जसको लागि बोलिदिने कोही छैन
सिन्धुपाल्चोक । महाभुकम्प गएदेखि पेटभरी अन्न परेको थिएन । केही व्यक्तिले दिएको दुई पाथी चामल रित्तिसकेको थियो । लाठीको सहाराविना उनी हिड्न सक्दिनन् । गाविसले एक एक बोरा चामल बाँडिरहेको खबर सुनेपछि आफुले पनि पाउने आशामा यमुना डाँडा गाविस २, सिन्धुपाल्चोककी यी ७० बर्षीय सिता भुजेल नाम्लो बोकेर आइन् ।
भुकम्पको आठौं दिनमा गाविसले चामल बाँड्ने स्थानमा पुग्दा सयौं गाउँलेहरुबीच चर्को विवाद भइरहेको थियो । त्यो दृष्यले उनी हरेश खाइन् । गाउँलेबीच एक घरलाई एक बोरा कि दुई घरलाई एक बोरा चामल दिने विवाद भइरहेको थियो । उनी भने जति दिएपनि चामल लैजाने पक्षमा थिइन् । तर, उनको चाहना बुझिदिने कसले ? गाविसले एक बोरा चामल दुई घरपरिवारलाई बाडेको भोलिपल्ट कृष्ण प्रणामी नामको संस्थाले पनि गाउँमा राहत बाड्ने तयारी गर्यो । गाविसभरिका मानिस भेला भए, वृद्ध सिता पनि पुगिन् । तर, वितरणको क्रममा लुटपाटको शैलीमा राहत सामग्री खोसिएपनि उनी रित्तै घर फर्किइन् । ‘खै बाबु, हाम्रो लागि बोलिदिने त कोही छैन, खानै नपाएर मरिन्छ होला’–उनले निराशा व्यक्त गरिन् ।
उनको श्रीमान् पक्षघात झै थलिएका छन् । वृद्ध भुजेल दम्पत्तिको साथमा छोराछोरी पनि छैन, जसले दुःख आइपर्दा र बुढेसकालमा सहारा दियोस् । बिहे भएर गइसकेकी एक छोरीको भुकम्पले उतै कान्तविजोग बनाइदिएको छ । उनीहरुको अरुको झै खेतीयोग्य जमिन छैन । भएपनि यो उमेरमा गर्न काम गर्न सक्ने अवस्था होइन । अर्काको बारीमा झुपडी हालेर बसेका थिए, त्यही पनि बैशाख १२ गतेको भुकम्पले ध्वस्त बनाइदियो । अर्काको घरमा अस्थायी टहराझै बनाएर शरणलिएका छन् । त्रिपाल पाएका छैनन्, झरी र हुरीवतासले जतिबेला पनि उनीहरुको अश्रयलाई उडाउन सक्छ । गाविसले बाँडेको चामलले कति नै दिन थेग्छ र ?
भुकम्पको १२ औं दिनमा उनै वृद्धा ३ घण्टा बढी पैदल यात्रा गरेर सुनकोशी पारी कदमबास ५, च्याने भन्ने ठाउँमा पुगिन् । त्यहाँ धरानबाट गएका युवाहरुको राहत टोली अस्थायी बेसक्याम्प बनाएर बसेको थियो । ‘केही खान पाएको छैन बाबु’–वृद्धाको पीडा सुनेर राहत टोलीले विस्कुट दियो । उनले एउटा कटौरा मागेर विस्कुट पानीमा घोलेर खाइन् । राहत टोलीले उनलाई कम्बल, बिस्कुट, चिउरा, चाउचाउलगायत सामग्रीसमेत दिएर पठायो ।
................
यमुना डाँडा २ का ६३ बर्षीय केशव खड्काले जीवनमा ३ वटी श्रीमति भित्र्याए । तर, कसैसँग पनि उनको दाम्पत्य जीवन टिकेन । तीनै वटी श्रीमतिले छोडेर गए । त्यतिमात्रै होइन, करिब ५ बर्षयता उनको बोली पनि हरायो । कतै हिडडुल गर्न पनि सक्दैनन् । घरमा एक्लै बस्थे । नजिकै दाजु श्याम र भाउजु यशोदा खड्काको घर थियो । उनैले केशवलाई खाना खुवाउथे । तर, भुकम्पको एक झड्काले केशवसँगै दाजु भाउजुलाईसमेत बेघर बनाइदियो । दाई भाउजु आफै यतिबेला के गर्ने भनेर सोच्न सकेका छैनन् ।
भुकम्पको आठौं दिनमा वृद्ध केशव घरको भग्नावशेषमा रुदै ओढ्ने निकाल्ने प्रयास गर्दै थिए, तर सकेनन् । उनका दाजु भाउजु पनि टोलाएर बसिरहेका थिए । ‘केही गर्ने जागर छैन, हाम्रो त सन्तान पनि भएन, हुनेका छोराछोरीले डाङडुङ पारेर ल्याउछन्’–यशोदाले भनिन्–‘के गर्ने गर्ने ?’
बैशाख १२ गते गएको महाभुकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएकोछ । भुकम्पले दिएको चोटले सबै पीडामा छन् । तर, सिता भुजेल, केशव, श्याम र यदोशा खड्का जस्ता वृद्धवृद्धा एवं अशक्तहरुको लागि बोलिदिने र सहारा दिने कोही नहुदा झनै विजोग छ । ‘जुन घरमा बुढाबुढीहरु मात्रै छन्, राहत वितरण गर्ने ठाउँसम्म पुग्नै गाह्रो छ, उहाँहरुको त झनै विजोग अवस्था छ’–स्थानीय बद्री खड्काले भने ।
Comments
Post a Comment