क्यानभासमा ‘कर्ण मास्के’(फोटोफिचर)

करिब डेढ बर्षअघि मास्केको निधन भएपछि देशभरका कलाकारहरुले उनलाई प्रत्यक्ष देख्न र भेट्न पाएका छैनन् । तिनै मध्ये एक हुन्, धरानका अग्रज कलाकार प्रनोद दत्त । शनिबार बिहान धरानको घण्टाघरमा रंग र कुची लिएर क्यानभासअघि घोत्लिदा स्वर्गीय मास्केको मुहार झलझली याद आइरह्यो । ‘कलाप्रति एकदमै समर्पित व्यक्ति हुन्, आज चित्र बनाउदै गर्दा उहाँको खुब याद आयो,’दत्तले मास्केलाई सम्झदै भने,‘हामीलाई ए फलना यसो गर, उसो गर, राम्रो गर भन्दै कडा र ठाडो शैलीमा भन्नुहुन्थ्यो । शब्द कडा भएपनि मिठासपुर्ण हुन्थ्यो ।’
दत्त मात्र होइन, शनिबार घण्टाघर परिसरमा क्यानभास बोकेर चित्र बनाउन पुगेका २ दर्जन कलाकारहरु सबैले स्वर्गीय मास्केलाई सम्झिए । यसको कारण हो, पोखराबाट आएको कुची आर्ट ग्रुप, कलरव धरान र पुर्वका विभिन्न जिल्लाबाट आएका कलाकारहरुले ‘सम्झनामा कर्ण मास्के’ कार्यक्रम आयोजना गर्नु । कलाकारहरुले स्वर्गीय मास्केप्रति सम्मान प्रकट गर्दै पेन्टिङ बनाएका थिए । कसैले मास्केको मुहार चित्र बनाए भने कसैले मास्केलाई सांकेतिकरुपमा क्यानभासमा उतारे । कसैले उनलाई प्रेरणाको स्रोत मान्दै अन्य बिषयमा पेन्टिङ बनाए । ‘कर्ण मास्के सरको आर्टप्रतिको योगदान, समर्पण र कलाकारहरुलाई गर्ने माया, सद्भावलाई स्मरण गर्दै यो कार्यक्रम गरेका हौं, उहाँजस्तै पेन्टिङ गर्न नसकेपनि सिको गरिएको हो,’कलरव धरानका जीवन पौडेलले भने,‘उहाँलाई प्रेरणा मान्दै सृर्जना गर्यौं, देशकै ठुला कालाकारको स्मरण ताजा गर्न पाउदा ज्यादै खुशी छौं ।’

Comments
Post a Comment