अनेकथरी चुनाव चिह्न:भ्यागुतो, चमेरो, काग, मुला, सेलरोटीको चाङदेखि फिरफिरे, फ्रक, टायर, ब्याट्री पनि

धरान,असार ७ । असार १४ गतेको दोस्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले चुनाव चिह्न पाएपछि चुनावी गतिविधिले तीब्रता पाएको छ । जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले संसदमा प्रतिनिधित्व गर्ने २७ दलका उम्मेदवारलाई दलको आधारमा र अन्यलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा मंगलबार चुनाव चिह्न वितरण गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई वितरण गरेको चुनाव चिह्नमा विविधतासँगै रोचकता पनि छ । उम्मेदवारहरुका चुनाव चिह्न केटा र केटी, भ्यागुतो, चमेरो, ज्याबल, काग, सेलरोटीको चाङ, भित्तेघडी, छडी, भुईकटहर, चिम्टा, लसुनलगायत छन् । यस्तै, हाते पंखा, फ्रक, सियोधागो, सेफ्टी पिन, गितार, मुला, क्यामेरा, ह्याट, इस्टकोट, ब्याट्री, कागजको फिरफिरे, ठड्याइएको औलालगायत पनि उम्मेदवारहरुले चुनाव चिह्न पाएका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने ठुला दलका उम्मेदवारको चुनाव चिह्न पहिल्यै निश्चित भइसकेकोले मतदातालाई चिनाउन त्यति गाह्रो छैन । तर, अन्य स्वतन्त्र उम्मेदवारले भने मंगलबार मात्र चुनाव चिह्न पाएकोले मतदातालाई भोट माग्न मात्र होइन, आफ्नो चुनाव चिह्न चिनाउन नै हम्मे छ । ‘जनताले बुझिदियो भने सजिलो, नत्र गाह्रो छ,’ स्टकोट चुनाव चिह्न पाएका धरानका मेयरमा स्वतन्त्र उम्मेदवार एवं पुर्वउपप्रमुख कृष्णनारायण श्रेष्ठ(पलिखे)ले भने ।

संसदमा प्रतिधित्व गर्ने दलको खुल्ला सदस्यतर्फका २ उम्मेदवारलाई वर्णानुक्रमको आधारमा पार्टीको चिह्न प्रदान गरिएको र अन्य उम्मेदवारलाई स्वतन्त्रको रुपमा चुनाव चिह्न दिइएको सुनसरीस्थित जिल्ला निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता शान्तिबहादुर अधिकारीले बताए । ‘संसदमा रहेको दलको खुला सदस्यको हकमा वर्णानुक्रमको आधारमा सम्बन्धित दलको एउटा र दुईटा चुनाव चिह्न पाए । स्वतन्त्र उम्मेदवारलाई मनोनयन दर्ताको आधारमा चिह्न रोज्न लगाएर दिइयो,’ उनले भने ।
.......................................................

वडाअध्यक्षमा माओवादी केन्द्रद्धारा स्वतन्त्र उम्मेदवारलाई समर्थन

धरान । असार १४ गतेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जुटेको माओवादी केन्द्रले धरान उपमहानगरपालिका वार्ड नं १ मा अध्यक्षको उम्मेदवारी फिर्ता गरेर स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।
माओवादी केन्द्रले वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार पवन अग्रवाल अल्पसंख्यक मारवार्ड समुदायका एकमात्र उम्मेदवार भएकोले समर्थन गर्ने निर्णय गरेको जनाएको छ । बुधबार बिहान पत्रकार सम्मेलन गर्दै केन्द्रका उपमहानगर संयोजक चोत्लुङले आफ्नो पार्टीका उम्मेदवार सि.पि.बजगाईको उम्मेदवारी फिर्ता लिएर अग्रवाललाई समर्थन गरेको बताए । ‘भौतिक विकास र समृद्धि एउटा पाटो हो भने सामाजिक सदभाव र सबै जाति, समुदायको उत्थान, भाषा, कला सँस्कृतिलाई समेट्नु पनि विकासको अर्को पाटो हो,’ चोत्लुङले भने, ‘समावेशी, समानुपातिक सिद्धान्तको बाहक पार्टी भएको नाताले अल्पसंख्यक समुदायको हकहितको लागि उहाँलाई समर्थन गर्ने निर्णय गर्यौं ।’ धरानको आर्थिक समृद्धि र विकासमा मारवाडी समुदायको योगदान भएकोले पनि मुल्यांकन गर्दै समर्थन गरिएको उनले बताए ।
स्वतन्त्र उम्मेदवार अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष हुन् । निर्वाचन आयोगले उनलाई चुनाव चिह्न ह्याट दिएको छ भने उनको प्यानलबाट उठेका सदस्य सुमन श्रेष्ठले चुनाव चिह्न बेल्चा, मनोज साहले टायर र महिला सदस्य चित्रा गुरुङ प्रधानले चुनाव चिह्न बस पाएका छन् । दलित महिला सदस्यमा भने अग्रवाल प्यानलले माओवादी केन्द्रकी माया बिकलाई समर्थन गर्ने सहमति छ । ‘म कमाउनको लागि होइन, वडाको विकासको लागि उठेको हुँ । वडाको मात्र होइन, धरानको विकासको लागि सबैसँग हातेमालो गरेर काम गर्नुपर्छ,’ उनले भने । आफुले जितेमा पाउने सेवा, सुविधा नलिने र वडाको विकासमा खर्च गर्ने उनले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे