इमान्दार भए बन्छ सुरक्षित घर
धरान । बैशाख १२ र २९ गतेको भुकम्पले छोराबुहारीको घरको तेस्रो तलामा बिम क्र्याक भएपछि ८१ बर्षीय पूर्व ब्रिटिश गोर्खा मेजर झप्तमान लिम्बू शुक्रबार धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठलाई भेट्न गए । घरको स्थलगत निरीक्षण गरिसकेका इञ्जिनियर श्रेष्ठले तेस्रो तलामा नबस्न आग्रह गर्दै प्राविधिकको प्रत्यक्ष रेखदेखमा फलामको प्लेट लगाएर मर्मत गर्न सुझाव दिए । ‘तेस्रो तलाको बिम क्र्याक छ, त्यसैले इञ्जिनियरसँग सल्लाह गर्न आएको । आफुखुशी बनाउनु भन्दा इञ्जिनियरको प्रत्यक्ष रेखदेखमा बनाउदा वलियो र सुरक्षित हुन्छ नि’–पाका लिम्बूले नागरिकसँग भने ।
पूर्व गोर्खा मेजर लिम्बू बाहिरिएलगत्तै निर्माण व्यावसायी प्रमेश ताम्राकार इञ्जिनियर श्रेष्ठको कार्यकक्षमा पसे । ‘तेस्रो तलाको ढलाई भइसकेको घरलाई के गर्ने सर ? फिनिसिङ गर्न मिल्छ कि मिल्दैन ?’–व्यावसायी ताम्राकारको यो जिज्ञासाप्रति इञ्जिनियर श्रेष्ठले भने–‘ढलाई नै सकेर फिनिसिङ गर्नमात्रै बाँकी हो भने त मिल्छ, २ तलामाथिको काम भर्खर शुरु हुनलागेको भए रोक्नुपर्छ ।’ इञ्जिनियर श्रेष्ठले सरकारले नयाँ घरनक्सा दर्ता नगर्न, दर्ता भएर इजाजत लगेको भएपनि काम शुरु नभए रोक्न र काम शुरु भएको खण्डमा २ तलामाथि बनाउन नदिन स्थानीय निकायलाई परिपत्र आएको प्रष्ट पारे । ‘हामीले १८ वटा घर बनाइरहेका छौं, सरकारले नयाँ नियम लागु गर्यो भनेर घरधनीहरु आत्तिइरहनु भएको छ’–बेजिल निर्माण सेवाका ताम्राकारले भने–‘हामीले बुझ्यौं भने न घरधनीलाई राम्रोसँग बुझाउन सक्छौं ।’
धरानमा ०६४ सालदेखि भवन आचारसंहिता लागु भएको हो । त्यतिबेला उपत्यकामा काठमाण्डौं र ललितपुरपछि संहिता लागु गर्ने धरान तेस्रो नगर थियो भने उपत्यकाबाहिर पहिलो नगरपालिका थियो । उपत्यकामा संहिता उल्लंघन गरेर भवन ठड्याउने होडबाजी भइरहदा धरानले भवनसंहिता लागु मात्रै गरेन, कार्यान्वयनमा सफल पनि भयो । त्यसयता यहाँ करिब ६ हजारको हाराहारीमा भुकम्प प्रतिरोधी एवं भवन संहिता मापदण्ड वमोजिम भवनहरु निर्माण भइसकेका छन् । संहिता कडाईका साथ कार्यान्वयन हुनुमा स्थानीय निकायको इच्छाशक्ति र पूर्वगोर्खा मेजर लिम्बू जस्ता घरधनी एवं ताम्राकारजस्ता सचेत निर्माण व्यावसायीको प्रमुख हात रहेको इञ्जिनियर श्रेष्ठ बताउछन् । ‘यहाँ अग्ला व्यापारीक भवन कम छन्, धेरै आवासिय घरहरु बने । संहिता लागु भएपछि सबै संरचनालाई संहिताअनुसार नै बनाउन सफल भइरहेका छौं । चाहयौं भने स्थानीय निकायले पनि लागु गराउन सक्छौं’–योजना शाखा प्रमुख श्रेष्ठ भन्छन् ।
ईञ्जिनियर श्रेष्ठका अनुसार धरानले भवन संहितामा उल्लेख भएभन्दा एक कदम अघि बढेर बाध्यकारीरुपमा संहिता कार्यान्वयन गराएको छ । संहितामा एम.आर.टि.(मेन्डाटोरी रुल अफ थम्ब) लागु गर्ने भनिएको छ, जसलाई पारिमार्जन गरेर रेडि टु युज विधि लागु गर्नुपर्ने आवाज उठिरहेको छ । धरानमा भने संहिता लागु भएदेखि नै रेडि टु युज विधि पालना गरिएको छ । यस्तै, धरानले संहितामा भनिएजस्तो ९ वाई १२ को पिलरमा मात्रै सिमित गरेन, एक कमद अघि बढेर १२ बाई १२ को पिलर र सबै पिलरमा ८ वटा डण्डी हुनुपर्ने नियम लागु गर्यो । भवन संहितामा भन्दा बढी कडाई गरिएको नियमलाई कार्यान्वयन गराउन नगरपालिकाले यहाँका निर्माण व्यावसायी र निर्माणकर्मीहरुलाई नै जिम्मेवार बनायो । ‘भवन निर्माणको ग्रास रुट लेभल निर्माणकर्मी र निर्माण व्यावसायीलाई समायौं, उहाँहरुलाई जिम्मेवार बनायौं र मात्रै भवन संहिता पालना गराउन सहज बन्यो’–इञ्जिनियर श्रेष्ठले भने–‘गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्यौं ।’
योजना शाखाका अनुसार धरानमा कार्यरत निर्माणकर्मी र व्यावसायीहरुलाई संहिता र भुकम्प प्रतिरोधी घरबारे गोष्ठी, कार्याशाला आयोजना गर्यो । तालिम लिने निर्माणकर्मी एवं व्यावसायीले प्रमाणपत्र पाउने र प्रमाणपत्र पाएकाले मात्रै घर बनाउने पाउने प्रावधान बनाइयो । घरनक्सा दर्ता गर्दा निर्माण व्यावसायीले प्रमाणपत्र पेश गर्नुपर्ने र घरधनी, व्यावसायी(ठेकेदार)ले भुकम्प प्रतिरोधी घर बनाउने लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था भयो । निर्माण व्यावसायीहरुको संगठन स्थानय भवन निर्माण व्यावसायी संघसँग मिलेर उपमहानगरले संहिता उल्लंघन गर्नेलाई चार चरणको कारबाहीको व्यवस्था गरियो । पहिलो चरणमा सचेत गराउने, दोस्रोमा प्रमाणपत्र सस्पेन्स गर्ने, तेस्रोमा कालोसुचिमा राख्ने र चौथोमा प्रमाणपत्र नै खारेज गर्ने कारबाहीको व्यवस्था गरिएको थियो । यसलाई अझ परिमार्जन गरेर पहिलो गल्तीमा कालोसुचिमा र दोस्रोमा प्रमाणपत्र खारेज गर्ने व्यवस्था गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
धरान क्षेत्र भुकम्पको उच्च जोखिममा रहेकोले यहाँ ५ तलाभन्दा बढी भवन बनाउन निषेध थियो । गत बर्ष संहिता परिमार्जन गरेर बाटोको चौढाई अनुसार उचाई बढाउने नियम खुकुलो बनाइएको छ । तर, यसमा पनि माटो परीक्षण, भुकम्प प्रतिरोधी डिजाइन, इञ्जिनियरको संलग्नता हुनुपर्नेलगायत प्रावधान छ । ‘अब लागु हुने नहुने चाहि सरकारले बनाउने नयाँ नियममा भरपर्छ’–इञ्जिनियर श्रेष्ठले भने । भवन निर्माण व्यावसायी संघका अध्यक्ष नारायण लिम्बू भवनसंहिता अघि घर बनाउदा निर्माण व्यावसायीहरु सुरक्षाको दृष्टिकोणले कुहिरोको काग झै भएको बताए । ‘हामी त कुहिरोको काग झै थिएछौं, त्यसैले भवन संहिता आएपछि सुरक्षित घर बनाउन हामीले पनि नगरपालिकालाई साथ दियांै । दण्ड जरिवाना र पुरस्कारको व्यवस्था गर्यौं’–उनले भने–‘प्रत्येक सोमबार संयुक्तरुपमा अनुगमन टोली जान्छौं । संहिता पालना गराउन व्यावसायी मात्रै इमान्दार भएर हुदैन रहेछ, कर्मचारीहरु पनि उतिकै इमान्दार र जिम्मेवार हुनुपर्छ ।’ उनका अनुसार हाल धरानमा करिब ७ सयको हाराहारीमा लाइसेन्सप्राप्त निर्माण व्यावसायीहरु छन् ।
Comments
Post a Comment