बराहको अवस्था, कारोबार र भावी योजनाबारे मानबहादुर विश्वकर्मासँगको कुराकानी:
०५२ साल भदौ ५ गतेबाट स्वर्गीय इन्द्रबहादुर लामिछानेले बराह ज्वेलरी ट्रेड सेन्टर स्थापना गरेर धरानमा सुनचादी व्यावसाय शुरु गरेका थिए । भाडामा कोठा लिएर सामान्य सुनचादी पसल शुरु गरेका लामिछानेको परिकल्पना, मेहनत एवं कुशल नेतृत्वले ८ बर्षको अवधिमै बराहले ठुलो फड्को मार्यो । ०६० सालमा धरान ५ बराहले आफ्नै भवन खरीद गर्यो र बराह सपिङ कम्प्लेक्स नामाकरण गरेर व्यापार, व्यावसायको क्षेत्र पनि विस्तार गर्दै गयो । ०६० सालमै बराहले काठमाण्डौं व्यावसाय विस्तार गर्यो भने ०६४ मा बराह ज्वेलरी इष्ड्रष्टिज प्रालि दर्ता गरेपछि पोखरा, युके र हङकङमा पनि व्यापार विस्तार गरिसकेको छ ।
०६९ माघ १६ गते हङकङमा बराहका संस्थापक अध्यक्ष लामिछानेको निधन पछि बराहबारे अनेक अडकलबाजी भयो । बराह नेतृत्वको संकट भयो, आर्थिक संकटमा पर्यो जस्ता हल्ला फैलियो । त्यस्ता हल्लाका बाबजुद पनि बराहले भर्खरै भदौ ५ गते भव्यताका साथ १९ औं बार्षिकोत्सव मनायो । बराहले त्यसै अवसरमा इन्द्रेश्वर महादेवको मुर्ति स्थापना गर्यो भने आज भदौ १७ गतेदेखि धरान काठमाण्डौं रुटमा वाईफाई सुविधायुक्त बराह बस सेवा पनि सञ्चालन गर्दैछ । यिनै विविध बिषयहरुमा एक दशकदेखि बराहको धरान शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएका प्रालिका संस्थापक सदस्यसमेत रहेका मानबहादुर विश्वकर्मासँगको कुराकानी :१) बराहको अवस्था कस्तो छ ?
: अहिले बराह ज्वेलरी इष्डष्ट्रिज प्रालिको अवस्था राम्रो छ । विगतमा जुनरुपमा चलेको थियो, शुभचिन्तक, लगानीकर्ता, सदस्य र सबै ग्राहकहरुको साथ, सहयोगले त्यसरी नै चलिरहेको छ । अहिले उहाँहरुबाट अझ बढी साथ पाएका छौं । नयाँ लगानीकर्ताहरुको साथ पाएका छौं र हामीलाई थप उत्साह मिलेको छ ।
२) बराहले भर्खरै १९ औं बार्षिकोत्सव मनाउने क्रममा बराह बस सेवा पनि सुरुवात गर्ने जानकारी दिनुभएको थियो । यो किन शुरु गर्नुभएको हो ? थप नयाँ कार्यक्रमहरु के छ ?
: बराह बस सेवा पर्यटक र हाम्रा लगानीकर्ता, सर्वसाधारणहरुलाई सेवा दिन र आनन्ददायक यात्रा दिलाउन सकौं भनेर ४ वटा बस शुरु गर्न लागेका हौं । यो बस सोमबार(भदौ १७) गतेदेखि शुरु हुन्छ । दुई वटा बसमा ए.सि., एयर सस्पेन्सन सिट भएको छ र ४ वटामै वाईफाई सुविधा छ । धरान आउने पर्यटकहरुलाई आरामदायी, सुविधायुक्त बस यात्रा होस भन्ने उद्देश्यले शुरु गरेका हौं । त्यसबाहेक धरान आउने पर्यटक वा सर्वसाधारणहरुलाई गुणस्तरीय, खोजेजस्तो सम्पुर्ण सामानहरु उपलब्ध गराउने योजना छ । अर्को भनेको चाडै नै बालबालिकाहरुको लागि बौद्धिक, शैक्षिक विकासमा मद्दत पुगोस् भनेर तेस्रो तलामा बराह बाल संसारको पनि शुरुवात गर्न लागेका छौं । धरान आएका पर्यटकको र धरानबासीहरुलाई पनि फुर्सदको समयमा आफ्ना बच्चाहरुलाई कहाँ लैजाने भन्दा बराह बाल संसारमा जाउ न भनेर आर्कषण गराउनेछ । त्यहाँ ए.सि.को सुविधा हुनेछ, दुई वटा लिफ्टको सुविधा पनि छर्दैनैछ ।
३) बराहको व्यापार, व्यावसाय चाहि के हो ? यसको शाखा कहाँ कहाँ छन् ?
: बराह ०५२ साल भदौ ५ गते स्थापना भएको हो । शुरुवातमा बेलायत, सिंगापुर र भारतीय सेनामा कार्यरत र अवकाश प्राप्त भूपू लाहुरे समुदायले हामीलाई ठुलो विश्वास, साथ र सहयोग गर्नुभयो र उहाँहरुकै कारणले अहिलेको अवस्थामा आइपुग्न सफल भयौं । अहिले त सबैको विश्वास, साथ पाइराखेकै छौं । हामीले ०६० सालमा धरानमा आफ्नै भवन खरीद गर्यौं । यो भवनको भुँइतल्लामा सुनचादी पसल छ, भित्रपटि डिर्पामेन्टल स्टोर छ र भुइतलाकै अझ भित्रपटि किचन आइटम र ग्लोसरी छ । पहिलो तलामा रेडिमेड कपडा, विभिन्न जातीय पहिरनको कपडाहरु र गिफ्ट आइटम छ । दोस्रो तलामा वित्तिय कारोबार मात्रै हुन्छ, त्यहाँ रेमिट्यान्स सेवा, मनि ट्रान्सफर र बराह बचत तथा ऋण शहकारी संस्थाको कारोबार हुन्छ । तेस्रो तलामा इमेज ब्युटी पार्लर छ । चौलो तलामा पूर्वपटि डि स्क्वायर फाष्ट फुड र पश्चिमतर्फको ठुलो क्षेत्रफल लगभग २५ सयदेखि ३ हजार स्वायरफिटमा बराह बाल संसार बन्दैछ ।
धरानमा भवन किनेकै साल ०६० सालमा बराह काठमाण्डौंमा विस्तार गर्यौं र न्युरोडमा अहिले आफ्नै भवन छ । काठमण्डौंमा सुनचादीका गरगहना बिक्री गछौं, र अभिमत वचत तथा ऋण सहकारी पनि चलाएका छौं । त्यसबाहेक पाटन औद्योगिक क्षेत्रमा सय जना कालीगढलाई तालिम दिएर सुनचादीको गहन उत्पादन गर्दैछौं र ७५ वटै जिल्ला होलसेलमा बिक्री गर्दैछौं, विदेशमा पनि पठाउदैछौं । यस्तै, युकेमा सम्पर्क कार्यालय खोलेका छौं र त्यहाँबाट सुनचादीको खरीद बिक्री, अर्डर अनुसार गहना तयार गछौं, रेमिट्यान्सको पनि काम गछौं । पोराखामा र हङकङमा पनि पनि यस्तै व्यावसायबाट सेवा दिइरहेका छौं ।
४) गत बर्ष बराहका संस्थापक अध्यक्ष एवं परिकल्पनाकार इन्द्रबहादुर लामिछानेको दुःखद् निधन भएपछि बजारमा एउटा हल्ला फैलियो, त्यो के भने बराहमा नेतृत्व संकट आयो र अब बित्तियरुपमा पनि बराह संकटमा पर्छ, के यो सत्य हो ?
: हामीले पनि त्यस्तो हल्ला, अफवाह फैलिएको बारेमा सुन्यौं । तर, हामी विचलित भएनौं, भएका छैनौं र हुदैनौं पनि । त्यो हल्ला नेपाली समाजकै एउटा पाटो हो, त्यो के भने इमान्दार, सफल उद्योगपतिले आफ्नो स्वार्थको लागि मात्रै होइन, समाजको लागि पनि केही गर्नुपर्छ भन्ने भावनाले काम गर्छन् । त्यस्ता उद्योगपपतिमा हाम्रो आदरणीय अभिभावक स्वर्गीय इन्द्रबहादुर लामिछने पनि पर्नुहुन्थ्यो । तर, यही समाजमा यस्ता संस्था, व्यवसायी पनि थिए, जसले आफ्नो स्वार्थको लागि मात्रै काम गथ्र्यो र जनतालाई ठगी गर्यो, जनताको सम्पत्ति पोको पारेर भाग्यो । त्यो विगत सम्झेर हाम्रा १० प्रतिशत सदस्यहरुमा पनि आशंका जन्मिएको थियो । उहाँहरुलाई पनि मनमा कता कता डर पैदा भएको थियो होला, तर हामी पारदर्शी थियौं, ९० प्रतिशत सदस्यहरुले विश्वास गर्नुभयो । हामीसँग लगानीभन्दा बढी सम्पत्ति छ, पूजी छ, त्यसैले उहाँहरु ढुक्क रहनुभयो । पद्दतीमा चलेको संस्थामा एउटा व्यक्तिको निधनले असर पर्दैन ।
त्यो हल्लाको अर्को कारण भनेको हाम्रो सफलताप्रति इष्र्या गर्नेहरु हुन् । हामीले प्रत्यक्ष ३ सय भन्दा बढीलाई रोजगार दिएका छौं, नाफाको प्रतिशत बोनस दिन्छौं, पानी ट्यांकर सेवा, एम्बुलेन्स सेवा, बस सेवा, समाजमा लगानी गछौं, यी सबै कामहरुबाट इष्र्या गर्नेहरुले गर्दा त्यो हल्ला चलेको हो । तर, ती सबै अफवाह, हल्लाहरुलाई चिरेर अघि बढीसकेका छौं ।
५) संस्थापक अध्यक्षको निधनपछि बराह कसको नेतृत्वमा कसरी चलिरहेको छ ?
: पक्कै पनि हामीले कुशल अभिभावक, राष्टकै सक्षम, सफल व्यवासायी गुमायौं । सडकबाट दुःख गरेर स्थापित हुनुभएका संघर्षसिल व्यक्तित्वलाई गुमायौं, यसले हामीलाई मर्माहत बनायो । तर, उहाँ भौतिकरुपमा मात्रै हामीलाई छोडेर जानुभयो, उहाँको परिकल्पना, योजना र उद्देश्यहरु पुरा गर्न उहाँले एउटा पद्दती बसाउनु भएको थियो । उहाँले एक छोरा(शिव लामिछाने)लाई मात्रै जन्मदिनु भयो, तर उहाँले आफुजस्तै सयौं भाई छोराहरु तयार पारिसक्नु भएको थियो । संस्थाको जिम्मेवारी लिनसक्ने छोराछोरी तयार गर्नुभएको थियो । त्यसैले अत्यन्तै कठिन घडिमा पनि कुनै पनि शाखा, सम्पर्क कार्यालय बन्द गरेनौं । व्यावसाय र कारोबार रोकेनौं । अभिभावकको अन्तिम श्रद्धाञ्जलीको दिन मात्रै एक दिन सेवा बन्द गर्यौं । त्यतिबेला हाम्रो टिमले नेतृत्व लियौं, त्यो ठुलो उपलब्धी भयो । त्यतिबेला हामी शोकमा मात्रै डुबेको भए, सारा योजना, व्यावसाय र संस्था नै तहसनहस हुनसक्थ्यो । तर, संस्था एउटा सिस्टममा चलेको हुनाले स्वयाम संस्थापक अध्यक्ष ज्यूको अनुपस्थितिमा पनि पहिला जस्तरी चलेको थियो, अहिले पनि त्यही सिस्टममा त्यसै गरि चलेको छ, म सम्पुर्ण शुभचिन्तक, ग्राहक एवं लगानीकर्ताहरुमा अहिले पनि यही कुरा अवगत गराउन चाहन्छु । तपाईहरु नडराउनुस्, तपाईहरुको लगानी सुरक्षित छ ढुक्क हुनुहोस् ।
६) बराहले कहिले समाज सेवाको नाममा कहिले मन्दिर बनाउछ, कहिले एम्बुलेन्स चलाउछ, कहिले पत्रकार महासंघलाई १० लाख सहयोगको घोषणा गर्छ, यो सब केको लागि ? नाफा धेरै कमाएरै हो कि कुनै उद्देश्य छ ?
: हामी व्यावसायिक प्रतिष्ठान हौं र व्यापार, व्यावसाय नाफा कमाउनकै लागि हो । हामी पनि नाफा कमाउछौं तर, त्यो नाफा आफ्नो लागि मात्रै होइन, समाजको लागि, राष्ट निर्माणको लागि पनि खर्च गर्नुपर्छ भन्ने सोचले सामाजिक काममा पनि लगाउछौं । बराहले जसबाट नाफा पाएको हो, उसैलाई सेवा दिनुपर्छ भनेर नाफाको १० प्रतिशत मात्रै भएपनि सामाजिक काममा लगानी गरिरहेका छौं । व्यापार, व्यावसाय आफ्नो स्वार्थको लागि मात्रै होइन, समाजको लागि पनि हो है भन्ने सन्देश दिन पनि यो निति बनाएका हौं । हामी नाफा पनि धेरै खोज्दैनौं, र जनताको पैसा जनतामा नै पुग्नुपर्छ भन्ने सोचले सामाजिक काम पनि गछौं । यो समाजप्रतिको जिम्मेवारी बोध पनि हो भन्ने मलाई लाग्छ ।
७) भविष्यमा बराहले कुन कुन क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ?
: भविष्यमा लगानीकर्ता भेट्यौं र शुभचिन्तक, सदस्यहरुबाट साथ सहयोग पाउदै गयौं भने अहिलेको व्यापार, व्यावसायलाई विस्तारसँगै उत्पादनमुलक कृर्षि क्षेत्रमा पनि लगानी गर्ने सोच छ । अहिले बस सेवामा लगानी गरेका छौं, यसले धरानमा पर्यटकलाई आरामदायी सेवा पुर्याउछ भन्ने आशा छ, र भविष्यमा अवसर पायौं भने पर्यटन क्षेत्रमा पनि लगानी गर्ने योजना छ ।
८) बराहको अबको बाटो कस्तो देख्नु हुन्छ ?
: बराहका संस्थापक, अभिभावक स्वर्गीय इन्द्रबहादुर लामिछाने ज्युले एउटा बाटो तयार गरिदिनुभएको छ, हामी त्यही बाटोबाट हिड्छौं र अझ उचाई मा पुर्याउनेछौं । सडकबाट शुरु भएको इमान्दारी, मेहनत, परिश्रम हेरेर हाम्रा शुभेच्छकु, ग्राहक र लगानीकर्ताहरुले जुन विश्वास गर्नुभयो, साथ र सहयोग दिनुभयो, त्यो विश्वासलाई हामी पछिको युगौं युगसम्मको पुस्ताले पनि अहिलेको जसरी नै कायम राख्नेछ । बराह सिस्टममा चलेको हुनाले युगौं युगपछि सम्म पनि यसै गरि व्यापार, व्यावसाय र सेवा सुविधा उपलब्ध गराउनेछ भन्ने विश्वास दिलाउछु, हामी सबै यही प्राण पनि गछौं ।
Comments
Post a Comment