खानेपानी टंकी निर्माण विवाद:समाधान गर्न समिति गठन


धरान,चैत १६ । एकीकृत शहरी विकास आयोजनाअन्र्तगतको खानेपानी आयोजनाको पञ्चकन्या सबसिस्टममा रिजर्ब वेयर निर्माण विवादलाई समाधान गर्न एक समिति गठन गरिने भएको छ ।
आन्दोलनरत विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र धरान उपमहानगरपालिकाबीच शुक्रबार भएको दोस्रो चरणको वार्ताले दुवै पक्षलाई समेटेर १० सदस्यीय विवाद समाधान समिति गठन गर्न सहमति भएको हो । समितिले वैकल्पिक स्थानको खोजी गर्नेछ । समितिमा उपमहानगरपालिका र संघर्ष समितिको तर्फबाट ५–५ जना सदस्य रहनेछन् । संघर्ष समितिले शनिबार दिउँसो बैठक बसेर ५ जनाको नाम सिफारिश गर्नेछ भने समितिले पुर्णता पाएपछि आइतबार पहिलो वैठकसमेत बस्नेछ । समितिले चैत २७ गतेभित्र प्रतिवेदन पेश गर्ने र त्यसअवधिसम्म विजयपुरमा उपमहानगरपालिकाले टंकी खन्ने कार्यलाई स्थगित गर्ने सहमति भएको मेयरका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए । ‘विवाद समाधान समितिले २७ गतेभित्र प्रतिवेदन पेश गर्न र त्यसबेलासम्म टंकी खन्ने काम पनि स्थगन गर्ने सहमति भएकोछ,’काफ्लेले भने ।
विवाद समाधान समिति गठन भएसँगै संघर्ष समितिले पनि आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । पानीटंकी निर्माणस्थल ऐतिहासिक पुरात्तात्विक महत्वको क्षेत्र भएकोले सो स्थानमा टंकी नबनाउन र अन्त्रय स्थानान्तरण गर्न संघर्ष समितिले माग गर्दै आएको छ । पहिलो चरणको कार्यक्रम सकेर संघर्ष समितिले दोस्रो चरणको आन्दोलनसमेत घोषण गरिसकेको थियो । ‘विवाद समाधान समिति गठन भएको छ, संघर्ष समितिले पनि आन्दोलन फिर्ता लिएको छ,’संघर्ष समितिको सचिव प्रदिप नेयोङले भने,‘विवाद समाधानको उपाय नमिलेसम्म खन्ने काम पनि स्थगित हुनेछ ।’
समितिले प्राविधिक टोलीसहित विकल्पको स्थलगत अध्ययन र समाधानको खोजी गर्ने सचिव नेयोङले बताए । विगतमा जस्तो प्राविधिक टोलीमात्र नभई विवाद समाधान समिति, पत्रकार, बुद्धिजिवि र स्थानीयसहित अध्ययन गर्ने उनको भनाई थियो । ‘१० दिनभित्र प्रतिवेदन बुझाउने भन्ने छ, समय नपुगे म्याद थप हुनसक्छ,’उनले भने । उपमहानगरपालिकामा भएको वार्तामा मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेल र वडा नं १५ का अध्यक्ष नरेश इवारम थिए भने संघर्ष समितिकोतर्फबाट अध्यक्ष थाम्साङ लावती, सचिव नेयोङ, सदस्य अमर इजम, जनसरोकार मञ्चका संयोजक कृष्णनारायण पलिखेलगायत वार्तामा थिए । गएको मंगलबार पनि उपमहानगर र द्धिपक्षीय वार्ता भएको थियो । तर, दुवै पक्षको अडानले कुनै सहमति हुन सकेको थिए ।

आयोजनाले गत बर्ष पञ्चकन्या सिस्टमको लागि रिजर्ब वेयर बनाउन विजयपुर दरबार क्षेत्रको १ सय १७ वटा रुखहरु काटेपछि विवाद शुरु भएको थियो । विवाद चर्किएर काम रोकिएपछि गठन भएको प्राविधिक समितिले प्रस्ताव गरिएको विकल्प अध्ययन गर्दा उपयुक्त नभएको निष्कर्ष दिएको थियो । यो प्रतिवेदन आएपछि चार किरात संस्थाले १८ बुँदे सहमति गर्दै पानीटंकी बनाउन सहमति दिएको थियो । तर, चुम्लुङ नगर समितिसहित लिम्बुवानजन्य पार्टी, पहिचान पक्षधर भनिएको संगठनहरुले संघर्ष समिति गठन गरेर सहमतिको विरोध जनाएको थियो । उपमहानगरपालिकाले चैत ५ गतेदेखि सो स्थानमा पानीटंकी खन्न थालेपछि विवाद उत्कर्षमा पुगेको थियो । चैत ७ गते संघर्ष समिति पक्षले जेसिबि तोडफोड र झडपसमेत भएपछि उपमहानगरपालिकाले काम स्थगित गरेर वार्तालाई अघि बढाएको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे