सुटिङ रिपोर्ट : आर्यन अस्पताल भर्ना
धरान । अस्पतालको बेडमा एक युवक सुतिरहेका हुन्छन् । विरामी कुरुवा बसेका दुई युवती पनि दायाँ बाया बेडमा अडेस लागेर निदाइरहेका हुन्छन् ।
हावाको झोकाले झ्यालको पर्दा हल्लाएपछि युवकको आँखा खुल्छ । बाहिर पानी परिरहेको छ, उनी भावुक हुन्छन् । दुई युवतीले थाह नपाउने गरि विस्तारै उठ्छन्, स्लाइन चढाएको पाइप थुत्छन् र अस्पतालको बेडबाट बाहिरिन्छन् । युवक बाहिरिएको केही क्षणपछि एक युवती उठ्छिन् । वेडमा विरामी नदेखेपछि अत्तालिदै खोज्छिन् र उनी पनि कोठाबाट बाहिरिन्छिन् ।
यो दृष्य बिहिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हो । अस्पतालको वेड साँच्चैको भएपनि विरामी र कुरुवा भने वास्तविक होइन । चार दिनयता धरानमा सुटिङ भइरहेको चलचित्र ‘नोभेम्बर रेन’ को दृष्य हो यो । निलो गाउन लगाएर वेडमा सुत्ने युवक चर्चित नायक आर्यन सिग्देल हुन् भने कुरुवा युवतीद्धय नायिका नम्रता श्रेष्ठ र नवनायिका छुल्टिम गुरुङ हुन् ।

निर्मातासमेत रहेको नायक आर्यनका अनुसार फिल्मको कथा अस्पतालबाटै शुरु हुने र अधिकांश कथा अस्पतालकै सेरोफेरोमा भएकोले पनि बीपी प्रतिष्ठानमा छाँयांकन गर्नुपरेको हो । नायक आर्यन अनुसार नायिका सितल(नम्रता) अस्पतालमै इन्र्टन गरिरहेका हुन्छिन् र उनी पनि विरामी भएर त्यही अस्पतालमा भर्ना हुन्छन् । अर्की नायिका पनि अस्पतालमा आइरहनुपर्ने संयोग हुन्छ । ‘दुवै जनाले मलाई माया गर्छन, र म पनि दुवैजनालाई माया गर्छु’–नायक आर्यनले भने–‘हामी ३ बीचमा सामिप्यता छ, त्यसैले उनीहरु मेरो पीडामा साथ दिन अस्पताल आउछन् ।’ फिल्म प्रेमकथामा आधारित र दुई जना हिरोइन भएपनि त्रिकोणात्मक प्रेम कथा भने नभएको उनले दाबी गरे ।


Comments
Post a Comment