धरानमा माओवादी, फोरम र नयाँ शक्तिबीच तालमेल

धरान, असार १ । असार १४ गतेको स्थानीय तह निर्वाचनको लागि धरान उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचमा चुनावी तालमेल भएको छ । दोस्रो चरण निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताको एक दिनअघि बिहिबार होटल ड्रिमल्याण्डमा तीन दलले संयुक्त पत्रकार सम्मेलन गर्दै मेयर र उपमेयरमा तालमेल गर्ने सहमति भएको घोषणा गरेको हो ।
मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र बिक्रम बेघा र उपमेयर पदमा समाजवादी फोरमका उम्मेदवार पारस काङमाङ राईलाई मतदान गर्ने तीन दलबीच सहमति भएको छ । चुनाव अघिसम्म धरानका २० वडाहरुमा पनि तीन दलबीच तालमेलको प्रयास रहने माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं धरान निर्वाचन परिचालन कमिटिका संयोजक मुक्साहाङ मेन्याङ्बोले जानकारी दिए । ‘यो चुनावी तालमेल इतिहासको आवश्यकताले गर्दा भएको हो । संघीयता, पहिचान र गणतन्त्रका पक्षधरबीचको तालमेल धराने जनताको चाहना पनि थियो,’ मेन्याङ्बोले भने, ‘सहमतिलाई हामीले इमान्दारीतापुर्वक पालना गछौं । साथै, २० वटै वडाहरुमा पनि तालमेलको ढोका खुल्लै राखेका छौं ।’
माओवादी केन्द्रले बेघालाई पहिलो चरणको निर्वाचनअघि नै सर्वसम्मत मेयर पदको उम्मेदवारकोरुपमा अघि सारेको थियो भने उपमेयरमा ४ जना महिला नेतृको नाम सिफारिश गरेको थियो । समाजवादी फोरमले पनि मेयरमा अन्य पार्टीहरुसँग तालमेल गर्ने भन्दै गत बैशाख ११ गते नै उपमेयर पदमा काङमाङलाई उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय गरेको थियो । चुनावी तालमेलले माओवादी केन्द्रबाट उपप्रमुख पदका आकांक्षी महिला नेतृहरु पाखा लागेपनि वडा अध्यक्षमा महिला र दलित उम्मेदवारलाई समेटिएको नेता मेन्याङ्बोले जिकिर गरे । तीन दलको सहमतिअनुसार वडा नं १६ मा भने नयाँ शक्तिको उम्मेदवारलाई समाजवादी फोरमले सहयोग गर्नेछ ।
तालमेलपछि धरानमा गठबन्धन पहिलो शक्ति बनेको र जित सुनिश्चित भएको ती दलका नेताहरुले दाबी गरे । समाजवादी फोरमका केन्द्रीय राजनैतिक समिति सदस्य एवं संगठन विभाग सचिव ध्यानबहादुर राईले गणतन्त्र, संघीयता र पहिचानको एजेण्डा(मुद्दा) बोकेका पार्टीहरुबीचको गठबन्धन भएकोले जनताले परिवर्तनकारी शक्तिलाई नै जित दिलाउने दाबी गरे । ‘जसको मुद्दा हो, मत उसैले पाउनुपर्छ । संघीयता, गणतन्त्र र पहिचान मुद्दा बोकेका पार्टीहरुबीच गठबन्धन भएकोले जनताले पनि हामीलाई नै मत दिनेछन्, ’ राईले एमालेलाई लक्षित गर्दै भने, ‘केही पार्टीलाई लठी उठाए पनि जित्छु भन्ने दम्भ छ, यसपटक त्यो दम्भ तोड्छौं ।’ मुद्दा मिल्ने अन्य शक्तिहरु गठबन्धन बाहिरै रहेको र ती शक्तिहरुसँग पनि तालमेलको प्रयास भइरहेको उनले खुलाए । खासगरि कुमार लिंदेन नेतृत्वको संघीय लिम्बुवान राष्ट्रिय मञ्च र जनमुक्ति पार्टीसँग पनि चुनावी तालमेलको चर्चा थियो ।
लामो अन्यौलका बीच एमाले र कांग्रेसले मेयर, उपमेयरमा उम्मेदवार टुंगो लगाएलगत्तै तीन दलबीचको चुनावी गठबन्धनको घोषणाले धरानमा चुनावी पारो ह्वात्तै बढेको छ । कांग्रेसबाट धरानमा मेयरमा पार्टी सभापति तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उम्मेदवार बनाएको छ भने एमालेबाट मेयरमा अध्यक्ष तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी उम्मेदवार बनेकी छिन् । उम्मेदवारको नाम तय भएलगत्तै धरानमा प्रमुख दलहरुले उम्मेदवारसँगै घरदैलो अभियानलाई तीब्र बनाएका छन् । धरानमा यसअघि २०४९ र २०५४ सालको स्थानीय निकायको चुनावमा मेयर, उपमेयरसहित अधिकांश वडामा एमालेले जित हासिल गरेको थियो भने धरानसहितको सुनसरी क्षेत्र नं १ मा २०६४ सालको पहिलो संविधानसभा चुनावबाहेक अन्यमा एमालेले नै जित हासिल गरेको थियो । धरान उपमहानगरमा कुल ७९ हजार २ सय ८२ मतदाता छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे