थिएटरमा शारदाको पुनरागमन

धरान,चैत १३ । रंगकर्मी शारदा शाक्य कुनै समय धरानमा मात्र होइन, नेपालकै रंगमञ्चकी एक धरोहर थिइन् । राजधानीमा निशा शर्मा, सुर्यमाला शर्मा, मिलिथा शर्माहरुको दबदबा भइरहदा पनि धरानबाट गएको नाटकले उत्कृष्ट पुरस्कार जितेर आउदा शारदा शाक्य, शोभा खजुमलगायतले वाहवाही पाउथिन् ।
तिनै रंगमञ्चकी धरोहर शाक्य लामो समयदेखि थिएटरबाट टाढा बसिन् । गृहनगर धरानमा उनले थिएटरमा नझुल्एिको पनि २ दशक बितिसक्यो । मंगलबार भने धरानका रंगमकर्मी, साहित्यकार एवं नवकलाकारहरुले शारदाको नाट्य प्रस्तुती हेर्न पाए । यति लामो ग्याप पछि स्टेजमा झुल्कदा पनि शारदाले आफ्नो अभिनय र प्रस्तुतीमा खोट लगाउने मौका दिइनन् । शारदाका समकालीन एवं अग्रज रंगकर्मी प्रेम सुब्बाले भने,‘मैले उनलाई २४ बर्षपछि थिएटरमा हेरे । यतिको समयपछि पर्फम गर्दा स्टामिना नपुग्ला कि, शारीरिक हाउभाउ र भावनात्मक उतारचढवले समस्या होला कि भन्ने डर थियो, तर उनले पहिला जस्तै प्रस्तुती दिए ।’
शारदासँगै २ दर्जन बढी नाटक खेलेका सुब्बाका अनुसार राष्ट्रिय नाट्य महोत्सवहरुमा धरानबाट गएको नाटकले उत्कृष्ट पुरस्कार जितेर आउथ्यो । त्यस टिममा शारदा पनि हुन्थे । विश्व रंगमञ्च दिवसको अवसरमा मंगलबार होटल रत्न इनमा नाटक ‘मातृ पीडा’को अंश प्रस्तु गर्दै रंगकर्मी शाक्यले रंगमञ्चमा पुनरागमन जनाएकी हुन् । साहित्यकार एवं पत्रकार राजेश विद्रोहीले लेखेको यो नाटक २०६० सालमा मञ्चन भएको थियो । २०६० सालमा यो नाटकको निर्देशक सुवास अधिकारीले गरेका थिए भने अभिनय त्यो बेला शोभा अधिकारीले गरेकी थिइन् । करिब आधा घण्टाको नाटक भएपनि शाक्यले एकल नाटक अंश ८ मिनेट प्रस्तुती गरेकी थिइन् । स्टेजलाई नै थिएटर बनाइएको थियो । ‘म लामो समयपछि सानो अंशमा भएपनि थिएटरमा आए, धेरै अनन्द लागिरहेको छ,’शाक्यले भनिन् ।
शाक्यले २०४२ सालदेखि नाटकमा अभिनय गर्न थालेकी थिइन् । उनको पहिलो नाटक थियो, विवश आकाश । उनले २०५० सालसम्म सक्रियरुपमा ३० भन्दा बढी नाटकमा अभिनय गरिन् । त्यसपछि भने उनी काठमाण्डांै गएर टेलिसिरियल र चलचित्रतिर ब्यस्त बनिन् । ‘मैले ५० सालसम्म थिएटर गरे, त्यसपछि टेलिसिरियल र ठुलो पर्दामा काम गर्न थाले,’उनले विगत सम्झिइन्,‘सानो पर्दामा १२ वटा जति र ठुलो पर्दामा ४ वटा काम गरे ।’ शाक्यले ठुलो पर्दामा मर्यादा, निशाना, माझी मामा र भुल की फुल भन्नेमा अभिनय गरेकी थिइन् ।
.....................................

सहकर्मी साथीहरुलाई सम्झे

नाट्यकर्मी महासंघ नेपालको क्षेत्रीय च्याप्टरले विश्व रंगमञ्च दिवस मनाउन आयोजना गरेको कार्यक्रममा मंगलबार अग्रज रंगकर्मी, कलाकार र साहित्यकारहरुको उपस्थिति थियो । तर, सबै रंगकर्मीहरुको उपस्थिति नहुदा शाक्य दुःखी थिइन् । खास गरि उनले आफ्ना समकालीन, सहकर्मीहरुलाई खुब सम्झिइन् । ‘मैले काम गर्दा सबै एक ठाउँमा थियौं, त्यतिबेला काम गर्न पनि धेरै रमाइलो हुन्थ्यो,’उनले भनिन्,‘अहिले सबै साथीहरु एक ठाउँमा छैनौं, आज नाटक गर्दा ती सबै साथीहरुलाई सम्झिएर,दुःख लाग्छ ।’
अहिले सँगै काम गर्न पाए रंगमञ्चले उचाई लिनसक्ने उनलाई महसुस हुन्छ । धरान सानो ठाउँ भएर पनि रंगमञ्चमा धेरै माथि पुर्याउन सकेको भन्दै उनले गर्व पनि गरिन् । ‘त्यो बेला हामीले काठमाण्डौंलाई नाटकमा टक्कर दिन्थ्यांै, उत्कृष्ट भएर आउथ्यौं,’उनले भनिन्,‘तर, हामीले निरन्तरता दिन सकेनौं, पेशागतरुपमा ढाल्न सकेनौं ।’
पछिल्लो समय आरम्भ नाट्य डबली, रंगमुभी एकेडेमी, थिएटर सहाराले धरानको रंगमञ्चलाई गति दिएकोमा भने उनी निक्कै खुशी व्यक्ति गर्छिन् । साथै, नयाँ पुस्ताले धरानको रंगमञ्चलाई नयाँ आशा जगाएको उनको ठम्याई छ । ‘नयाँ पुस्ता तयार हुदैछन्, अब फेरी धरानको रंगमञ्चले नयाँ मोड लिन्छ कि भन्ने आशा छ,’उनले भनिन्,‘हामी पुरानो पुस्ताले हौसला दिनुपर्छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे