने र वयस्क  वा प्रौढ उमेरमा त्यही मान्छेको रुपरंग अर्कै भइसक्ने हुनाले नागरिकतालाई आधार मानेर घरजग्गा(सम्पत्ति) किनबेच गर्ने प्रणालीमा सुधार गर्न आवश्यक भएको बताउछन् । ‘१६ बर्षको फोटो हेरेर ४०/५० बर्षको मान्छेलाई यकिन गर्न गाह्रो हुन्छ, यसमा आधुनिक प्रणाली लागु गर्न आवश्यक छ, ’उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे