भुकम्पको पीडामा मल्हम लगाउदै धराने युवा(फोटोफिचर)

धरान । भर्खर उपमहानगर बनेको पूर्वको धरान सिन्धुपाल्चोकबाट करिब साढे चार सय किलोमिटर टाढा छ । दुवै ठाउँका बासिन्दा हत्तपत्त ती ठाउँमा पुग्दैनन् । यो साता भने धरानबाट युवाहरुको एक समुह सिन्धुपाल्चोकका विभिन्न गाउँमा पुगे, महाभुकम्पले दिएको चोटमा महलम लगाउन ।
बैशाख १२ गतेको भुकम्पले सिन्धुपाल्चोकमा विनाशलिला मच्यायो । सबैभन्दा धेरै जनधनको क्षति यही भयो । ०४५ सालको भुकम्पले ठुलो क्षति व्यहोरिसकेको धरानका युवाहरुले मन थाम्नै सकेनन् । विभिन्न पेशा, व्यावसायमा आवद्ध उनीहरु आफैले राहत सामग्री जुटाएर बैशाख १९ गते सिन्धुपाल्चोक हान्निए । युवाहरुको टोली आफै राहत संकलन गरेर सिन्धुपाल्चोक आएको थियो । देशभरबाट राहत पठाउने, वितरण गरेर फर्कने क्रम जारी रह्यो । धराने युवाहरु साता दिनसम्म सिन्धुपाल्चोकमा स्वयमसेवीरुपमा खटिए । राहत सामग्रीलाई डोको, काँधमा बोकेर भुकम्प पीडितहरुको घरैसम्म पुर्याए ।
‘दुःख परेको बेला एक ठाउँका नेपालीलाई अर्को ठाउँको नेपालीले नै सघाउनुपर्छ भनेर आयौं, हामीलाई विश्वास गरेर धेरैले राहत पठाएकोले पनि सही ठाउँमा पुगोस भनेर आफै खटियौं’–युवा टिमको नेतृत्वकर्ता योगेन राईले भने–‘पीडितको घर,आँगनमा पुग्दा भुकम्पले गरेको क्षति र पीडालाई शहरी युवाहरुले प्रत्यक्ष महसुस गर्न सके, यसले उनीहरुमा थप एकता र सहयोगी भावना जगाउने काम गरेको छ ।’ युवाहरुले दुई चरण गरेर राहत सामग्री सिन्धुपाल्चोक ल्याएको थियो । ती राहत सामग्रीलाई उनीहरुले कदमबास गाविसको कोदारी, कालिका, सुनखानी, यमुना डाँडा, भैसेको माझी गाउँलगायत क्षेत्रमा वितरण गरेका थिए । सुनकोशी पारीको कालिका गाविसका अशिक्षित, विपन्न पहरी समुदायको घरसम्म राहतको भारी बोकेर युवाहरु आफै पुगेका थिए । उनीहरुसँग निदान समाज काठमाण्डौंका चिकित्सकको टोली पनि थियो, जसले भुकम्पबाट घाइते भएर पनि अस्पताल पुग्न नसकेकाहरुलाई जाँच गर्नुका साथै औषधी पनि दिए ।
भुकम्पले ठुलो जनधनको क्षति भएपछि विदेशबाट करोडौं रुपैया एवं सामग्रीहरु सहयोग आएपनि पीडितहरुसम्म नपुगेको गुनासो चौतर्फी आउन थाल्यो । यसले पनि धराने युवाहरुलाई सबैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोक जाने सोच बनाए । तर, यहाँ आएपछि भने युवाहरु राज्यलाई दोष दिन नहुने निष्कर्षमा पुगेका छन् । ‘हामीलाई ६ गाडी राहत सामग्री सम्बन्धित ठाउँमा पुर्याएर व्यवस्थितरुपमा वितरण गर्न त ६ दिन लाग्यो भने राज्यलाई यति धेरै जिल्लामा पुर्याउनुछ, समय त पक्कै लाग्छ भन्ने अनुभव भयो । राहत भन्दैमा जहीत्यही फाल्न पनि नहुने रहेछ’–राईले थपे–‘तर, राज्यले भरपर्दो संयन्त्र बनाएर विरतण गर्नुपर्छ ।’ भुकम्पको पीडापछि विश्वभरका नेपालीले एकता प्रर्दशन गरेको भन्दै उनले युवाहरु सही मार्गदर्शन गर्दा जे पनि गर्नसक्छन् भन्ने अनुभूति गरेको बताए ।
अघिल्लो पुस्ताले वर्तमान युवा पुस्ता देशप्रति जिम्मेवार छैनन् भन्ने टिप्पणी गर्छन् । तर, महाभुकम्पको उद्दार, राहतमा सक्रिय युवा पुस्ता देखेर धरान प्याराग्लाइडिङ क्लबका संयोजक एवं ओसिस बोर्डिङ स्कुलका प्रिन्सिपल लेखमणी राई खुशी व्यक्त गर्छन् । ‘अहिलेका युवापुस्ता जिम्मेवार छैनन् भन्ने लाग्थ्यो, तर अहिले युवाहरुले जुन भावना प्रर्दशन गरे, यो देखावटी होइन’–उनले भने–‘द्धन्दले मानवीयता तहसनहस पारेको थियो, अहिले राजनीतिकभन्दा मानवीय कुरामा नेपालीहरु जुट्न थालेको छ, मावनीयता मरेको छैन, यो ज्यादै सह्रानीय पक्ष हो ।’ धरानबाट राहत लिएर आएको युवाहरुको टोलीले शुरुमा आफैबाट राहत संकलन शुरुवात गरे । त्यसपछि नजिकका आफन्तजन, साथीभाईलाई अभियान सुनाए । फेसबुकबाट अपिल गरे । उनीहरु घरघरमा डुल्नै परेन । कसैले चाउचाउ, कसैले च्युरा, कसैले विस्कुट, म्याट, औषधी त कसैले ब्लांकेट उपलब्ध गराएका थिए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे