विपन्न बालबालिकाहरुको सहयोगार्थ धरानमा च्यारिटी गजल साँझ


धरान । संसारलाई नै स्तब्ध पार्ने गरि आएको बैशाख १२ गते महाभुकम्पको बेला चर्चित गायक प्रमोद खरेल अमेरिकामा लामो सांगीतिक यात्रामा थिए । अमेरिकाको विभिन्न २५ वटा शहरमा हुने सांगीतिक कार्यक्रममध्ये १० वटा मात्रै सकिएको थियो । तर, महाभुकम्पले देशमा विध्वंश मच्चाएपछि उनको यात्रा रोकियो । बाँकी शहरको कार्यक्रम स्थगित गरेर उनको टोली स्वदेश फर्कियो ।
महाभुकम्प पछि सम्पुर्ण देशबासी पीडामा छन् । कोही रात संकलन, वितरणमा ब्यस्त छन् भने कोही अस्थायी भएपनि भुकम्प पीडितलाई बस्ने संरचना बनाउन तल्लिन छन् । राष्ट्रलाई महाविपत्ति आइलागेको बेला कलाकारहरुले पनि गीत गाउने र रमाउने माहौल नै छैन । सांगीतिक कार्यक्रम रोकेर स्वदेश फर्किएयता गायक खरेल पनि भुकम्प पीडितहरुलाई राहत संकलन, वितरणमा समय विताउदै थिए । तर, आइतबार साँझ भने उनी धरानको एक सांगीतिक कार्यक्रममा झुल्किए । ‘सधैंको जस्तो गीत गाउने, रमाउने माहौल छैन । अरुतिर भए जाने थिइन तर यहाँ सहाराविहिन र विपन्न बालबालिकाको सहयोगार्थ सामाजिक कार्यको लागि भएर मात्रै आएको हुँ’–भानुचौकस्थित गोर्खाकिचनको छतमा आयोजित कार्यक्रममा आउनुको कारण प्रष्ट्याउदै उनले भने–‘अरुतिरको धेरै कार्यक्रम रद्द गरेको छुँ, देश रोइरहेको बेला हामी कलाकारले पनि सेवा गर्न चुकेका छैनौं, सबैले सहयोग गरिरहेकै छौं ।’
गजल सांगीतिक कार्यक्रम भएपनि माहौल भुकम्पमय नै बनेको थियो । भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलीस्वरुप मैनबत्ति बालेर र एक मिनेट मौनधारण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो भने गायक खरेलले बीच बीचमा भुकम्प र त्यसबाट प्रभावितहरुलाई राहत दिलाउने प्रसंग झिकिरहे । मात्र ६ वटा सेन्टिमेन्टल गीत गाएका उनले आफ्नो प्रस्तुती पनि भुकम्पको पीडा र पुर्ननिर्माणको आह्वान गरेको गीतबाट शुरु गरेका थिए । जब देश दुख्दैछ, मन देख्दैछ हेर, केही गर्नुछ अब हातेमालो गरेर देश फेरी सजाउने हो पीडामा महलम लगाउन, उठौं आज जुटौं आज..बोलको पहिलो गीतले नै स्रोतलाई भावुक बनायो । ‘हामी कलाकार मिलेर काभ्रेमा ५० वटा घर बनाइदिदैछौं, म भोलीनै त्यहाँ जादैछु । विदेशबाट सहयोग आइरहेको छ, विदेशीकाहरुलाई हामी पलायन भएको भन्छौं, तर अहिले विदेशमा रहेका नेपालीहरुले नै यति सहयोग गरेका छन् कि उहाँहरुमा सच्चा देशभक्ति झल्किएको छ’–गायक खरेलले भने ।
कार्यक्रममा उनले याद गर्न पनि.., म बिना कसै कसैलाई.., उसले जति माया मैले.., डुबायो पापी मायाले र छुटिएर तिमीसँग..बोलको गीत मात्रै प्रस्तुत गरे । ‘देशमा राम्रो हुदै गएपछि धेरै गीत गाउला । देशमा राम्रो होस, सबैलाई राम्रो होस, देशको उन्नति हुदा मात्रै सबैको राम्रो हुन्छ’–प्रस्तुती विट मार्नेक्रममा उनले भने ।
गजल सांगीतिक कार्यक्रम हाल बेलायतमा रहदै आएका धरानका युवा प्रदिप कोयी राईले स्वर्गीय समाजसेवी आमा विष्णुमाया कोयीको स्मृतिमा आयोजना गरेका थिए । कार्यक्रमको टिकट बिक्रीबाट उठेको सम्पुर्ण उनले रकम सुकुम्बासी बालबालिकाहरु पढ्ने धरान १७ स्थित सयपत्री बालबिकास केन्द्र र सहाराविहिन शर्मिला राई, प्रतिक राईलाई प्रदान गरेका छन् । ‘आमा समाजसेवामा सक्रिय हुनुहुन्थ्यो, उहाँको स्मृतिमा परोपकारी उद्देश्यको लागि कार्यक्रम गर्ने पहिलादेखिकै मेरो चाहना थियो । देश भुकम्पको पीडामा भएपनि सामाजिक कामको लागि नै भएकोले कार्यक्रम गरेको हो’–आयोजक कोयी राईले भने । टिकट बिक्रीबाट उठेको मध्ये बालबिकास केन्द्रलाई नगद २० हजार, शर्मिला र प्रतिकलाई जनही ५/५ हजार रुपैया प्रदान गरेका थिए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे