माओवादीले बाड्यो सुकुम्बासीलाई नमुना धनीपुर्जा

धरान,असार ९ । चुनावको मुखमा सुकुम्बासी मतदाताहरुलाई प्रभावित पार्न नेकपा माओवादी केन्द्रले धरानका सुकुम्बासीहरुलाई नमुना घरधनी पुर्जा(बसोबास)को प्रमाणपत्र बाडिरहेको पाइएको छ ।
माओवादी केन्द्रले चुनाव जितेपछि सोही किसिमको घरधनीपुर्जा(बसोबास)को प्रमाणपत्र वितरण गर्ने भन्दै धरानका सुकुम्बासीहरुलाई नमुना धनीपुर्जा बाडेको हो । माओवादी केन्द्र धरान उपमहानगर समितिले धरान उपमहानगरपालिका नगरकार्यकापालिका कार्यालयको नाममा घरधनीपुर्जा बनाएको छ । शुक्रबार वडा ५, देवी गाउँ र देउरालीमा स्थलगत रिपोर्टिङमा पुग्दा माओवादीका वडा उम्मेदवार र कार्यकर्ताहरुले सुकुम्बासीहरुलाई औठाछाप गराउदै घरधनीपुर्जा वितरण गरिरहेका थिए । धरानका सबै राजनीतिक पार्टीहरुले सुकुम्बासीहरुलाई घरजग्गाको स्वामित्व दिलाउने प्रतिवद्धता जनाएको छ । तर, माओवादीले भने सुकुम्बासी मतदातालाई रिझाउन निर्वाचन आचारसंहिता विपरीत घरधनीपुर्जाको नमुना नै बाँडेको हो ।
माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै अन्य पार्टीहरुले चर्को विरोध गरेको छ भने सुकुम्बासीहरुकै हकहितको लागि गठित नेपाल बसोबास बस्ती संरक्षण समाजले पनि नक्कली धनीपर्जा दिएर भ्रमको राजनीति गरेको भन्दै विरोध जनाएको छ । प्रमुख निर्वाचन अधिकृत जयप्रसाद महतले भने सुचना पाएलगत्तै पार्टी र मेयरका उम्मेदवारलाई उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको बताए । ‘वडा ५ मा धनीपुर्जा बाडिरहेको भन्ने सुचना पाएपछि उम्मेदवारहरुलाई भन्यौ, र सुरक्षाकर्मी पठाएर तत्काल रोक्यौ । यो आचारसंहिताविपरीत हो, जर्बजस्ती गरे कार्वाही हुन्छ,’ उनले भने ।
देउरालीमा बाडिरहेको धनीपुर्जामा माओवादी केन्द्रका नगर संयोजक फोक्वाहाङ सुब्बा(चोत्लुङ), वडा अध्यक्षका उम्मेदवार धनकुमार राई र मेयरका उम्मेदवार अइन्द्रबिक्रम बेघाले हस्ताक्षर गरेका छन् भने जसलाई पुर्जा वितरण गर्ने हो, ती मतदाताको औठा छाप लिइएको छ । श्रीमति सुकमायाको नामको धनीपुर्जा लिएका देउरालीका चन्द्रबीर लिम्बुले धनीपुर्जा पाइन्छ भन्दै नागरिकतासहित आउन भनेपछि लिन आएको बताए । ‘धनीपुर्जा पाइन्छ भनेर लिन आएको,’उनले भने । एमाओवादी कार्यकर्ताहरुका अनुसार वडा ५ मा मात्र होइन, धरानका सुकुम्बासी बसोबास भएका अन्य वडाहरुमा पनि यस्तै घरधनीपुर्जा वितरण भइरहेको छ ।
पुर्जा वितरणको नेतृत्व माओवादी केन्द्रकी वडा ५ की सदस्य पदकी उम्मेदवार सीता श्रेष्ठले चुनाव जितेपछि यही प्रकारको पुर्जा दिलाउने भन्दै आफुहरुले कुनै पनि पार्टी नछुट्याई पुर्जा दिएको बताइन् । माओवादी केन्द्रका नगर संयोजक चोत्लुङले भने जनतासमक्ष पार्टीले चुनाव जितिसकेपछि यस्तो घरधनीपुर्जा वितरण गर्ने भनेर प्रतिवद्धता पत्र मात्र वितरण गरेको दाबी गरे । ‘हामीले मतदाताहरुलाई जितिसके पछि यो नमुना अनुसारको प्रमाणपत्र दिन्छौं भनेर पार्टीको तर्फबाट प्रतिवद्धता पत्र मात्र बुझाएका हौं, यो जनतालाई विश्वास दिलाएका हौं, अरु पार्टीका साथीहरुले कसरी बुझे,’ उनले भने, ‘प्रतिवद्धता अनुसारको नमुना प्रतिवद्धता दिदा कसरी आचारसंहिता विपरीत हुन्छ ? तरपनि आयोगले भनेपछि तत्काल काम रोकेका छौं ।’
धरानमा ठुलो संख्यामा सुकुम्बासीहरुको बसोबास छ । सुकुम्बासीको मत तान्नसके स्थानीय तहको निर्वाचनमा जित्न सहज हुने चुनावी दौडमा रहेका पार्टीहरुको ठहर छ । धरानमा धरानमा कुल १२ हजार २ सय बढी सुकुम्बासी घरधुरी छ भने १९ हजारको हाराहारीमा सुकुम्बासी मतदाताहरु छन् । माओवादीले घरधनीपुर्जा बाडेको सार्वजनिक भएलगत्तै बसोबास बस्ती संरक्षण समाजले आकस्मिक बैठक राखेर सुकुम्बासीमाथी भ्रमको राजनीति नगर्न आग्रह गर्दै शुक्रबार नै विज्ञप्ती जारी गरेको छ । समाजको धरान उपमहानगर अध्यक्ष आइतबहादुर लिम्बूद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘भोट प्राप्त गर्न माओवादी केन्द्रले सुकुम्बासी बस्तीमा सुकुम्बासीलाई झुक्याउने खालको धनीपुर्जाको नमुना नै बाडेर भ्रम फैलाएको प्रमाण प्राप्त भएकोले त्यसो नगर्न अपिल गर्दछौं । देशमा २३ वटा सुकुम्बासी आयोग बन्दा पनि पुर्जा नपाएका सुकुम्बासीलाई फेरी स्थानीय सरकार बनेपछि पनि अस्थायी पुर्जा नै दिने भनेर भ्रम छर्नु सुकुम्बासी विरोधी कदम हो ।’ विज्ञप्तीमा कसैको भ्रम र करकापमा नलागी मत जाहेर गर्ने आफ्नो अधिकार स्वेच्छिकरुपमा प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे