ओखलढुंगाका विस्थापितलाई धराने युवाहरुद्धारा जस्तापाता सहयोग(फोटोफिचर)


धरान । बैशाख १२ र २९ गतेको भुकम्प र त्यसपछिको पराकम्पनको कारण पहिरोकोसमेत जोखिममा परेका ओखलढुंगा जिल्लाको प्राप्चा गाविस ८ र ९ का विस्थापित परिवारलाई युवाहरुको टिम सेभ नेपाल, धरानले जस्तापाता, बेन्डिङ तार र म्याट वितरण गरेको छ ।
प्राप्चा ८ र ९ वडास्थित केउरेनीका ४५ घरपरिवारको भुकम्पले घरलाई क्षति मात्रै पुगेको छैन, श्रीचउर डाँडाबाट निरन्तर पहिरो गइरहेकोले उनीहरु त्यहाँबाट विस्थापितसमेत हुनुपरेको छ । भुकम्पले क्षति पुगे पनि घरनजिकै अस्थायी टहरा बनाएर बस्ने उनीहरुको चाहना छ, तर डाँडा चिरिएर जुनसुकै बेला खस्ने डर छ भने अहिले पनि सुख्खा पहिरो गइरहेको छ । बर्खामा चिरिएको स्थानमा पानी पसेर डाडै खस्ने त्रासले उनीहरु घर खेत छाड्न बाध्य छन् । कतिपय पीडित आफ्नै बेसीको जग्गामा छन् भने विपन्न परिवार अन्य वडामा कमाइदिने वा पैसा तिर्ने सर्तमा जग्गामा बासको चित्राले अस्याथी टहरा बनाएर बसेका छन् । राज्यको तर्फबाट उनीहरुले मात्रै एउटा त्रिपाल र एक बोरा चामाल पाएका छन् ।
ओखलढुंगा सदरमुकामबाट १६ किलोमिटर पश्चिममा रहेको वरुणेश्वर गाविस ३, रामपुरसम्म मात्रै गाडी जान्छ । त्यहाँबाट ओरालो झरेर झोलुङ्गे पुल हुदै पुनः ठाडो उकालो हिडेपछि करिब ३ घण्टामा मात्रै विस्थापित परिवार बसेको ठाउँमा पुग्न सकिन्छ । सेभ नेपालको जस्ता पाता त्यहाँसम्म पुर्याउन गाउँको सृर्जनशील युवा समुह र विस्थापितहरु नै रामपुरसम्म आएका थिए भने धराने युवाहरुले पनि जस्तापाता काँधमा बोकेर पुर्याएका थिए । ओखलढुंगा जिल्लामै पहिलो पटक पीडितको हातसम्म जस्तापाता पुगेको भन्दै विस्थापित परिवार, शिक्षक, समाजसेवीहरुले सेभ नेपाल टिमको प्रसंसा गरेका थिए । उनीहरुले फुलमाला र अबिरले टिमलाई स्वागत गर्दै धन्यवादसमेत दिएका थिए ।
सेभ नेपालले श्रीचउर डाँडाको पहिरोको डरले केउरेनीबाट विस्थापित हुनपुगेका ४५ मध्ये ४३ घरपरिवारलाई प्रतिघर एक बण्डल अर्थात ९ थान जस्तापाता, जस्ता बाध्न प्रतिघर एक किलो अल्मुनियम तार र २ थान म्याट वितरण गरेको थियो । यस्तै, घले डाँडाको पहिरोको डरले प्राप्चा ३ मगर गाउँका १० परिवार पनि विस्थापित भएको जानकारी पाएपछि ती परिवारलाई पनि प्रतिपरिवार एक बण्डल(६ थान जस्ता), तार र एक थान म्याट वितरण गरिएको टिम लिडर राजेश लिम्बूले जानकारी दिए । यस्तै, सुत्केरीको लागि ११ थान ब्ल्याङ्केट प्रदान गरिएको थियो भने उद्दार, पुर्ननिर्माण र राहत वितरणको व्यवस्थापनमा सक्रिय सृर्जनशील युवा समुहलाई इटहरी निवासी सेभ नेपाल टिमकी सदस्य साधना लिम्बूले ५ हजार ५ सय रुपैया हस्तान्तरण गरेकी थिइन् । सामाग्री हस्तान्तरण गर्न राजेश लिम्बूको नेतृत्वमा ८ जना युवाहरुको टोली ओखलढुंगा गएको थियो । सेभ नेपालको टिमले यसअघि पनि सबैभन्दा बढी धनजनको क्षति भएको सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा दुई चरणमा गएर राहत सामग्री वितरण गरेको थियो ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे