धरानका पुर्वउपप्रमुख पलिखे स्वतन्त्र उम्मेदवार

धरान, असार ७ । एमालेबाट २०५४ सालको स्थानीय निर्वाचनमा धरानको उपमेयरमा जितेका कृष्णनारायण श्रेष्ठ(पलिखे)ले मेयर पदमा उम्मेदवारी दिएका छन् ।
पछिल्लो समय जनसरोकार मञ्च नामक संस्थामार्फत विकासनिर्माण तथा जनचासोको बिषयमा नगरपालिकालाई खबरदारी गर्दै आएका पलिखेसहित मञ्चका ४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । उपमहानगरपालिकामा भ्रष्टचार बढेको, राजनीतिक दलका नेताहरु पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त भएकोले त्यसप्रवृत्तिविरुद्ध जनतालाई सचेत गराउदै आफुहरुले उम्मेदवारी दिएको पलिखेले बताए । उनको टिमबाट उपमेयरमा तुलसा गुरुङले उम्मेदवारी दिएकी छिन् भने धरान ११ को वडाअध्यक्षमा भक्तसिंह राजपुत(क्षेत्री) र वडा १८ को अध्यक्षमा हस्तराज लिम्बू(ओख्रबु)ले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयबाट मेयरका उम्मेदवार पलिखेले चुनाव चिह्न स्टकोट र उपमेयरकी उम्मेदवार गुरुङले कागजको फिरफिरे चुनाव चिह्न पाएकी छिन् भने राजपुतले चुनाव चिह्न हातको मुठी र ओख्रबुले चुनाव चिह्न फ्रक पाएका छन् । नगरपालिकालाई भ्रष्टचारमुक्त बनाउन, कर्मचारीको ढिलासुस्ती हटाउन, सर्दुजलाधार क्षेत्रलाई भुमाफियाको कब्जाबाट मुक्त गरि पर्यावरण जोगाउन साथै युवा पुस्ता र नेतृत्वलाई प्रोत्साहन गर्न आफुहरुले उम्मेदवारी दिएको पलिखेले बताए । ‘धरान उपमहानगरपालिकालाई पद्दति, पारदर्शिता र जवाफदेही बनाउछौ, दलालहरुको स्वार्थमा नभई जनतामा समर्पित धरानको गुरुयोजना बनाउछौं । वनजंगल, जलाधार संरक्षण गर्दै यहाँको पर्यटन व्यावसाय सुधार गछांै र विजयपुरको गुरुयोजना बनाएर धार्मिक पर्यटन विकास गछौं,’ उपमेयरकी उम्मेदवार गुरुङले एजेण्डाबारे भनिन् ।
स्वतन्त्र उम्मेदवार पलिखे धरानको उपमेयर हुदा आफ्नै पार्टीका तत्कालीन मेयर मनोजकुमार मेन्याङ्बोसँगको मतभेद पछि राजिनामा दिएका थिए । खासगरि धरानको भानुचौकस्थित फेन्सि बजार भत्काएर सपिङ मल बनाउने योजनामा भ्रष्टचार भएको भन्दै उनले विरोध गर्दा मेयरसँग मतभेद बढेको थियो । उनले राजिनामा दिएको भनिएपछि बुधबार पत्रकार सम्मेलनमा उनले चुनाव जितेपछि पार्टीले हस्ताक्षर गराएको कागजको आधारमा जर्बजस्ती राजिनामा गराएको खुलासा पनि गरे । पछिल्लो पटक सर्दुजलाधार भुमाफियाको कब्जामा पुगेको भन्दै उनले जलाधार बचाउ अभियान शुरु गरेका छन् । ‘मैले उपमेयर हुदा जनताको पक्षमा बोले, तर मेरै अपमान भयो । अहिले धरानको भविष्य जोगाउ, मरुभुमि हुन नदिउ भनेर सर्दुजलाधार संरक्षणको आवाज उठाउदा घर घेरेर जलाउछु भन्यो । गुण्डाहरुले आक्रमण गर्यो,’ एक्कासी भक्कानिदै पलिखेले भने, ‘जलाधार मलाई मात्र चाहिएको हो ? पानी, पर्यावरण धरानको भविष्यको लागि होइन ? सधै मैले मात्र जोखिम मोल्नुपर्ने ?’ उनले विवेक पुर्याएर सही उम्मेदवारलाई मात्र भोट हाल्न मतदाताहरुसँग आग्रह गरे ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे