भुकम्पबाट बचेका दिदी-भाईलाई मदरहुडले पढाउने जिम्मा लियो
धरान । दुई साताअघिको महाभुकम्पमा आफ्ना भाई र बाहिनी बचाउन सफल कालिका गाविस ९, सिन्धुपाल्चोककी ७ बर्षीय सुजिता पहरी र उनको भाईलाई ललितपुरको एक संस्थाले पढाउने जिम्मा लिएको छ । ललितपुरको हात्तिवनस्थित मदरहुड केयर नेपालले सुजिता र उनको ६ बर्षीय भाई सुजनलाई कक्षा १२ सम्म पढाउने जिम्मा लिएको हो । दुवै बच्चा हाल उक्त संस्थामा पुगिसकेका छन् ।
बैशाख १२ गतेको महाभुकम्पमा सुजिताले भाई र बहिनी बचाएको समाचार प्रकाशित भएपछि मदरहुडका कर्मचारी उनीहरुको घरमै पुगेका थिए । संस्थाको प्रस्ताव अभिभावकले स्वीकार गरेपछि बुबा सम्मरबहादुरसहित सुजिता र सुजन आइतबार ललितपुरस्थित संस्थामा गएका थिए । ‘हामी पढाईदिन्छौं, के गर्नुहुन्छ भन्दै संस्थाका मान्छे आए । मैले नै हुन्छ भनेर बुबासँगै दुई जना नानीलाई पठाइदिएको छु । उनीहरुको भविष्य राम्रो बन्छ जस्तो लाग्यो’–आमा सम्झना पहरीले फोन सम्पर्कमा भनिन् ।
भाई बहिनी बचाउने बालिकाबारे समाचार पढेपछि सोधीखोजी गर्दै गाउँमा पुगेर कक्षा १२ सम्म पढाइदिने प्रस्ताव गर्दा आमाबुबा खुशी भएको संस्थाका अध्यक्ष बिक्रम लिम्बूले बताए । ‘सुजिताको बहादुरीपनबाट प्रभावित भयौं, परिवार ज्यादै गरिब रहेछन्, भुकम्पले झनै पीडित बनाएको छ’–अध्यक्ष लिम्बूले भने–‘आमा बुबाकै इच्छा र स्वीकृतिमा दिदीभाईलाई पढाउन ल्याएका छौं, उनीहरुको बुबा पनि संस्थामा आएर सबै बुझेर फर्किनुभएको छ ।’
Comments
Post a Comment