किरात प्रदेश माग्दै यायोक्खाले २५ लाख हस्ताक्षर बुझायो(फोटोफिचर)
धरान,चैत १५ । किरात राई यायोक्खाले प्रदेश नं १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै संकलन गरिएको २५ लाख हस्ताक्षर प्रदेशसभालाई बुझाएको छ ।
यायोक्खाले विभिन्न जिल्लामा किरात प्रदेशमा ऐक्यवद्धता स्वरुप हस्ताक्षर संकलन अभियान चलाएको थियो । यसरी संकलन गरिएको २५ लाख हस्ताक्षरलाई यायोक्खाले बिहिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिप भण्डारी र उपसभामुख सरस्वती पोख्रेललाई हस्तान्तरण गरेको हो । यायोक्खाको नेतृत्वमा विभिन्न जिल्लाबाट साँस्कृतिक झाकी एवं र्यालीसहित हस्ताक्षर बुझाउन हजारौं संख्यामा नागरिकहरु विराटनगरस्थित प्रदेशसभा भवनमा पुगेका थिए । हस्ताक्षर बुझाउनुअघि ज्ञापन पत्र बुझाउदै यायोक्खा नेतृत्वले किरात कुनै जाति नभई आदिमकालदेखिको सभ्यता, ईतिहास र भुगोल भएकोले सबैलाई सर्वस्वीकार्य हुने धारणा राखेका थिए ।
यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले ज्ञापन पत्र मुख्यमन्त्री राईलाई बुझाएका थिए भने सुनुवार सेवा समाजकी सुनसरी जिल्ला अध्यक्ष ऐसा सुनुवारले पनि १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरणको माग गर्दै ज्ञापन पत्र मुख्यमन्त्री राईलाई हस्तान्तरण गरेकी थिइन् । यायोक्खाका अध्यक्ष राईले किरात शब्द कुनै जाती नभई सभ्यता, भुगोल र बहुपहिचान भएकोले सबैलाई स्र्वस्वीकार्य हुने बताए । प्रदेशको नामाकरण किरात हुनेबित्तिकै राज्य संयन्त्र एवं प्रशासनमा जाती वा समुदाय बिशेषको हालीमुहाली नहुने भन्दै अध्यक्ष राईले भने,‘यो प्रदेश अथवा भुगोलको प्राचीन सभ्यता र सँस्कृति हो किरात । यो जातीय आधारमा नाम राखिएको होइन, बहुपहिचानमा आधारित हो । किनभने किरात सभ्यता हो, भुगोल हो ।’
केन्द्रीय उपाध्यक्ष दिवस राईले विगतमा राज्यद्धारा नै वल्लो किरात, माझ किरात र पल्लो किरात भनेर प्रशासनिक केन्द्र तोकिएको भुगोल भएकोले पनि प्रदेशको नाम किरात राखिनु उपयुक्त हुने तर्क गरे । किरात सभ्यता भएकोले यो भुगोलमा बस्ने जुनसुकै जाति वा समुदाय किराती भएकोले आफ्नो प्राचीन सभ्यता नामेट हुन नदिन पनि प्रदेशको नाम किरात हुनुपर्ने उनको भनाई थियो । ‘किरात शब्दले सहअस्तित्व, सामाजिक सद्भाव र एकतालाई अझ मजबुत बनाउनेछ, आत्मसम्मान र गौरव कायम राख्नेछ,’उनले भने ।
प्रक्रियाबाट चाडै टुंग्याउछौंः मुख्यमन्त्री
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र स्थायी राजधानीको बिषयलाई चाडै संवैधानिक प्रक्रियाबाट टुंग्याउने बताएका छन् । किरात प्रदेश नामकरणको माग गर्दै २५ लाख हस्ताक्षर बुझाउन विराटनगर पुगेको यायोक्खा नेतृत्वलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नामकरणबारे प्रदेश सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने पनि बताए ।मुख्यमन्त्री राईले यायोक्खाको मागबारे विगतदेखि नै सुन्दै आएको र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि बताए । यद्यपी, प्रदेश नामकरण गर्ने बिषयमा प्रदेश सदस्यहरु सर्वभौम भएकोले सरकारले सहजीकरण मात्र गर्ने मुख्यमन्त्री राईको भनाई थियो । ‘भुगोल, सभ्यता, पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने माग आइरहेको छ, यी सन्दर्भ र आधारमा उभिएर स्वस्थ्य बहस गछौं र विधि, प्रक्रियामार्फत टुंगो लगाउछौं,’राईले भने,‘यायोक्खाको माग तथ्ययुक्त, आधारसहित राखेको छ, तर यसबिषयमा प्रदेशसभा सदस्यहरु सर्वभौम भएकोले गहिरो छलफल मनन गर्नुहुनेछ, र २ तिहाईमार्फत निर्णय हुनेछ ।’
मुख्यमन्त्री राईले जाति, भाषा,सँस्कृति र मौलिकताको हिसाबले नेपालको बिशिष्टता बोकेको मुलुक भएको र त्यो विविधता जोगाउन सके मात्र संघीयताको अर्थ रहने पनि बताए । साथै, संविधानमा व्यवस्था भएवमोजिम ३ वटै संघीय संरचनाको सरकार बनि सकेकोले अब जनतालाई संघीयताको आभास हुनेगरि काम गरेर देखाउने समय आएको पनि उनले बताए । यसैगरि, सभामुख प्रदिप भण्डारीले पनि प्रदेशको नामकरणको बिषयमा प्रदेश सांसदहरु सर्वभौम भएको बताए ।
Comments
Post a Comment