खानेपानी टंकी विवादः विजयपुरको विकल्प नभेटेकै हो ?
धरान,चैत १५ । धरान खानेपानी आयोजनाको पञ्चकन्या सबसिस्टमको लागि ऐतिहासिक विजयपुर क्षेत्रको रुखहरु काटिएपछि चार किरात संस्थासहित लिम्बूवान पार्टीको चर्को विरोधले टंकी निर्माणको काम ठप्प बन्यो ।
चार किरातसहितको संस्थाहरुले पानीटंकी निर्माणस्थलको विकल्प खोज्न माग गरेपछि उपमहानगरपालिका र चार किरात दुवै पक्षले अध्ययन गर्न एक प्राविधिक समिति गठन गरेको थियो । गत असोजमा गठन भएको प्राविधिक समितिमा चार किराततर्फबाट दुर्गाधन राई र अनिल श्रेष्ठ थिए भने आयोजनातर्फबाट आयोजना प्रमुख राजु पोख्रले र परामर्शदाता कम्पनी बिडिएको टिम लिडर मुरारीलाल चौधरी थिए । यो प्राविधिक टोलीले चार किरातकोतर्फबाट विकल्पमा अघि सारेको पुरानो पानीटंकी र वल्लो सारंगा डाँडा गरि २ स्थानमा स्थलगत अध्ययन गरेको थियो । यो प्राविधिक टोलीले विकल्प उपयुक्त नभएको प्रतिवेदन दिएपछि चार किरातले १८ बुँदे सहमति गरेर टंकी निर्माणको स्वीकृति दिएको थियो । यो टंकी वडा नं १४ का बासिन्दालाई मात्र पानी खुवाउनको लागि हो ।
चार किरातले टंकी निर्माणको स्वीकृति दिएपनि लिम्बूवान पार्टीसहितको पहिचान पक्षधर भनिएका पार्टीहरु पुनः सहमतिको विरोधमा उत्रियो । चैत ५ गते युवा कार्यकर्तासहित धरानका मेयर, उपमेयर पानीटंकी खन्न गएका थिए भने ७ गते विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले जेसिबिमा आक्रमण गरेपछि काम पुनः स्थगित भएको छ । उपमहानगर र संघर्ष समितिबीच पहिलो चरणको वार्ता भएपनि विना निष्कर्ष टुंगियो भने आज(शुक्रबार) पुनः दुवै पक्षबीच वार्ता हुने भएको छ । समस्या समाधानको लागि वार्ताले निरन्तरता पाएपनि रुख काटिएको स्थानमा टंकी बनाउने उपमहानगरपालिका र विकल्प खोज्नुपर्ने संघर्ष समितिको अडानले सहमतिको सम्भावना भने न्युन छ ।
विगतमा विकल्प खोजी गरेपनि नभेटिएको जिकिर गर्दै उपमहानगरपालिका कुनै हालतमा सोही स्थानमा टंकी बनाउन पक्षमा छ भने संघर्ष समिति पनि आफ्नो मागबाट पछि नहट्ने जनाउदै आएको छ । यसले निकट भविष्यमा राज्य पक्ष र संघर्ष समितिबीच भिडन्त हुने खतरा देखिदैछ । संघर्ष समितिसँग पनि तत्काल पानीटंकी निर्माणस्थलको उपयुक्त विकल्प पनि छैन । तर, संघर्ष समितिका सदस्य अमर इजम विगतकै विकल्पमा राम्रो अध्ययन नभएको जिकिर गर्छन् । उनले भने,‘पहिला पनि हचुवाको भरमा अध्ययन गरेको छ, अध्ययन कहाँ भयो, र के निष्कर्ष आयो भन्ने नै अन्यौल छ ।’
इजमले प्राविधिक अध्ययन टोलीमाथि प्रश्न उठाएपनि टोलीका सदस्य एवं पुर्वाञ्चल क्याम्पसका प्राध्यापक दुर्गाधन राई भने चार किरातले अघि सारेकोसहित ३ वटा विकल्पको राम्रोसँग अध्ययन गरिएको तर टंकीनिर्माणको लागि उपयुक्त नभएको दाबी गर्छन् । ‘हामीले वल्लो सारंगा, शिवधाराको शिरान र पञ्चकन्या मन्दिर परिसरको संस्थानकै टंकी भएको ठाउँ पनि अध्ययन गर्यौं,’उनले भने,‘वल्लो सारंगा भिरालो जग्गा भएकोले ठिक भएन, पछि सडक बढ्दा पनि समस्या हुने । शिवधाराको शिरान पनि त्यस्तै भिरालो भयो । मन्दिर परिसरबाट प्रेसर नै नपुग्ने भयो ।’ आयोजना प्रमुख पोख्रेलले पनि संयुक्त प्राविधिक टोलीले अघि सारिएको विकल्प उपयुक्त नभएको ठहर गरेपछि नै १८ बुँदे सहमति गरेर निर्माण कार्य अघि बढाएको बताउछन् । ‘उहाँहरुले नै अघि सारेको २ वटा विकल्प अध्ययन गर्दा उपयुक्त देखिएन, त्यसपछि सहमति गर्न चार किरात राजी भएर नै १८ बुँदे सहमति भएको हो,’उनले भने ।
..................................................................
स्वास्तिका गौरा मार्गबारे मौनता
विवाद चर्किदै गएपछि धरान १३ फुस्रेस्थित स्वास्तिका गौरा मार्ग(वस्ती)का बासिन्दा टिका राईले आयोजना प्रमुख राजु पोख्रेललाई विकल्पकोरुपमा ऐलनी जग्गा देखाएका थिए । स्थानीय पुर्ण राईले हकभोग गर्दै आएको ऐलनीसहित उनको नम्बरी जग्गा उपयुक्त विकल्प हुनसक्ने उनको भनाई छ । आयोजना प्रमुख पोख्रेलसहितको टोलीले स्थलगत अध्ययन गरेपनि अहिले आयोजना र उपमहानगरपालिकाले त्यो विकल्पको बिषयमा मौनता साधेको छ ।
‘विजयपुरमा साह्रै लफडा भएपछि मैले नै आयोजना प्रमुखलाई बोलाएर यो ठाउँ हेराएको थिए । पञ्चकन्यामा किन त्यत्रो विवाद गरिरहने ? यो ठाउँ विजयपुरको जतिकै हाइटमा र उपयुक्त छ, यही बनाए पनि हुने हो,’सहजकर्ता राईले भने,‘फ्रुस्रेको रिजर्ब वेयरबाट नजिक पर्छ र पम्पिङ गर्न पनि धेरै विजुली खपत हुदैन । विवाद पनि केही छैन ।’ सो स्थान अधिकांश ऐलनी जग्गा पर्ने र जग्गाधनीको थोरै नम्बरी खरीद गर्दा पर्याप्त जग्गा पुग्ने उनको भनाई छ ।
सो स्थान हालको फुस्रे टंकीबाट करिब डेढ किलोमिटर पुर्वी उत्तर डाँडामा छ । जसलाई स्वास्तिका गौरा मार्ग(वस्ती) भनिन्छ । सो स्थानमा फुस्रेबाट पञ्चकन्यामा बन्न लागेको टंकीस्थलभन्दा धेरै नजिक पर्छ । जसले गर्दा पञ्चकन्यामा पम्पिङ गर्दा जति समय विजुली चलाउनुपर्छ, त्यहाँ हुदा त्यति विजुली खपत गर्नुपर्दैन । ‘यहाँसम्म आइपुग्न बाटो पनि छ, यसलाई पिच गर्न मात्र पर्छ । हाम्रो त्यति मात्र स्वार्थ हो, यो गाउँकै लागि फाइदा हो, व्यक्तिगत होइन,’जग्गाधनी पुर्णले भने,‘टोली आएर हेरेर गएको थियो । आयोजनाको नाममा जग्गा नामसारी हुनुपर्छ भनेकोले मेरो थोरै जग्गा किन्ने कुरा पनि भएको थियो । तर, पछि के भयो थाह भएन ।’ उनकाअनुसार वडा नं १३ का अध्यक्षसमेत आएर सो स्थान हेरेको थियो ।
आयोजना प्रमुख पोख्रेल पनि विवाद समाधानको लागि भन्दै स्थानीयले स्वास्तिका मार्गमा जग्गा देखाएको स्वीकार गर्दै नम्बरी जग्गा पनि खरीद गर्नुपर्ने भएकोले जग्गा प्राप्ती ऐन लागु हुने भएकोले धेरै झञ्झटिलो प्रक्रिया हुने बताए । ‘जग्गा प्राप्ती ऐन लागु हुन्छ र त्यो प्रक्रिया सक्न नै ६ महिना लाग्छ, त्यसैले त्यसमा गहिरिएर गएनौं,’उनले भने,‘उपमहानगरपालिकाले अन्य विकल्प दिएको छैन, त्यसैले अहिले आयोजनाले अरु विकल्पबारे ध्यान दिएको छैन । उपमहानगरपालिकाले वार्ताबाट नै समाधानको पहल गरिरहेको छ ।’ पछिल्लो कार्यपालिका बैठकले पनि विजयपुरमा नै रिजर्ब वेयर बनाउने निर्णय गरेको छ ।
Comments
Post a Comment