उत्साहजनक मतदान, धरानमा ६५ प्रतिशत मत खस्यो(फोटोफिचर)

धरान,असार १४ । बिहानै झरीले केही समय अवरोध पुर्याएपनि बुधबार प्रदेश नं १ अन्र्तगत धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा उत्साहजनक मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार बुधबार धरानमा ६५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
जिल्लाभरमा भने ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान छ । कार्यालयका अनुसार धरानमा ५३ हजार ७ सय ६९ मत खसेको छ । धरानको कुल मत भने ७९ हजार २ सय ८२ रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता शान्तिबहादुर अधिकारीका अनुसार बुधबार मतपेटिका संकलन, बुझबुझारथसँगै सर्वदलीय बैठक बस्ने र बिहिबार बिहानदेखि मात्र मतगणना शुरु हुनेछछ ।
सुनसरीमा धरान र इटहरी दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँ पालिका गरी कुल १२ स्थानीय तह छ । ती स्थानीय तहमा १ सय ६६ मतदानस्थल र ४ सय ८५ मतदान केन्द्र तोकिएको थियो । यहाँ कुल ४ लाख २१ हजार १ सय ५९ मतदाता छन् । यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सुनसरीमा ६६.२५ प्रतिशतको हाराहारीमा मत खसेको थियो ।
झण्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन भएकोले पनि चासो र उत्साहपुर्वक मतदान भएको धरानस्थित निर्वाचन अधिकृत जयप्रसाद महतले बताए । ‘बिहानै झरी परेर केहीबेर अवरोध जस्तो भएपनि मतदाताहरुमा धेरै उत्साह रहेको पाइयो, छाता ओढेर भएपनि मतदाताहरु मतदान गरेर आफ्नो जनप्रतिनिधि छान्न लाइनमा उभिए,’ अधिकृत महतले भने । बिहान ७ बजेदेखि मतदान शुरु हुने भनिएपनि बर्षाको कारण केही समय अवरुद्ध भएको थियो । यद्यपी, मतदाताहरु भने छाता ओढेर मत खसाल्न पुगेका थिए । वृद्धवृद्धा र अशक्तहरु पनि आफन्तको सहारामा भोट खसाल्न मतदान केन्द्रहरुमा पुगेका थिए । बिहान बर्षा र मध्याह्नदेखि चर्को घामले सताए पनि मतदाताहरु निराश भएनन् ।
मतदाताहरुको उत्साहजनक सहभागीता देखेर उम्मेदवारहरु पनि हौसिए । ‘बर्षाको बाबजुद पनि मतदाताहरुको सहभागीता एकदमै राम्रो भयो, मतदाताहरु जनप्रतिनिधि छान्न ज्यादै आतुर देखियो,’ एमाले मेयरका उम्मेदवार तारा सुब्बाले भने । माओवादी केन्द्रका मेयर उम्मेदवार अइन्द्रबिक्रम बेघाले पनि सक्षम र योग्य उम्मेदवार छान्न मतदाताहरुको सहभागीताले उत्साह छाएको बताए ।

                     भोट हाल्नै गाह्रो

स्थानीय तहको निर्वाचन भोट खसाल्न मतदाताहरु उत्साहित देखिए पनि ठुलो मतपत्र र धेरै चुनाव चिह्नले मत हाल्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् । सचेत युवा र शिक्षित वर्गलाई मतदानमा खासै समस्या नभएपनि वृद्धवृद्धा एवं अशक्तहरुलाई समस्या भएको मतदाताहरुले बताए । ‘एकदमै ठुलो पन्न रैछ, भोट लगाउनै गाह्रो । आँखाको तेजले हेर्दै लगाउनुु पर्यो,’ ८७ बर्षीय सरस्वती तामाङले भने ।
ठुलो मतपत्र र धेरै चुनाव चिह्नले मतदानमा समस्या भोग्ने वृद्धा तामाङ एक्ली भने होइन । उनी जस्तै ठुलो संख्यामा रहेका ज्येष्ठ नागरिक एवं वृद्धवृद्धाहरुलाई मतदान गर्न समस्या छ । जसले गर्दा मतपत्र वदर होला कि भन्ने चिन्ता पनि छाएको छ । पर्याप्त मतदाता शिक्षाको अभावले मतदाताहरुले मतपत्र कसरी पट्याउने भन्नेमा पनि अन्यौलमा रहेको मतदानको क्रममा देखिएको थियो । निर्वाचन पर्यवेक्षण समितिकी रविना राईका अनुसार मतदाताहरुलाई मतपत्र पट्याउने बारेमा पनि जानकारी नभएको देखिएको छ । ‘चुनाव चिह्न भएको कोठा सानो छ, वृद्धवृद्धाहरुलाई त्यसकोठा भित्र स्वास्तिक चिह्न छाप लगाउनै पनि समस्या रहेछ, मतपत्र फोल्ड गर्ने तरिका पनि नजानेकोले लतपतिएर मत नै वदर होला कि भन्ने देखियो,’उनले भनिन् ।



























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे