एमालेद्धारा धरानमा उम्मेदवार घोषणा(फोटोफिचर)

धरान, जेठ ३० । असार १४ गतेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले धरान उपमहानगरमा मेयर र उपमेयरसहित १ सय २ जना उम्मेदवारहरुको औैपचारिक घोषणा गरेको छ । निर्वाचन परिचालन कमिटिले मंगलबार पार्टी कार्यालयमा घोषणा सभा आयोजना गर्दै मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी उम्मेदवार भएको औपचारिक घोषणा गरेको हो ।
यस्तै, धरानका २० वडाका अध्यक्ष र वडा सदस्य उम्मेदवारहरुको नाम पनि एमालेले औपचारिकरुपमा सार्वजनिक गरेको छ । वडा अध्यक्ष र  सदस्यका उम्मेदवारको नाम जिल्ला कमिटिको सिफारिशमा प्रदेश कमिटिले अनुमोदन गरेको थियो भने मेयर र उपमेयरमा स्थायी कमिटिले भर्खर मात्र नाम टुंगो लगाएको थियो । मेयरका उम्मेदवार ५१ बर्षीय सुब्बा एमाले धरान उपमहानगर कमिटि अध्यक्ष हुन् । पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव र सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बाले तेस्रो पटक अध्यक्षको जिम्मेवारीमा छन् । यसअघि उनी २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्यमा चुनिदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्ब २ बाट जिविस सदस्य पनि भएका थिए । पार्टीमा माधव नेपाल पक्षका मानिने सुब्बा धरानलाई बुझेका, इमान्दार र कुशल नेताका रुपमा चिनिन्छन् ।
एमालेको उपमेयरकी उम्मेदवार भण्डारी एमाले जिल्ला कमिटि सदस्य हुन् । विद्यार्थी राजनीतिबाट भुगोलमा आएकी ३५ बर्षीय नेतृ भण्डारी ओली पक्षका मानिन्छन् । महिला सञ्जाल धरानकी सहसचिव समेत रहेकी भण्डारी महिलाहरु माझमा राम्रो छवि बनाएकी नेतृ हुन् । एमालेले वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा अध्यक्ष पदमा क्रमशः भरत सुवेदी, मुकुल कायस्थ, आशा कुमार श्रेष्ठ, मानबहादुर राई, चन्द्र भुजेल, भुवान सिंह, भुपेन्द्रराज भोक्तान, रुद्र लिम्बु, रत्न कटुवाल र श्रीप्रसाद सुब्बालाई उठाएको छ । यसैगरि, वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० वडामा क्रमशः अध्यक्ष पदमा बाबुलाल लामा, टंक राई, नेत्रप्रसाद काफ्ले, झलक श्रेष्ठ, नरेश इवारम, दिलकुमार गिरी, पुर्णप्रसाद राई, नविन राई, पुर्ण लिम्बु र मणिराम राईलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवार सुब्बाले जनताको विश्वास र भरोसा जितेर धरानमा एमालेले स्थानीय सरकार बनाउने दाबी गरे । धरानको विकास र समृद्धिको लागि पार्टीले अघि सारेको प्रतिवद्धता पत्रअनुसार नै आफुसहित १ सय २ जना उम्मेदवारले इमान्दारपुर्वक काम गर्ने उनको भनाई थियो । ‘चुनौती थुप्रै छ, सबैले एकतावद्ध भएर होसियारीपुर्वक जनताको भावना आत्मसात गर्दै अघि बढ्नेछौं, र पार्टीले सुम्पिएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गछौं, ’ मेयरका उम्मेदवार सुब्बाले भने, ‘धरानलाई कसरी समृद्ध र विकसित बनाउने भनेर पार्टीले बनाएको योजना, कार्यक्रमलाई प्राथमिकताको आधारमा पुरा गछौं ।’ एमालेले केही साताअघि कृर्षि, पर्यटन र उद्योग व्यावसायलाई प्राथमिकता दिदै सुरक्षित, व्यवस्थित, व्यावसायिक, आवासिय तथा पर्यटकीय सुन्दर शहर बनाउने लक्ष्यसहितको प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे