भुकम्पपछि पर्यटनको आशा जगाउदै प्याराग्लाइडर


धरान । बैशाख १२ को महाभुकम्पले भौतिक संरचना मात्रै होइन, नेपालको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्रलाई पनि तहसनहस पार्यो । पर्यटकहरु आउन रोकिए, पर्यटनका गतिविधिहरु पनि प्रायः ठप्प छ । पोखरामा व्यावसायिक प्याराग्लाइडिङ गर्दै आएका ग्लाइडर र व्यासायीहरु भुकम्प पछि गोरखा र सिन्धुपाल्चोक गएर राहत वितरण गरे । गोरखाको मचेक, थुमी र सिन्धुपाल्चोकको लिस्टीकोटमा राहत विरतण सकेर दुई टेण्डम पाइलट भने गृहनगर पूर्वको धरानतर्फ हान्निए ।
उनीहरु गृहनगर आउनुमा पोखरामा प्लाइट बुकिङ नभएर मात्रै थिएन, पोखरामा केन्द्रीत प्याराग्लाइडिङलाई पूर्वमा पनि विस्तार गर्नु र भुकम्प पछि ठप्प बनेको पर्यटनलाई जगाउने प्रयास गर्ने उद्देश्य पनि थियो । माउण्टेन भ्यु प्याग्लाइडिङमा आवद्ध  टेण्डम पाइलट देशविर जिमी र बिगस्माइल प्याराग्लाइडिङका मणि तामाङ अहिले धरानको आकाशमा प्रि–मनसुन टेस्ट फ्लाइटको साथै विष्णुपादुकास्थित चिण्डेडाँडाको टेकअफ प्वाइन्ट र ल्याण्डिङ स्पट अध्ययन एवं तयारीमा जुटेका छन् । ‘भुकम्प पछि पर्यटन क्षेत्र पनि तहसनहस भएको छ, हामी राहत लिएर गोरखा र सिन्धुपाल्चोक गयौं, त्यसपछि पूर्वमा केही गर्नुपर्छ भनेर यता आयौं’–टेण्डम पाइलट देशविरले भने–‘भुकम्पले पूर्वमा क्षति कम गरेको छ, यताको पर्यटन जिवितै छ, सरकारले चाहेमा पर्यटन जुर्मुराउन सकिन्छ ।’
प्रि मनसुन फ्लाइट गरेका पाइलटद्धयका अनुसार यो समय पोखरामा व्यावसायिक उडानले ब्यस्त हुनुपर्ने थियो । तर, भुकम्पको कारण पर्यटकहरु नआउदा फ्लाइट छैन । पोखरामा आउने सबैभन्दा बढी चिनीया पर्यटकहरु हुन्छन् । प्लाराग्लाइडिङ पनि धेरै चीनीया पर्यटकहरुले नै गर्छन् । बैशाख १२ यता भने पोखरामा व्यावसायिक उडान ठप्प छ । पोखराको प्याराग्लाइडिङ विश्वका उत्कृष्ट ५ मा गनिन्छ । नेपालमा पोखराबाहेक भर्खर मात्रै तनहुको बन्दीपुर, स्याङजाको सोरेक श्रीकोट, सुर्खेत, दाङ र पाल्पामा पनि उडान अनुमति पाएको छ । पूर्वको धरानमा मन्त्रालयबाट स्वीकृति पाएपनि व्यावसायिक उडान भने हुनसकेको छैन । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले मन्त्रालयबाट स्वीकृत पाइसकेको भएपनि नागरिक उड्यान प्राधिकारणबाट ए.ओ.सि.(एयर अपरेशन सर्टिफिकेट) पाउन भुकम्पकै कारण ढिलाई हुदा व्यावसायिक उडानमा अवरोध पुगेको छ भने र धरान स्काई एडभेन्चर प्याराग्लाइडिङ प्रालिले उडान अनुमति पाएको दाबी गरेपनि उडान सुचारु गर्न सकेको छैन ।
व्यावसायिक उडान शुरु नभए पनि धरानमा विगत ५ बर्षदेखि नै धरानका तारामणि राई, राम राई, लेखमणी जिमीलगायतको पहलमा प्याराग्लाइडिङको सफल उडान परीक्षण र प्रर्वद्धन हुदै आएको थियो । व्यावसायिक उडान शुरु गर्न सकेमा धरानको मात्रै नभएर पूर्वकै पर्यटनमा महत्वपुर्ण टेवा पुग्ने बुढासुब्बा प्याग्लाइडिङ नेपाल प्रालिका अध्यक्ष लेखमणी जिमीको भनाई छ । ‘मन्त्रालयबाट स्वीकृति भएर फाइल प्राधिकरणमा पुगेको छ, सम्भाव्यता अध्ययन भइसकेको छ । एओसि पाउन मात्रै बाँकी हो’–उनले भने–‘व्यावसायिक उडान शुरु भयो भने आन्तरिक र भारतको पश्चिम वंगाल, सिक्किम, बिहारसँगै भुटानको पर्यटकहरु यता आकर्षित हुनेछन् ।’ भविष्यमा किमाथांका नाका खुलेमा चीनीया पर्यटकहरुबाट पनि पूर्वले लाभ लिनसक्ने सम्भावना रहेको उनले खुलाए ।
टेण्डम पाइलट जिमीका अनुसार पोखरामा क्षेत्रीय विमानस्थल बनेपछि उडान क्षेत्र सिमित हुनेछ । त्यसको विकल्पमा पूर्वको धरान प्याराग्लाइडिङको लागि गन्तव्य हुनेछ । अन्र्तराष्ट्रिय प्रतियोगिताको लागि पनि धरान उपयुक्त भएको उनले बताए । अर्का ग्लाइडर मणी तामाङका अनुसार पोखरामा एयरपोर्ट भएको कारण डाँडा कटेर उडान गर्न निषेध छ । तर धरानमा भने सिटि राइडको बेग्लै मजा लिनसकिन्छ । ‘पश्चिमतिर कारणवश पर्यटनका गतिविधि रोकियो भने विकल्पमा पूर्व क्षेत्र गन्तव्य बन्छ, यसको लागि सरकारले पनि ध्यान दिनजरुरी छ’–उनले भने ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे