लालकिल्ला तोड्छौ: कांग्रेस

धरान,असार ९ । २०४६ सालयताको सबै निर्वाचनमा जित हासिल गरेर पनि कम्युनिष्ट जनप्रतिनिधिहरुले धरानको विकासमा स्मरणयोग्य योगदान नगरेको आरोप लगाउदै नेपाली कांग्रेसका नेता तथा उम्मेदवारहरुले यसपाली लालकिल्ला तोड्ने दाबी गरेका छन् । कांग्रेसद्धारा शुक्रबार भानुचाौकमा आयोजित वृहत चुनावी आमसभामा बोल्दै कांग्रेस नेता तथा उम्मेदवारहरुले जनताले यसपटक कांग्रेसलाई विश्वास गरेको र मत दिएर कांग्रेसलाई जिताउने दाबी गरेका हुन् ।
२०४६ सालपछि ६ पटक एमाले र एकपटक माओवादीले जितेपनि धरानको विकास, आर्थिक समृद्धि र जनताको आवश्यकतालाई वामपन्थी जनप्रतिनिधिहरुले पुरा गर्न नसकेको कांग्रेस नेताहरुले आरोप लगाए । कांग्रेस नेता अर्जुन नरसिंह केसीले जनताको हकअधिकार कुण्ठित हुँदा नेपाली जनताले जहिल्यै पनि लोकतन्त्रको लागि लडेको स्मरण गर्दै जनताको चाहना, आवश्यकता र विकास पनि कांग्रेसकै नेतृत्वमा पुरा भएको जिकिर गरे । ‘कांग्रेस मात्रै राष्ट्रिय एकताको पक्षमा रहेको छ, र स्थानीयस्तरमा जनताको आवश्यकता, समृद्धि, विकासलाई पुरा गर्न प्रतिवद्ध भएको पार्टी हो,’ नेता केसीले भने, ‘धराने जनताले अहिलेसम्म कम्युनिष्टहरुलाई मात्र जिताउनुभयो, तर उनीहरुले यतिका बर्षसम्म तपाईहरुको लागि के गरे ?’
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मिनबहादुर विश्वकर्माले पनि धरान क्षेत्रबाट वामपन्थीहरुले निरन्तर जितेपनि धरानको व्यापार, आयस्तर खस्कदै गएको र गरिबी बढ्दै गएको आरोप लगाए । धरानमा कांग्रेस सधै हारेपनि कांग्रेसकै नेतृत्वमा खानेपानी आयोजना आएको साथै अवरुद्ध एयरपोर्ट र बासपार्क निर्माण कार्य पुनः कांग्रेसकै नेतृत्वमा शुरु भएको नेता बिकले बताए । कोशी राजमार्ग धरान बीच बजारबाट जादा जनताको घर भत्किएर सुकुम्बासी हुने भएकोले कांग्रेसकै पहलमा सेउतीमा तटबन्धन बाँधेर बाइपासको योजना ल्याएको, धरान चतरा सडकलाई पनि तीनकुने, बीपी प्रतिष्ठानको दक्षिणबाट सिधै रेल्वे निकाल्ने योजना अघि बढाएको र सर्दुमा तटबन्ध बाँधेर रिङरोड अवधारणा ल्याएको उनको भनाई थियो । ‘कोशी राजमार्ग र धरान चतरा सहायक मार्गले सयौं जनता सुकुम्बासी हुदैछन्, तर खै एमाले, माओवादीहरुले बोलेको ? धरानमा कांग्रेस सधै हार्यो तर पनि विकासनिर्माण र जनताको पक्षमा काम गरिरहेका छौं, सधै जित्ने वामपन्थीहरुले खै के गरे ?’ नेता बिकले भने, ‘गरिबको पार्टी बनिरहनको लागि एमाले, माओवादीले जनतालाई सधै गरिबै बनाइरहन चाहन्छ, तर अब धराने जनता सचेत भइसकेका छन्, र यसपाली कांग्रेसमा भोट हालेर जिताउनेछन् ।’
कांग्रेस जिल्ला सचिव केदार भण्डारीले वामपन्थीहरुले कालोझण्डा देखाउदा देखाउदै पनि स्वर्गीय गिरीजाप्रसाद कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेकैले धरानको विकास र समृद्धि हुन सकेको तर धराने जनतालाई कांग्रेसले बुझाउन नसकेको बताए । सुकुम्बासीको नाममा वामपन्थीहरुले सधै जितेपनि उनीहरुको लागि केही गर्न नसकेको भण्डारीले आरोप लगाए । धरानमा कांग्रेस उम्मेदवार तिलक राईको प्यानलले जितेमा जनताको दुःखको दिन सकिने बताए ।
...........................................................................

अन्र्तघात हुदैनः नेताहरु

कांग्रेसका स्थानीय नेता र उम्मेदवारले विगतमा जस्तो निर्वाचनमा यसपाली अन्र्तघात नहुने दाबी गरेका छन् । मेयर पदको प्रवल दाबेदार भएर पनि अन्तिम समयमा टिकट नपाएका निवर्तमान सभापति किसोर राईले आफु र मेयर पदका उम्मेदवार तिलक राई एकै रथका दुई पांग्रा भएको उल्लेख गर्दै धरानमा कांग्रेसलाई जिताएर लालकिल्ला तोड्ने उद्घोष गरे । टिकट नपाएर असन्तुष्ट रहेका किसारबाट अन्र्तघात हुने हल्ला चलिरहदा मेयरमा तिलक राईको मनोनयन दर्ताको क्रममा नै प्रस्तावक बनेर मिलाप भएको सन्देश दिएका थिए । शुक्रबार चुनावी सभामा पनि उनले अन्र्तघात नहुने बताए ।
मेयर पदका उम्मेदवार तिलक राईले पनि कांग्रेस एकढिक्का भइसकेको दाबी गर्दै अन्र्तघात नहुने र यसपाली कांग्रेसको जित भएरै छोड्ने बतााए । ‘हामी सबै एक छौं, अन्र्तघात हुन्छ कि भन्ने भ्रम नराखे हुन्छ । कांग्रेसमा नयाँ पुस्ता आइसकेको छ, अब धोकाधडी केही हुदैन । किसोर र तिलक यही छांै, हामीबीचमा केही छैन, मिलाप भइसकेको छ, ’ उम्मेदवार राईले भने । धरानमा एमालेले निरन्तर जित्दै आएपनि अहिले र अढाई दशकअघिको धरानको स्वरुप उस्तै भएको उनको भनाई थियो । धरानको समग्र विकासको खाका एमालेका जनप्रतिनिधिहरुले कोर्न नसकेको दाबी गर्दै उनले एमाले जनप्रतिनिधिले अव्यवस्थित भानुचौकको बसापार्कलाई व्यवस्थित गर्न नसकेको, बसपार्क बनाउन नसकेको र सुकुम्बासीहरुलाई पनि भोटबैंक मात्र बनाएको आरोप लगाए । वामपन्थीहरुले जितेर पनि जनतालाई सधै झुक्याइरहेकाले जनताले अब कांग्रेसलाई विश्वास गर्ने दाबी गरे ।
सुकुम्बासीहरुलाई कानुन बनाई प्रक्रिया पुर्याएर धनीपुर्जा दिने साथै खोला र डिलमा बसेकाहरुलाई ऐलनी पर्ती जग्गामा जनता आवास कार्यक्रम लागु गरेर घर निर्माण गरि सार्ने पनि उनले बताए । एयरपोर्ट क्षेत्रका सुकुम्बासीहरुलाई स्थानान्तरण गरेर मात्रै काम अघि बढाउने उनले आश्वासन दिए । बृद्धबृद्धाहरुलाई भत्ता थाप्न बैंकमा लाइन बस्न नपर्ने गरि घरघरमा नै पुर्याउने उनको दाबी थियो । उपमेयरकी उम्मेदवार श्यामा रेग्मीले कांग्रेसले धरानमा सधै हारेपनि विकास ल्याएको दाबी गरिन् । उनले महिलालाई हिंसा र उत्पीडनबाट मुक्ति दिलाउने, हरेक वार्डमा महिला समिति गठन गर्ने साथै ज्येष्ठ नागरिकहरुलाई मायालु वातावरण सृर्जना गर्ने बताइन् ।

‘जलाधारबाट एमाले नेतालाई अनुचित लाभ लियो’

कांग्रेसका मेयर पदका उम्मेदवार तिलक राईले नेकपा एमालेका नेताले सर्दु जलाधार क्षेत्रको संरक्षण र सट्टाभर्ना पाइसकेको जग्गाको लगतकट्टा गर्नुको साटो जग्गा दलालसँग मिलेर अनुचित लाभ लिएको गम्भीर आरोप लगाए । जलाधार क्षेत्र धरान र पर्यावरणको लागि ज्यादै संवेदनशील क्षेत्र भए पनि तत्तकालीन नगरपालिका, जिविस र सांसदमा जितेका जनप्रतिनिधिहरुले जग्गा दलाल र भुमाफियाहरुबाट जोगाउन कुनै पहल नगरेको बताए । ‘सट्टाभर्ना पाइसकेपनि मालपोत र नापीको कर्मचारीको कारणले जलाधारको लगतकट्टा भएको थिएन । यहाँबाट जितेका एमाले जनप्रतिनिधिहरुले त्यो लगतकट्टा गर्न केही गरेन । जलाधार क्षेत्रमा घर बन्यो भने के हुन्छ ? धरानको वातावरण र खानेपानीको अवस्था के हुन्छ ? त्यसैले हामीलाई जिताउनुस्, अब हामी गछौं ’ राईले भने, ‘एमाले नेताको नाममा जग्गा दलालले उल्टै २, ३ कट्ठा जग्गा दियो, त्यो अहिले बिक्रीवितरण भइसकेको छ ।’











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे