प्रादेशिक महोत्सवको विजोग, रमाइलो खेलतमासा र कन्सर्टलाई प्राथमिकता

धरान,फागुन १७ । आन्तरिक उत्पादनको व्यापारीक प्रर्वद्धन गर्ने लक्ष्यसहित विगत ६ दिनदेखि धरानको पब्लिक उच्चमाविमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव २०७४ मा प्रचार गरिएजस्तो उद्योगहरु सहभागी नभएपछि महोत्सवको विजोग अवस्था छ ।
महोत्सवमा ठुला औद्योगिक उत्पादनहरु सहभागी नभएपछि अधिकांश व्यापारीक प्रयोजनको स्टलहरु खाली छन् । घरेलु उत्पादनको स्टलहरुले धानिएको महोत्सवमा धरानमा भएका उद्योगहरुले समेत स्टल राखेका छैनन् । औद्योगिक तथा घरेलु उत्पादनको स्टललाई भन्दा पनि आयोजकले रमाइलो खेल तमासा चलाउन र कन्सर्टलाई प्राथमकिता दिएको भन्दै घरेलु उत्पादनको स्टल राखेकाहरु पनि आयोजकप्रति रुष्ट छन् । नेपाल सरकारको विभिन्न मन्त्रालयबाटसमेत बजेट आउने भनिएको महोत्सवमा औद्योगिक उत्पादन नहुदा अवलोकनकर्ता सर्वसाधारणहरुको उपस्थिति न्युन छ । महोत्सवमा बाल उद्यानको नाममा रोटेपिङ, मौतका कुवा, नाउजस्ता मनोरञ्जन खेलहरु पनि छन् । महोत्सवमा दिउसो अवलोकनकर्ताहरुको खडेरी छ भने आएकाहरु अवलोकनकर्ताहरु पनि स्टलको अवलोकन र खरीदभन्दा ती खेलतमासाहरुमा रमाउन बढी ध्यान दिन्छन् । साँझमा हुने कन्सर्टको बेला मात्र महोत्सवमा उपस्थिति केही सन्तोषजनक हुने गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखि शुरु भएको महोत्सव २१ गतेसम्म हुनेछ ।
आयोजकले औद्योगिक उत्पादनको प्रर्वद्धन गर्न भन्दा पनि आम्दानी गर्नतिर ध्यान दिएपछि महोत्सव अपेक्षाअनुरुप हुन नसकेको स्टल लिएकाहरुको गुनासो छ । आफ्नो उत्पादन प्रर्वद्धनसँगै बिक्री गराउन आएका घरेलु उद्योगहरु खाना र बस्नको खर्च उठाउन गाह्रो भएको बताउछन् । ‘दिउँसो त मान्छे नै आउदैनन भनेपनि हुन्छ, राती कन्सर्ट हुदा मात्र आउछन्, तर पनि यता स्टलतिर छिर्दैनन्,’मोरङको विराटचोकस्थित गुरास हस्तकला उद्योगको स्टलका कर्मचारी रामु दाहालले भने,‘स्टलको लोकेशन र डिजाइन पनि ठिक भएन । यहाँ गेटबाट छिर्नासाथ सिधै मेला र होटलको स्टल देखिन्छ, मान्छे सिधै त्यतै तिर जान्छन् ।’
महोत्सव शुरु हुनुअघि आयोजकले दिएको आश्वासन जस्तो व्यावस्थापन नभएको जानुका दाहालले गुनासो गरिन् । ‘हामीलाई जे भनेर ल्याइएको थियो, त्यस्तो केही भएन । के कस्तो स्थिति छ भनेर सोध्न पनि आउदैनन्, हाम्रो गुनासो सुनुवाई पनि भएन,’ उनले भनिन्,‘७ हजारमा स्टल लिएर बसेको हो, दैनिक खर्च उठ्न पनि गाह्रो छ ।’ बेसारको स्टल राखेका विष्णुपादुकाका भुवन कुलुङले पनि आयोजकले रमाइलो मेला र खानाको स्टललाई खुला ठाउँमा र सिधै देखिने गरि राखेपछि महोत्सवमा भएको उत्पादनका स्टलहरु ओझेलमा परेको गुनासो गरे । ‘सबै ठाउँको मान्छेहरु आउलान् भन्ने थियो तर त्यस्तो भएन । फुड स्टल, पिङ, झुलाहरु अगाडि छ मान्छे त्यतै अल्मलिन्छन्,’उनले थपे ।
गुनासो स्टल भाडामा लिएकाहरुको मात्र होइन, महोत्सवको अवलोकन गर्न पुगेका जनप्रतिनिधि एवं सर्वसाधारणहरु पनि प्रचार गरिएजस्तो उद्योगहरुको उत्पादन एवं सामग्रीहरु नभएको गुनासो छ । उद्योगहरुको उत्पादनलाई महत्व दिइनुपर्ने महोत्सव विगतमा दशैं तिहारमा हुने रमाइलो मेला जस्तै भइदिएको वडा नं ६ का अध्यक्ष भुवनसिं बस्नेतले बताए । ‘उद्योगको उत्पादनहरुको स्टल थोरै रहेछ, त्यो पनि नदेखिने गरि भित्र छ,’महोत्सवमा भेटिएका उनले भने,‘केटाकेटी खेलाउने, घुमाउने रोटेपिङले प्राथमिकता पाएको देखियो ।’ महोत्सवमा आयोजकले बिशेष स्टलहरुलाई ५० हजार, ठुला उद्योगहरुलाई २२ हजार, रेष्टुरेष्ट व्यावसायलाई ४० हजार स्टलको भाडादर तोकिएको थियो । महोत्सवमा एउटा स्टल राख्न कम्तीमा पनि ७ हजार रुपैया भाडा तोकिएको छ ।
.............................................................

के छ महोत्सवमा ?

ठुला उद्योग र उपभोक्ताबीच सिधा सम्पर्क हुदा उपभोक्तालाई सुलभ मुल्यमा सामान पाइने र उद्योगहरुलाई पनि प्रचार हुने महोत्सवको उदेश्य राखिएको थियो । तर, पर्यटन, कृर्षि, सुचना प्रविधि, कलासँस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रर्दशनी भनिएको महोत्सवमा अपेक्षाअनुसार ठुला उद्योगहरुको उत्पादन छैन । आवश्यक दैनिक उपभोग्य वस्तुहरु पनि नपाउदा सर्वसाधारण उपभोक्ताहरु निराश भइ फर्कन्छन् । महोत्सवमा खानाको परिकार(फुड स्टल), हस्तकला, रेडिमेड कपडा, अल्लोबाट बनेको कपडा, अटोमोवाइल्स, खेलौना, अचार, केकलगायत घरेलु उत्पादनहरु मात्र पाइन्छ । सुचना प्रविधिमा ल्यापटपको स्टल राखिएको छ भने कृर्षिअन्र्तगत ट्राउट माछा र टर्की चराको बच्चाहरु बिक्रीमा छ । यसबाहेक रमाइलोको लागि रोटेपिङ, मौतका कुवा, नाउलगायत खेलतमासाहरु छ भने साँझमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रमहरु दिनहु भइरहेको छ ।
.................................................................

आयोजक भन्छन,‘गुनसो जायज छ’

औद्योगिक उत्पादनहरु अपेक्षाअनुसार नभएको आम सर्वसाधारणहरुको गुनासो उचित भएको स्वीकार गर्छन् । आयोजक समितिका संयोजक एवं सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्,‘हामीले भनेजस्तो उद्योगको उत्पादनको स्टलहरु भइदिएन, त्यसैले गुनासो आउनु ठिकै हो । हामीले सबै उद्योगहरुलाई आउनुस भन्यौ तर आइदिएनन् ।’ ठुला उद्योगहरु महोत्सवमा आफ्नो उत्पादनको स्टल राख्न इच्छुक नभएकोले भनेजस्तो महोत्सव नभएको उनले बताए ।
महोत्सवमा घुम्न आउनेहरुलाई मनोरञ्जन पनि दिलाउने उद्देश्यले वालउद्यानमा रोटेपिङ, मौतका कुवाजस्ता खेलतमासाहरु राखिएपनि त्यस्तालाई प्राथमिकता दिएको भन्ने आरोप सही नभएको उनले बताए । दिउँसो महोत्सवमा मान्छेहरु कम आएको स्वीकार गर्दै धरानमा साँझ परेपछि मात्र महोत्सवतिर जाने सँस्कार भएकोले अहिले पनि साँझमा मात्र भिड हुने गरेको उनको दाबी थियो । ‘शुरुको केही दिन मान्छे कम भएकै हो, अहिले विस्तारै संख्या बढ्दै गइरहेको छ,’उनले भने,‘महोत्सव लामो राखिएकोले केही उद्योगहरु सम्पर्कमा आएका छन् र स्टल पनि राख्ने भन्दैछन् ।’
........................................................

आर्थिक गोष्ठी गरिने

प्रादेशिक महोत्सवको आयोजक सुनसरी उद्योग वाणिज्य संघले शनिबार प्रदेश नं १ लाई कसरी आर्थिकरुपमा समृद्ध बनाउने भनेर आर्थिक गोष्ठी गर्ने जानकारी दिएको छ । महोत्सवको अवसरमा तय गरिएको कार्यक्रम फागुन १९ गते(शनिबार) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा गरिने संघले जनाएको छ । उक्त गोष्ठीमा प्रदेश नं १ लाई समृद्ध तथा विकासित बनाउने बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् भने विज्ञ टिप्पणीकारहरुबाट पनि टिप्पणी हुनेछ ।
सो गोष्ठीको निष्कर्षलाई सम्बन्धित मन्त्रालयमा बुझाइने आयोजक संघका प्रथम उपाध्यक्ष एवं महोत्सव मुल संयोजक श्रेष्ठले बताए । उनका अनुसार गोष्ठीमा उर्जा, पर्यटन, कृर्षि र उद्योग व्यापार क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ । उद्योग तथा वाणिज्य क्षेत्रको प्रस्तुती प्रा.डा.पिके झाले गर्नेछन् भने उर्जा क्षेत्रको कार्यपत्र स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईले गर्ने श्रेष्ठले जानकारी दिए । यसैगरि, कृर्षि क्षेत्रको कार्यपत्र विष्णु काफ्ले र पर्यटन क्षेत्रको कार्यपत्र कृष्ण साहले प्रस्तुत गर्नेछन् । ती कार्यपत्रहरुमाथि टिप्पणीकारकोरुपमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष कुशकुमार जोशी, पर्यटन विज्ञ गणेशकुमार तिम्सिनालगायत हुनेछन् । ‘प्रदेश १ लाई कसरी समृद्ध बनाउने भनेर गोष्ठी आयोजना गर्ने तयारी गरिएको हो । गोष्ठीको निष्कर्षलाई दस्तावेजकोरुपमा प्रदेश सरकार र सम्बन्धित मन्त्रालयमा पेश गछौं,’संयोजक श्रेष्ठले भने । गोष्ठीमा १४ जिल्लाका २९ उद्योग वाणिज्य संघका अध्यक्षहरु सहभागी हुनेछन् भने सबै महानगर, उपमहागनर र नगरपालिकाका प्रमुखहरु पनि हुनेछन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे