सशस्त्रका इन्स्पेक्टर र एमालेको डनबीचको झगडाले जनतालाई सास्ती
धरान । नाइट क्लबमा मदिरा पिएर आपसमा झगडा गर्ने सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र एमालेको भातृ संगठन युवा संघका जिल्ला सदस्य समातिदा शनिबार धरान बन्द भएको छ ।
शुक्रबार राती करिब ९ बजे धरान १३, जिरो प्वान्टस्थित ओ टु नाइट क्लबमा मातेर झगडा गर्ने सशस्त्र प्रहरी निरीक्षक विजय हमाल र युवा संघका जिल्ला सदस्य आविष्कार लिम्बू राती नै पक्राउ परेका थिए । पक्राउ परेका जिल्ला सदस्य लिम्बूलाई छाड्न दबाब दिएपनि प्रहरीले नछोडेपछि युवा संघले दिउँसो ४ बजेदेखि ६ बजेसम्म धरानमा यातायात ठप्प पार्यो । उनलाई आइतबार बिहान १० बजेसम्म नछोडे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । दबाब आउने संकेत मिलेपछि सशस्त्र प्रहरी निरीक्षक हमाल र लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानले शनिबार बिहानै इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको थियो । सशस्त्र प्रहरी निरीक्षक हमाल सुनसरीको लौकहीमा कार्यरत थिए । ओटुका साझेदारसमेत रहेका युवा संघका जिल्ला सदस्य लिम्बू धरानमा डनको छवि बनाएका छन् । उनी गुण्डागर्दी र अपहरण काण्डमा पनि संलग्न हुने गरेको आरोप छ ।

स्रोतका अनुसार शुक्रबार राती एक जना सिपाहीसहित सशस्त्र प्रहरी निरीक्षक हमाल ओटु पुगेका थिए । उनको बिल ९ सय उठेको थियो । तर, आफुसँग ५ सय मात्रै भएको बताएपछि विवाद शुरु भएको थियो । विवादकै क्रममा आविष्कार र हमालबीच झगडा शुरु भयो । त्यसैक्रममा हमालले झोलामा बोकेको पेस्तोल पनि खोसाखोस भएको थियो । झगडा शुरु भएपछि हमालको सिपाही भने भागेका थिए । धरानस्थित सशस्त्रको टोली आएपछि आविष्कारका युवाहरुबीच केहीबेर हानाहान भएको स्रोतको भनाई छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालयको टोलीले दुवैलाई पक्राउ गरेको थियो ।

Comments
Post a Comment