धरानमा चुनावी प्रतिस्पर्धा रोचक मोडमा

एमालेका मेयर र उपमेयर पदका उम्मेदवार तारा सुब्बा र मञ्जु भण्डारी ।
धरान, असार ३ । लामो अन्यौलका बीच कांग्रेस र एमाले पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि जेठ चौथो सातामात्र धरान उपमहानगरमा मेयर र उपमेयर पदका उम्मेदवारको टुंगो लगायो । आधिकारिक उम्मेदवारविनै घरदैलो गरेर भोट मागिरहेका कांग्रेस र एमालेका स्थानीय नेता, कार्यकर्ताहरु उम्मेदवारको तय भएसँगै उत्साह छाएको छ भने चुनावी सक्रियता पनि झनै बढेको छ ।
माओवादी केन्द्रले बैशाख पहिलो साता मेयर पदको उम्मेदवार सार्वजनिक गरिसकेको थियो भने संघीय समाजवादी फोरम नेपालले पनि बैशाखमै उपमेयर पदका उम्मेदवार तय गरिसकेको थियो । कांग्रेस र एमालेबाट मेयर, उपमेयर पदको उम्मेदवारीमा कस्ले बाजी मार्ला भनेर तीब्र प्रतिक्षा गरिरहेका धराने मतदाताहरुमा अहिले फेरि चुनावी पारो ह्वात्तै बढाएको छ । यसको कारण हो, बिहिबार मात्र माओवादी केन्द्र, समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल । यो चुनावी गठबन्धनसँगै अब धरानमा कुन पार्टीको नेतृत्वमा स्थानीय सरकार बन्छ भन्ने चासो र चर्चा सवत्र्र छ । स्थानीय नेता–कार्यकर्ताहरुमात्र होइन, मतदाताहरुमा आ–आफ्नै अडकलबाजी हुन थालेको छ । धरानमा कांग्रेस र एमालेबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने भनिरहदा तीन दलको गठबन्धनले त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था सृर्जना गरेको छ ।
धरानमा चौध बर्षसम्म पार्टी नेतृत्व गरेका निवर्तमान सभापति किसोर राई पन्छाउदै कांग्रेसले धरान पार्टी सभापति तिलक राईलाई मेयर पदमा र उपमेयरमा समाजसेवी नेतृ श्यामा रेग्मीलाई उम्मेदवार बनायो । एमाले स्थायी कमिटिले तेस्रो पटक धरानमा पार्टी अध्यक्ष रहेका नेता तारा सुब्बालाई मेयर र महिला युवा नेतृ मञ्जु भण्डारीलाई उपमेयर पदमा उम्मेदवार बनाउने निर्णय गर्यो । ठुला पार्टी कांग्रेस र एमालेबाट उम्मेदवारको टुंगो लगाएको झण्डै एकसता पछि माओवादी, समाजवादी र नयाँ शक्तिबीचको चुनावी तालमेलले धरानको राजनीति एवं चुनावी महौल झनै तात्तिएको छ । तीन दलको गठबन्धनले मेयरमा माओवादीका अइन्द्रबिक्रम बेघा र उपमेयरमा समाजवादीका पारस काङमाङ राईलाई मतदान गर्ने सहमति गरेका छन् । तीन वटै राजनीतिक शक्तिहरु धरानमा आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चुनावमा राप्रपाबाट मेयरमा तारा शाक्य र उपमेयरमा प्रकाश राई उम्मेद्वार छन् भने स्वतन्त्र उम्मेदवार एवं धरानका पुर्वउपमेयर कृष्णनारायण पलिखेको टोली पनि भोट मागिरहेको छ ।
कांग्रेसका मेयर र उपमेयर पदका उम्मेदवार तिलक राई र श्यामा रेग्मी ।
मतदाताहरु भने ठुला दलहरुको उम्मेदवार तय भएपछिको चुनावी माहोलले कस्ले बाजी मार्ला यसै भन्न नसकिने बताउँछन् । धरान ८ का मतदाता घनश्याम श्रेष्ठको विचारमा तीन दलको गठबन्धनले एमाले र कांग्रेस पार्टीलाई पनि धक्का पुग्नेछ । स्वतन्त्र उम्मेदवार पनि उठेकाले ती दलको थोरै भएपनि भोट काटिने सम्भावना रहेको उनी औल्याउछन् । ‘गठबन्धनले ठुला भनिएको पार्टीलाई धक्का त पुग्छ नै, स्वतन्त्र उम्मेदवारले पनि भोट काट्छन्,’ श्रेष्ठले भने, ‘कस्ले जित्छ भन्नसकिने स्थिति छैन, ठुला पार्टीलाई पनि जित्न सहज हुदैन ।’
धरान सधै नेकपा एमालेको सधै वर्चश्व कायम रहदै आएको नगर हो । यसअघि २०४९ र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा मेयर, उपमेयर एमालेले जित हासिल गरेको थियो भने धरानसहितको सुनसरी क्षेत्र नं १ मा २०६४ सालको पहिलो संविधानसभा चुनावबाहेक अन्यमा एमालेले नै जित हासिल गरेको थियो । तर, यसपाली जनमत कांग्रेसको पक्षमा भएकोले धरानमा एमालेको किल्ला तोडिने कांग्रेस नेताहरु दाबी गर्छन् । कांग्रेस सभापति एवं मेयर पदका उम्मेदवार तिलक राई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष पनि भएकोले राई जातिका मतदाताहरुको मत पाउने कांग्रेसको अपेक्षा छ । धरानमा सबैभन्दा बढी जनसंख्या राई जातिको बसोबास छ । त्यसपछि, नेवार र लिम्बू जातिको बढी जनसंख्या छ । पछिल्लो चुनावहरुमा धरानमा जातीय आधारमा पनि गएको मतले जितहारमा प्रभाव परेको जानकारहरु बताउछन् । ‘म जातीय संस्थासँगै राजनीतिमा सक्रिय र धरानको विकास निर्माण, सामाजिक काममा सक्रिय भुमिका खेलेको छु, ’ मेयरका उम्मेदवार राई भन्छन्, ‘यो पटक जनमत र विश्वास कांग्रेसप्रति बढीरहेको छ ।’ एमालेले लामो समय धरानमा नेतृत्व गर्दा पनि अपेक्षाअनुरुप धरानले भौतिक, आर्थिक, सामाजिकरुपमा फड्को मार्न नसकेको उनको भनाई  छ ।
माओवादी केन्द्र-समाजवादी फोरमका मेयर र उपमेयर पदका उम्मेदावर अइन्द्रबिक्रम बेघा र पारसकाङमाङ राई ।
धरानमा सांगठनिकरुपमा आफु सधै मजबुत रहेकोले जित आफ्नै हुने एमालेको दाबी छ । धरानको विकास निर्माण र सामाजिक काममा पार्टीसँगै आफुले व्यक्तिगतरुपमा पुर्याएको योगदानले जनताले विश्वास गर्दै आइरहेकोले जित निश्चित भएको मेयर पदका उम्मेदवार एवं पार्टी अध्यक्ष तारा सुब्बाको भनाई छ । ‘हाम्रो हिजैदेखि सांगठनिकरुपमा मजबुत छौ, जनताले विश्वास गर्दै आइरहेको छ । हिजैदेखि धरानको विकास निर्माण, सामाजिक कामहरुमा एमालेको महत्वपुर्ण भुमिका छ,’ उनले भने, ‘प्रतिस्पर्धीलाई कमजोर ठान्नु हुदैन, तर हाम्रो विगतको काम, भावी योजनाको कारण र लोकप्रिय नेताहरु उम्मेदवार भएको कारण जनताले हामीलाई नै मत दिनेछन् ।’ कांग्रेसका उम्मेदवार यायोक्खाको अध्यक्ष भएको र जातीय मत तान्नसक्ने प्रसंगमा भने उनले जातीय भोट खस्ने सम्भावनालाई नकारे । उनले भने, ‘राई समुदायका धेरै नेता, कार्यकर्ता हाम्रो पार्टीमा हुनुहुन्छ, वडाका उम्मेदवारहरु पनि धेरै राई समुदायबाट छन्, त्यसैले जातीयरुपमा भोट खस्छ भन्ने मलाई लाग्दैन । मतदाताहरु सचेत छन्, संस्था र एक व्यक्तिकै नाममा भोट जान्छ भन्ने हुदैन ।’
माओवादी केन्द्र, संघीय र नयाँ शक्ति पार्टीको गठबन्धनले भने धरानमा आफुहरुको जित सुनिश्चित भएको दाबी गरेको छ । गठबन्धनले मेयर र उपमेयर दुवै पदमा युवा उम्मेदवार उठाएका छन् । दुवैमा धरानको विकास गर्ने जोश र योजना भएको ती पार्टीका नेताहरुको भनाई छ । गणतन्त्र, संघीयता र पहिचानको एजेण्डा स्थापित गर्ने पार्टीहरुको गठबन्धन भएकोले धराने जनताले यिनै शक्तिलाई मतदान गर्ने माओवादीका पोलिट्ब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बोले दाबी गरे । ‘गठबन्धनपछि धरानमा हामी पहिलो शक्ति भयौं, हाम्रो जित सुनिश्चित भयो,’ गठबन्धनको घोषणासभामा उनले भनेका थिए, ‘परिवर्तनकारी थप शक्तिहरुबीच तालमेल गछौं ।’ सोही घोषणासभा कार्यक्रममा समाजवादी फोरमका केन्द्रीय नेता ध्यानबहादुुर राईले एमालेलाई लक्षित गर्दै भनेका थिए, ‘केही पार्टीलाई लठी उठाए पनि जित्छु भन्ने दम्भ छ, यसपटक त्यो दम्भ तोड्छौं ।’
कुल २० वडा रहेको धरान उपमहानगरमा कुल ७९ हजार २ सय ८२ मतदाता छन् । उम्मेदवार तय भएसँगै ठुला, साना पार्टीहरुले मेयर र उपमेयरसहित वडा वडामा घरदैलो अभियानलाई तीब्रता दिइरहेको छ ।

























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे