धरानका ४५ सालअघिको भवन बढी जोखिमपुर्ण


धरान । चैत १२ र २९ गतेको भुकम्पले धरान ४, छाताचोकस्थित पुर्नस्थापना गृहलाई ठुलो क्षति त भएन, तर भवन झण्डै चार दशक पुरानो भएकोले गृहमा रहेका ३० बालबालिका र वृद्धवृद्धाहरु बाहिरै बस्ने गरेका छन् । यो भवनले ०४५, ०६८ र ०७२ सालको भुकम्प थेगिसकेकोले अब भने जोखिममा रहेको गृह प्रमुख भिम राईको भनाई छ ।
यस्तै, गृह नजिकै रहेको शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरु पनि मनमा डर बोकेर चौबिसै घण्टा उपचार सेवामा छन् । स्वास्थ्य चौकीसमेत रहेको केन्द्रको भवन पनि चार दशकअघि पिलरविना बनेको हो । बैशाख १२ र २९ गतेको भुकम्पले ठाउँ ठाउँमा चर्काएको छ । चौबिसै घण्टा प्रसुति सेवा दिनुपर्ने ठाउँको भवन जीर्ण हुदा त्यहाँ कार्यरतहरु मानसिक त्रासमा छन् । ‘भवन सुरक्षित छैन, तरपनि चौबिसै घण्टा सेवामा बस्नुपर्छ । राती त डिउटी नपरेपनि हुन्थ्यो जस्तो लाग्छ’–शहरी स्वास्थ्य केन्द्रकी अनमी मोहनकुमारी राईले भनिन्–‘डेलिभरी गर्दागर्दै भुइचालो आइदियो भने त झन् आमा र बच्चा दुवैलाई खतरा हुन्छ ।’
गत बैशाख १२ र २९ गते गएको भुकम्पले धरानमा विगतमा जस्तो ठुलो क्षति गरेन । जनधनको ठुलो क्षति नभएपनि धरानका कतिपय निजी घर, विद्यालय भवन र सरकारी भवनहरु भने चर्किएका छन् । तीमध्ये केही त प्रयोग गर्नै नमिल्नेसमेत देखिएको छ । धरानका पूर्नस्थापना गृह र शहरी स्वास्थ्य केन्द्रको जस्तो पुरानो पिलरविनाको भवनहरु भुकम्पको धेरै जोखिममा रहेको प्राविधिकहरुको भनाई छ । भुकम्प पछि उपमहानगरपालिकाको कार्यालयमा घर चर्किएको भन्दै बस्न ठिक छ छैन भनेर प्राविधिकरुपमा निरीक्षण गरिदिन आग्रह गर्दै थुप्रै निवेदन परेका छन् । उपमहानगरका इञ्जिनियरलाई ती घर, भवनहरु निरीक्षण गर्न अहिले भ्याइनभ्याइ छ ।
उपमहानगरका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार नेपालमा देखिएको ९२ वटा भुकम्पको एक्टिभ फल्ट्समध्ये एउटा धरानको जमिन मुनि भएको खानी तथा भुगर्भ विभागले ०५८ सालमा नै पत्ता लगाएको थियो । चार दशकअघि बनेर आयु सकिन लागेका ती भवनले ६.५ रेक्टरस्केल माथिको भुकम्प थेग्न सक्दैन । ‘खानी तथा भुगर्भ विभागले ०५८ सालमा धरान र आसपासको क्षेत्रमा ३ वटा चिरा छ भन्ने पुष्टि गरेको थियो । त्यसमध्ये पनि एउटा बढी नै सक्रिय(मेन फ्रन्टल थ्रस्ट) छ’–इञ्जिनियर श्रेष्ठले भने–‘धरान नजिकै केन्द्रविन्दु भएर भुइचालो आउदा पुराना घरहरुले थेग्न सकदैन ।’ इञ्जिनियर श्रेष्ठका अनुसार भुगर्भ विभागले अध्ययन गर्दा सबैभन्दा बढी सक्रिय फल्ट्स निराजन बस्तीको आसपास भएर बजार, छाताचोक हुदै पश्चिम सर्दुखोलातर्फ गएको छ ।
 ०४५ सालमा उदयपुर जिल्ला केन्द्रविन्दु भएर गएको ६.८ रेक्टरस्केलको भुकम्पले धरानमा ठुलो जनधनको क्षति भएको थियो । यसपाली बैशाख १२ गते गोरखाको वारपाक र २९ गते दोलखा केन्द्रविन्दु बनाएर गएको भुकम्पले विगतमा जस्तो क्षति भएन । तर, ०४५ सालमा बचेका तिनै पुरानो घर, सरकारी कार्यालय एवं भवन आचारसंहिताविपरीत बनेका स्कुलहरुको भवन भने धेरैजसो क्र्याक भएको इञ्जिनियर श्रेष्ठले बताए । बैशाख १२ को भुकम्प पछि मौखिकरुपमा घरको अवस्था हेरिदिन आग्रह भएपनि बैशाख २९ पछि भने धेरैले नगरपालिकामा निवेदन दिएका छन् । ‘लिखितरुपमा नै ३१ वटा निवेदन आइसक्यो, प्राविधिक जनशक्ति थोरै छौं । चर्केको घर, भवन हेर्न नै भ्याइएको छैन’–इञ्जिनियर श्रेष्ठले भने–‘धरानको कुल घरमध्ये २० प्रतिशत ०४५ सालअघिको हो, ती बढी जोखिममा छन् । अनुगमन गर्दा सामुदायिक स्कुलहरु पनि धेरै जोखिममा रहेको पायौं ।’ अनुगमनमा जादा शिक्षा सदन उमाविको मुख्य भवनको भुईतल्ला नै जोखिममा रहेकोले कक्षा नचलाउन प्राविधिक टोलीले सुझाव दिएको छ भने पब्लिक मावि फुस्रेको ३ वटा कक्षा कोठा र पब्लिक उमावि चतरालाईनको माथिल्लो तलामा कक्षा चलाउन सुझाएको थियो ।
इञ्जिनियर श्रेष्ठका अनुसार ३३ हजार घरमध्ये ०६४ साल पछि बनेका करिब ६ हजार घर मात्रै कुनै न कुनै रुपमा भुकम्प प्रतिरोधी बनेका छन् । ०४५ सालअघि बनेका बजार क्षेत्रको २० प्रतिशत अर्थात करिब ६ हजार घर बढी जोखिममा छन् । ती घरहरु पिलरविनाको गाह्रोवाला मात्रै हुन् । त्यसको तुलनामा ०४५ देखि ०६४ सम्ममा बनेका घर कम जोखिमपुर्ण रहेको इञ्जिनियर श्रेष्ठले बताए । ‘यसपाली केन्द्रविन्द धरानभन्दा धेरै टाढा भएकोले मात्रै क्षति कम भएको हो, नजिकै पर्यो भने धेरै क्षति हुनसक्छ’–उनले भने–‘पुराना घर, भवनहरुलाई प्राविधिकरुपमा मर्मत गरेर वा नयाँ बनाएर बस्न योग्य बनाउनु अतिजरुरी छ ।’ घर निरीक्षणमा उपमहानगरपालिकाका सिमित इञ्जिनियरले समय दिन गाह्रो भएपछि आइतबार पूर्वाञ्चल इञ्जिनियर क्याम्पसका शिक्षक, विद्यार्थी एवं इञ्जिनियर एशोसिएशनलाई आग्रह गरेर टोली खटाउने बिहिबारको सर्वदलीय बैठकले निर्णय गरेको कांग्रेस नगरसपभाति किसोर राईले बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे