हावाहुरीले रुख लडेर किच्दा महिला डाक्टरको मृत्यु


धरान । शनिबार राती आएको हावाहुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको रुख लडाउदा त्यही कार्यरत एक डाक्टरको मृत्यु भएको छ । राती करिब साढे ८ बजे टेनिस कोर्ट अघि रुख ढलेर किच्दा प्रतिष्ठानको एनाटोमी विभागकी जुनियर रेजिडेन्ट २७ बर्षीय डाक्टर रञ्जना देवकोटाको मृत्यु भएको हो ।
मृतक देवकोटा गोरखा जिल्लाबाट अध्ययन गर्न प्रतिष्ठान आएकी हुन् । उनले प्रतिष्ठानबाटै एमबिबिएस उर्तीण गरेकी थिइन् भने हाल एनाटोमीमा एम.डि.पहिलो बर्षमा अध्ययनरत पनि थिइन् । शनिबार राती एक्कासी ठुलो हावाहुरी चलेको थियो । त्यतिबेला देवकोटासहित तीन जना साथी बाटोमा हिडिरेका थिए । रुख ढल्दा उनी किचिए पनि साथीहरु भने सकुशल नै रहेको प्रतिष्ठानको आकस्मिक कक्षस्थित प्रहरी विटका इञ्चार्ज सई तिलक गिरीले जानकारी दिए । ‘हावाहुरीले रुख लडाउदा हागाले किचेको रहेछ, उहाँको मृत्यु भएपनि अरु भने जोगिनुभएको छ’–सई गिरीले भने ।
प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दै भविष्यमा घटना दोहोरिन नदिन सचेतता अपनाउने जनाएको छ । प्रतिष्ठानका डेपुटि निर्देशक एवं प्रवक्ता डाक्टर पशुपति चौधरीले प्रतिष्ठान हाताभित्रको पुराना र बुढो रुखहरुलाई हटाउन वन कार्यालयसँग समन्वय गर्ने बताए । ‘जुन घटना भयो, यो ज्यादै दुःखदायी छ । यो घटनाबाट पाठ सिकेर अब सजग हुनुपर्छ’–उनले भने–‘यहाँ धेरै पुराना रुखहरु छन्, तिनलाई हामीले मात्रै हटाउने अधिकार छैन, भविष्यमा यस्तो घटना नहोस् भनेर वन कार्यालयसँग समन्वय गछौं । पुरानोलाई हटाएर नयाँ विरुवा रोप्ने र अरु रुखको हाँगाविगा काटेर भएपनि सजगता अपनाउनुपर्छ ।’
प्रवक्ता चौधरीका अनुसार मृतक देवकोटाको शवलाई पोष्टमार्टम गरेर सोमबार चितवनको देवघाट पठाइनेछ । परिवारजनको इच्छा वमोजिम नै देवघाटमा अन्येष्टि गरिन लागेको र गोरखाबाट परिवारजन पनि आउने उनले बताए । तत्कालीन ब्रिटिश घोपा क्याम्प रहदा प्रतिष्ठान हाताभित्र थुप्रै रुख, विरुवा रोपिएको थियो । चार दशक भन्दा अघि रोपिएका ती कतिपय रुखहरु सडक दायाँबाया छन् । बुढा ती रुखहरु हावाहुरीको बेला ढलेर धनजनको क्षति हुने खतरा हुन्छ ।
शनिबार राती आएको हावाहुरीले अन्यत्र मानवीय क्षति नगरेपनि जिल्लाको विभिन्न भेगमा भौतिक क्षति पुगेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी रविराज पन्थले बताए । उनका अनुसार प्रहरीमार्फत क्षतिको विवरण संकलन भइरहेको छ । हावाहुरीले ठाँउ ठाउँमा विजुलीको पोल ढालिदिएको छ भने कतै रुख ढलेर विजुलीको तारमा क्षति पुगेको छ । यसैगरि, किसानको केराखेती धेरै नोक्सानी गरेको छ भने रामधुनी जंगलमा थुप्रै रुख लडेको पनि प्रशासन कार्यालयले जनाएको छ । यस्तै, धरान १७ स्थित सुनुवार सेवा समाजको स्यादर थान, नेपाल शेर्पा संघको स्वामित्वमा रहेको क्षेत्र र किरात राई यायोक्खाको साकेला थानमा हावाहुरीले करिब चार दर्जन रुख लडाएको ती संघसंस्थाले जानकारी दिएको छ । सुनुवार समाजका जिल्ला सचिव गजेन्द्र मुखियाका अनुसार स्यादर थानमा २४ वटा टिकको रुख लडेको छ भने साकेला पार्कमा १७ वटा र शेर्पा संघमा ४ वटा रुख लडेका छन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे