कर्मचारीमा जुनियर–सिनियर विवाद, तोकिएको ठाउँमा जान अटेर


धरान,चैत ११ । जिल्ला शिक्षा कार्यालय सुनसरीका उपसचिव टेकनाथ रेग्मी गएको दशैं पछि नै नयाँ संरचनाको स्थानीय तह(धरान उपमहानगरपालिका)मा हाजिर हुनुपर्ने थियो । तर, उनी अहिलेसम्म धरान आएका छैनन् ।
जिल्ला शिक्षा कार्यालयमा दरबन्दी भएका रेग्मीलाई मन्त्रालयले काजमा धरान खटाएको थियो । उनी भने अटेर गरेर शिक्षा कार्यालयमै छन् । नयाँ संरचनाअनुसार सरकारले खटाएको स्थानमा नजानुमा अरु कुनै कारण होइन, आफुभन्दा कनिष्ठ कर्मचारीको मतहतमा बसेर काम गर्नुपर्ने भएपछि रेग्मी धरान नआएका हुन् । धरानका प्रमुख प्रशासकीय अधिकृत(कार्यकारी प्रमुख) गणेश तिम्सिना भन्दा रेग्मी २ बर्षले सिनियर हुन् । उपसचिव नै भएपनि आफुभन्दा जुनियर तिम्सिनाको मातहतमा बसेर काम गर्न नमानेर रेग्मी धरान नआएका हुन् । तिम्सिना सरुवा भएर गइसकेका छन् भने धरानका नयाँ प्रमुख प्रशासकीय अधिकृत आइसकेका छैनन् ।
यसरी जुनियर र सिनियर विवादले सरकारले खटाएको तहमा काम गर्न नजाने रेग्मी एक्ला कर्मचारी भने होइनन् । सुनसरी जिल्लामै अन्य कर्मचारीहरु पनि खटाएको तहमा गएका छैनन् । वाम गठबन्धनको सरकार र मन्त्रीहरुले सरकारले पठाएको कार्यक्षेत्रमा कर्मचारी नगए कारबाही गर्ने चेतावनी दिइरहे पनि त्यसको असर कर्मचारीमा परेको छैन । ‘दरबन्दी वा संगठनको संरचनासहित पठाएको भएपनि त हुन्थ्यो । प्रत्यक्ष सरोकार राख्ने निकाय पनि भएन,’उपसचिव रेग्मीले भने,‘सबैभन्दा मुख्य कुरा चै सिनियर जुनियरकै हो । आफुभन्दा जुनियरको मातहतमा बसेर कसरी काम गर्नु ? देशैभर यही समस्या हो, सुनसरीमै पनि थुप्रैलाई यही समस्या छ ।’ धरानमा अब आउने प्रमुख प्रशासकीय अधिकृत आफुभन्दा जुनियर वा सिनियर कस्ता हुन्छन्, त्यसैको आधार पुनः आउने वा नआउने निश्चित हुने उनले बताए ।
रेग्मीका अनुसार नीतिगत व्यवस्था नगरी सरकारले स्थानीय तहमा पठाएपछि जिल्ला शिक्षा कार्यालय सुनसरीकै अर्का उपसचिव दुर्गा खतिवडा र विद्यालय निरीक्षक रुद्र राई पनि काजस्थल गएका छैनन् । उपसचिव खतिवडा मोरङको पथरी शनिश्चरे र विद्यालय निरीक्षक राई सुनसरीकै हरिनगरा जानुपर्ने थियो । मन्त्रालयले स्थानीय तहमा खटाए पनि हाजिर हुन नसक्ने भए कारण खुलाएर पठाउन भनेकोले आफुहरुले कारणसहित पत्राचार गरेको तर अहिलेसम्म कुनै निर्देशन भने नपाएको रेग्मीले बताए ।

                               उपसचिव नहुदा काममा असर

जुनियर र सिनियरको हैसियद विवादले उपसचिव नआउदा शिक्षासम्बन्धी काम कार्यवाहीहरु प्रभावित भइरहेको छ । नयाँ व्यावस्थाअनुसार आधारभुत तथा माध्यमिक शिक्षाको कामहरु स्थानीय तहमा पनि आएको छ । धरानमा शिक्षा समिति पनि गठन भएको छ भने विद्यालय निरीक्षक रमेशकुमार साह र स्रोत व्यक्ति खेम सुदेवी कार्यालयमा हाजिर भइसकेका छन् । तर, प्रमुख व्यक्ति नआइदिदा शिक्षाको कामले अपेक्षित गति लिन सकेको छैन । ‘प्रमुख व्यक्ति हुदा र नहुदा फरक परिहाल्छ नि । उपसचिव भइदिए उहाँ कार्यालयमा बसेर प्रशासनिक काम सम्हाल्नुहुन्थ्यो, हामी फिल्डमा खटिन्थ्यौं,’स्रोत व्यक्ति खेम सुवेदीले भने,‘हामी फिल्डको मान्छे, फिल्डमा जान्थ्यौं, रिपोर्ट दिन्थ्यौं । उहाँ नहुदा फिल्डमा जाने अनुकुल वातावरण भएन ।’
शिक्षाको प्रमुख एवं उपसचिव नहुदा विद्यालयहरुको निरीक्षणको काम प्रभावित हुन पुगेको छ । विगतमा जिल्ला शिक्षा कार्यालयको काम अहिले धरानभरि शिक्षा शाखाबाट नै गर्नुपर्छ । धरानका बोर्डिङ र सामुदायिक विद्यालयमा निरीक्षण, शिक्षक अनुपस्थिति, पठनपाठनलगायतको अनुगमन गर्ने दायित्व छ । ‘भौतिक पुर्वाधारको अवस्था, कर्मचारी अभाव, शिक्षकको रेकर्ड राख्नेदेखि सबै कामहरु सहजरुपमा हुन सकिरहेको छैन,’सुदेवीले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे