बुढासुब्बा मन्दिरमा नोभेम्बर रेन


धरान । पूर्वेलीहरुको आस्थाको केन्द्र धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा आइतबार बिहानैदेखि कलाकारहरुको भीड लाग्यो । कोही क्यामेरा मिलाउदै थिए, कोही लोकेशन हेर्दै थिए भने कोही रिफ्लेक्टर मिलाउन ब्यस्त थिए ।
केही बेरमा मन्दिर परिसरमा युवा पुस्तामाझ चर्चित नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ देखा परे । बुढासुब्बाको दर्शनमा आएका सर्वसाधारणहरुको ध्यान उनीहरुतिरै केन्द्रीत भयो । आगामी भ्यालेन्टाइन डे(१४ फेब्रुअरी)मा रिलिज गर्ने घोषणा गरिएको चलचित्र ‘नोभेम्बर रेन’को छाँयांकनको लागि कलाकारको टोली धरान आएका हुन् । आइतबार बुढासुब्बा मन्दिर परिसरमा यो चलचित्रको शुभमुर्हतसँगै छाँयांकनको औपचारिक प्रारम्भ गरिएको थियो ।
चलचित्रको शुभमुर्हतअघि नायक आर्यन, नायिका नम्रता, नवनायिका छुल्टिम गुरुङ, केशव भटराई, निर्देशक दिनेश राउतलगायतले बुढासुब्बा मन्दिरमा पूजाअर्चना गरे । यहाँ दर्शन गर्नेको मनोकांक्षा पुरा हुने जनविश्वास छ । चलचित्रको शुभमुर्हतमा पूर्वाञ्चल पर्यटन विकास परिषदका उपाध्यक्ष महेन्द्र प्रधानले क्ल्याप गरे भने पर्यटनकर्मी वासुदेव वरालले एक्सन कट उद्घोष गरे । यस्तै, रोयल इष्र्टन इन्फिल्डर्सका किरण राईले क्यामेरा अन गरेका थिए भने युवराज निरौलाले नरिवल फुटाए ।
करिब चार बर्षको अन्तरालपछि आर्यन र नम्रता एकसाथ यो चलचित्रमा देखिदैछन् भने नायिका छुल्टिमको यो डेब्यु चलचित्र हुनेछ । यसअघि आर्यन र नम्रताले मेरो एउटा साथी छ मा सँगै अभिनय गरेका थिए । यो चलचित्र औधी रुचाइएको थियो । निर्माणाधिन चलचित्रमा लगानीसमेत गरेका नायक आर्यनले नम्रतासँगको चलचित्र मेरो एउटा साथी छ ज्यादै उत्कृष्ट बनेको स्मरण गर्दै ‘नोभेम्बर रेन’लाई पनि त्यहीस्तरको बनाउने उद्घोष गरे । ‘त्यो फिल्मले हामी दुवैलाई मात्रै होइन, चलचित्र उद्योगलाई नै राम्रो गर्यो’–नायक सिग्देलले भने–‘अहिले त्यस्तो चलचित्रको अभाव खट्किएकोले फेरि त्यहीस्तरको चलचित्र बनाउन जुटेको हो ।’ चलचित्र प्रेमकथामा आधारित रहेको उनले बताए । चलचित्रको लागि अन्र्तराष्टिय लोकेशनमा जानुपर्ने भएपनि धरानको पर्यटनलाई पनि फाइदा पुर्याउन यहाँ सुटिङ गर्न आएको उनको भनाई थियो ।
नायिका नम्रताले आफु जन्मिएको ठाउँमा सुटिङमा आउन पाउदा खुशी लागेको बताइन् । ‘धरान मेरो जन्मस्थान पनि हो, चलचित्रको ६० प्रतिशत भाग यहाँ सुटिङ हुने भएकोले धेरै उत्साहित भएको छुँ’–उनले भनिन् । शुभमुर्हतअघि आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक टेकबहादुर तामाङ र पर्यटनकर्मी वासुदेव वरालले शुभकामना व्यक्त गरेका थिए । निर्देशक राउतले धरानको सुन्दरतालाई चलचित्रमा उतार्न छाँयांकनको लागि छनौट गरिएको बताए । उनको यो दोस्रो चलचित्र हो । यसअघि उनले चलचित्र आई एम सरीको निर्देशन गरेका छन् । यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, केशव भटराई, छुल्टिम गुरुङ, हिउवाला गौतम, अल्पना कर्मचार्य, अमितेश शाह, शिशिर राना, महेश त्रिपाठी, अर्जुन खड्कालगायतको अभिनय छ । चलचित्रको निर्माता सुवास गिरी, कार्यकारी निर्मातामा कमल गिरी छन् भने लेखन चेतन गुरुङ, संगीत ताराप्रकाश लिम्बू, द्धन्द हिमाल केसीको रहेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे