धराने युवाहरु जस्तापाता लिएर ओखलढुंगा जादै

धरान । बैशाख १२ गते गएको महाभुकम्प र त्यसपछिको पराकम्पनबाट घरबारविहिन भएका पीडितहरुलाई राहत वितरणमा सक्रिय धराने युवाहरुको टिम सभे नेपाल, धरान ठिक एक महिनापछि पुनः राहत लिएर पूर्वको ओखलढुंगा जाने भएको छ । युवाहरुको टिमले अस्थायी घर(टहरा) निर्माणको लागि आवश्यक जस्ता पाता लिएर मंगलबार(जेठ १२ गते) बिहानै ओखलढुंगातर्फ प्रस्थान गर्ने जानकारी दिएका छन् ।
ओखलढुंगाको प्राप्चा गाविस ८ र ९ वडाका भुकम्प पीडितहरुलाई ती जस्तापाता वितरण गरिने सेभ नेपालका संयोजक योगेन राईले जानकारी दिए । उनका अनुसार प्राप्ता गाविसको वडा ८ र ९ का ४५ जना घर परिवार भुकम्प पछि पहिरोको त्रासमा भएकाले पुर्नबास गर्नुपर्ने अवस्था छ । ती घर परिवारले अन्यत्र सुरक्षित स्थानमा पुर्नबास गराउन जिल्ला दैवि प्रकोप उद्दार समितिलाई लिखित निवेदन पनि दिइसकेका छन् । ‘प्राप्चाको दुई वटा वडाका ४५ घरपरिवारलाई अन्यत्र पुर्नबास गराउनुपर्ने अवस्था रहेछ, उहाँहरुलाई नै अस्थायी टहरा बनाउन भएपनि सहयोग पुगोस् भनेर जस्तापाता लिएर जादैछौं’–संयोजक राईले भने ।
युवाहरुको टिमले ५२ वण्डल जस्ता पाता लिएर ओखलढुंगा जादैछन् । यसबाहेक १०५ थान म्याट र केही थान ब्लांकेट पनि साथमा रहेको युवाहरुले बताएका छन् । सामाग्री हस्तान्तरण गर्न राजेश लिम्बूको नेतृत्वमा ९ जना युवाहरुको टोली ओखलढुंगा जानेछ । टोलीले प्राप्चा गाविसका सम्न्धित पीडितहरुलाई नै सामाग्री हस्तन्तरण गर्ने टिम लिडर लिम्बूले बताए । ‘हामी सकेसम्म पीडितहरु बसेको स्थानमा नै पुर्याउनेछौं, त्यहासम्म पुग्न नसकेपनि पीडितहरुकै हातमा जिम्मा दिनेछौं’–उनले भने ।सेभ नेपालको टिमले यसअघि पनि सबैभन्दा बढी धनजनको क्षति भएको सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा दुई चरणमा गएर राहत सामग्री वितरण गरेको थियो । त्यतिबेला युवाहरुले आफै सामग्री बोकेर पीडितहरुकै घर घरमा त्रिपाल, म्याट, चाउचाउ, चिउरालगायत सामग्री पुर्याएका थिए । रोयल इष्टर्न इन्फिल्डर्स, साइक्लिङ, प्याराग्लाइडिङलगायत विभिन्न क्षेत्रका युवाहरु टिममा संलग्न छन् । पहिलो र दोस्रो चरणमा विभिन्न व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त रकमले पुनः जस्तापाता लैजान लागिएको हो । यो टिमलाई इटहरी निवासी साधना लिम्बूको पहलमा विदेशबाट प्राप्त एक लाख ५० हजार बराबरको पनि थप सहयोग प्राप्त भएको छ । सिन्धुपाल्चोक पनि गएकी उनी यसपाली ओखलढुंगा पनि जादैछिन् । उनका अनुसार युके क्यामडेन टाउन टिम श्री सिदार्थमार्फत डेढ लाख रुपैया सहयोग भएको छ भने केन्ट वर्ड, युके(लिला लिम्बू), नरेन्द्र चौधरी(युके) र लुमा खर्चुङ(अमेरिका)बाट पनि सहयोग भएको छ ।




Comments
Post a Comment