शनिबारको हावाहुरीले वन क्षेत्रमा व्यापक क्षति

धरान । शनिबार रातीको हावाहुरीले सुनसरीको वन क्षेत्रमा धेरै क्षति पुर्याएको छ । व्यापक क्षति पुगेपनि वास्तविक तथ्यांक भने संकलन भइनसकेको जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला वन अधिकृत ज्ञानेन्द्र मिश्रका अनुसार सम्बन्धित इलाका वन कार्यालय र वन समुहलाई क्षतिको विवरण संकलन गर्न आइतबार नै निर्देशन दिएपनि प्राप्त भइसकेको छैन ।
हावाहुरीले अधिकांश लाथ्रा र बुढो रुखहरु लडाएको प्रारम्भिक जानकारी आएको अधिकृत मिश्रले बताए । हावाहुरीले जंगलको धेरै र भित्री क्षेत्रमा पनि रुख लडाएको हुनाले तत्काल क्षतिको सही विवरण संकलन हुनसक्ने अवस्था नभएको वन कार्यालयको भनाई छ । ‘लाथ्रा र धेरै उचाई भएको पुरानो रुखहरु व्यापक मात्रामा लडेको प्रारम्भिक जानकारी आएको छ, अछुतो कुनै पनि वन क्षेत्र छैन । तर के कति क्षति भएको छ भनेर अहिल्यै भन्न सकिन्न’–जिल्ला वन अधिकृत मिश्रले भने–‘विभागबाट पनि विवतरण माग भइसकेकोले सम्बन्धित वन कार्यालय र समुहलाई विवरण संकलन गर्न आदेश गरिसकेको छौं ।’
जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी रामधुनी वन क्षेत्रमा क्षति भएको प्रारम्भिक विवरण आएको छ । यही मौकामा वन तस्करहरु सक्रिय हुनसक्ने खतरा पनि बढेकोले लडेका रुखहरुलाई जोगाउन पहिलो प्राथमिकता दिइएको अधिकृत ज्ञानेन्द्र मिश्रले बताए । ‘लडेका रुखहरुको सुरक्षालाई प्राथमिकता दिएका छौ । बैठक बसेर वन, प्रहरी र सशस्त्र तिनवटै निकायलाई सुरक्षामा खटाउने भएका छौं’–जिल्ला वन अधिकृत मिश्राले भने–‘जंगल पस्ने नाका एक ठाउँबाट मात्रै छैन, जताततैबाट छिर्न सकिने भएकोले सुरक्षाको चुनौती छ ।’उनका अनुसार तस्करी हुन नदिन प्रहरी र सशस्त्र प्रहरीसमेतको सहयोग लिएर दिन र रात(चौबिसै घण्टा)मा पेट्रोलिङ गरिनेछ । यसको लागि सोमबार दुवै निकायसँग बैठक पनि भइसकेको छ ।
हरियाली वन उपभोक्ता समुहका पूर्वअध्यक्ष एवं जिल्ला वन उपभोक्ता महासंघका सदस्य टेक तामाङका अनुसार वन क्षेत्रमा धेरै रुख लडेकोले चोरी निकासी बढ्न नदिन उपभोक्ताहरुले गस्ती र निगरानी बढाएको छ । समुहरु क्षतिको विवरण संकलन गर्न समुह बनाएर जंगलमा खटिएको पनि उनले जानकारी दिए । ‘वन समुहहरुले पनि गस्ती र निगरानी कडा गरेको छ, तरपनि राती चाहि भन्न सकिन्छ । यसको लागि राज्यको निकायले पनि बिशेष ध्यान दिनुपर्छ’–उनले भने ।
हावाहुरीले रुख लडेर कतिपय क्षेत्रमा सडक बाटो र गोरेटोसमेत छेकिएको इलाका वन कार्यालय धरानका प्रमुख लखनलाल चौधरीले बताए । उनका अनुसार धरानको पानवारी–इटहरी खडकखण्डमा ठाउँ ठाउँमा रुख लडेर बाटो अवरुद्ध बनेको छ भने रेल्वे–भरुवा र फायरलाइनमा पनि रुख लडेर बाटो छेकिएको छ । ‘विभाग, जिल्ला वनले क्षतिको विवरण मागिसक्यो, वन समुहसँग मिलेर हामी विवरण संकलनसँगै लडेका रुखहरुको सुरक्षामा चनाखो भएर खटिएका छांै’–चौधरीले भने–‘जंगलको भित्र भित्रै पनि धेरै रुख लडेको छ, वास्तविक विवरण आउन समय लाग्नसक्छ ।’ उनले शनिबारको हावाहुरीले डेढ दुई हजार रुख लडेको अनुमान गरेका छन् ।
शनिबारको हावाहुरीले जंगल क्षेत्रमात्रै होइन, विभिन्न सामाजिक संघसंस्थाहरुले संरक्षण गरिरहेको रुखविरुवा पनि धेरै क्षति पुर्याएको छ । धरान १७ स्थित किरात राई यायोक्खाको साकेला थान, नेपाल शेर्पा संघ र सुनुवार सेवा समाजको ष्यादर थानमा पनि करिब चार दर्जन रुख लडाएको थियो । शनिबार रातीको हुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको सिरिशको रुख लडेर किच्दा २२ बर्षीय जुनियर रेजिडेन्ट डाक्टर रञ्जना देवकोटाको पनि मृत्यु भएको थियो ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे