हावाहुरीले आँप झरेपछि किसान र व्यापारी चिन्तित

धरान । शनिबारको हावाहुरीले आँपको वगानमा धेरै क्षति पुगेपछि पूर्वका किसान चिन्तित बनेका छन् । हावाहुरीले बोटबाट पाक्न लागेको आप झारेपछि यो बर्ष घाटा हुने भन्दै किसान चिन्तित बनेका हुन् । किसान एवं आपका व्यापारीहरुका अनुसार शनिबारको हावाहुरीले बगानमा कम्तीमा १० प्रतिशत क्षति पुगेको छ ।
सिजन शुरु हुने बेलामा १० प्रतिशत आँप झरेपछि यसबर्षको नाफा खेर गएको उनीहरुको भनाई छ । झरेका आँपलाई संकलन गरेर किसान एवं व्यापारीहरुले सोमबार धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा बिक्री गर्न ल्याएका थिए । काँचो भएपनि अचार बनाउनको लागि सर्वसाधारणले खरीद गर्ने आशामा किसानले ल्याएर बिक्री गरेको बजारस्थलले जनाएको छ । बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराईका अनुसार प्रतिकेजी १० देखि २० रुपैयासम्म काँचो आपको सोमबार कारोबार भएको थियो । पूर्वमा सप्तरी, सिरहा र धनकुटाको मुलघाट क्षेत्रमा सबैभन्दा धेरै आँप उत्पादन हुने गर्छ ।

शनिबार रातीको हावाहुरीले यही क्षेत्रमा बढी क्षति गरेको जानकारी आएको व्यावस्थापक भटराईले जानकारी दिए । सिजनको मुखैमा क्षति पुगेपछि यो बर्ष आँपको मुल्य गत बर्षको तुलनामा बढ्नसक्ने उनको अनुमान छ । ‘किसानहरुसँग कुराकानी हुदा नाफा हुनेजति आँप झार्यो भन्दैछन्, त्यस्तै हो भने यो सिजनमा आँप महंगो हुनसक्छ’–उनले भने । बजारस्थलका अनुसार गत आर्थिक बर्षमा यहाँबाट करिब ५ हजार मेट्रिक टन आँपको कारोबार भएको थियो भने सरदर ६५ रुपैया प्रतिकिलोमा कारोबार भएको थियो ।
आँपका व्यापारी टिकाराम श्रेष्ठका अनुसार सोमबार बिहान धरानमा हावाहुरीले क्षति गरेको मालदह र कलकत्ते आँप करिब ३० टन सप्तरीको रुपनगरबाट आएको थियो । कलकत्ते आप असारमा र मालदह आप साउन तिर मात्रै बजारमा आउनु पथ्र्यो । तर, हावाहुरीले झारिदिएपछि किसान र व्यापारीले काँचो भएपनि बजारमा पठाउन बाध्य भएको रुपनगरका किसान एवं व्यापारी जाविर खानले बताए । ‘नाफा जति सबै हावाहुरीले झारिदियो, काँचो भएपनि बिक्री होला कि भनेर ल्याएका हौं’–उनले भने ।

                                          बजारमा कार्वाइडयुक्त भारतीय आँप


तीन दिनअघि धरान १३ स्थित कृर्षि बजारस्थलका व्यावस्थापक लक्षण भटराईको आँखा बजारकै व्यापारीले राखेको आँपमा पर्यो । आँप कतै पाकेको पहेलो छ त कतै हरियो । आपको सिजन आउन अझै बाँकी नै छ । उनलाई क्याल्सियम कार्बाइड हालेर पकाएको हो भन्नेर ठम्याउन समय लागेन । उनले तत्कालै व्यापारीलाई हकारे । ‘व्यापारीले भारतबाट नै यस्तै आँप आएको भन्छन्, कार्वाइड हालेर पकाएको आँप अहिले बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ’–भटराईले भने ।
व्यापारीहरुका अनुसार जेठ अन्तिमदेखि मात्रै आँपको सिजन शुरु हुन्छ । तर, नेपालको बजारमा भने जेठको पहिलो सातादेखि नै पाकेको आँप बिक्रीमा देखिन्छन् । ती आँप भारतबाट आयात गरिएका हुन्छन् । सिजन भन्दा अघि नै पाकेको आँप देखिनुमा कार्वाइड प्रयोग गरेर कृत्रिमरुपमा पाकेको बनाउनु हो । ‘बजारमा खुलेआम यस्तो आँप बिक्री हुन्छ, नियमन गर्ने कुनै निकाय छैन जस्तै छ । कस्ले अनुगमन गर्ने ?’–व्यावस्थापक भटराईले भने । उनका अनुसार गत बर्ष बजारस्थलमा काँचो आपलाई कावाइड हालेर पकाउन निषेध गरिएको थियो । बजारमा छापा मारेर कार्वाइड हालेर पकाएको आप वरामद गरेर प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएपनि कारबाही भए नभएको जानकारी नपाएको उनले बताए ।
नेपाल पोषणविद तथा डाइटिसियन संघका महासचिव के.पी.लम्सालका अनुसार कार्वाइड कृत्रिमरुपमा फलफुल पकाउन प्रयोग गरिने रसायन हो । फलफुलबाट इथिलिन भन्ने ग्याँस निस्कन्छ, उक्त ग्याँसलाई कार्वाइडले उडेर जान दिदैन । यसरी कृत्रिमरुपमा पकाइएको आँपले श्वासप्रश्वास प्रणालीमा असर पुग्ने लम्सालको भनाई छ । ‘गर्भवती महिला र बच्चालाई छिटो असर गर्छ, उनीहरुलाई यस्तो आप खुवाउनु हुदैन । गर्भ तुहिन पनि सक्छ’–लम्सालले भने–‘विभिन्न अंगमा क्यान्सर गराउन सहयोगी हुन्छ, तत्काल पेट दुख्ने, झापा पखला, वान्ता हुने पनि हुन्छ ।’ खाद्य नियमावलीमा कृत्रिमरुपमा पकाइएको फलफुल बेच्न नपाउने व्यवस्था गरेपनि नियमनकारी निकाय सक्रिय नहुदा स्वास्थ्यमा असर पुग्ने गरि खुलेआम फलफुल बिक्री हुने गरेको उनले बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे