अर्काको जग्गा हडप्न खोज्ने गिरोह पक्राउ


धरान । नक्कली जग्गाधनी खडा गरेर अर्काको जग्गा हडप्न खोज्ने भुमाफियाको गिरोहलाई धरान १३, अमरहाटका बासिन्दाहरुले पक्राउ गरेर प्रहरीमा बुझाइदिएका छन् ।
       पक्राउ परेका पाँचै जना महिला छन् । पक्राउ पर्नेहरुमा योजनाकार मानिएकी धरान १३ की डोलरुपा खड्का र धनमाया राई छन् भने सरजिमिनको क्रममा साक्षी बसेका दिलमाया रिजाल, सम्झना राई र हिरा राई छन् । घटनामा संलग्न सरिता गुरुङ र मानबहादुर तामाङ फरार छन् । पक्राउ परेकाहरुलाई अनुसन्धानमा राखिएको र फारारको खोजी शुरु भइसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
       धरान १३, अमरहाटका शेरबहादुर राईको जग्गा हडप्ने प्रयास गरिरहेको भु माफिया गिरोहको कतुर्त बिहिबार नाता प्रमाणित गर्न दोस्रो पटक स्थलगत सरजिमिनमा गएकोबेला पर्दाफास भएको थियो । नाता प्रमाणित गर्न गिरोहसँग वडा सचिव भानुभक्त आचार्यको पनि संलग्नता भएको आशंका गर्दै स्थानीयले छानबीन हुनुपर्ने माग पनि गरेका छन् । भुमाफिया गिरोहले जग्गाधनी शेरबहादुर जस्तै देखिने स्थानीय मानबहादुरलाई प्रलोभन दिएर जग्गा हडप्ने षडयन्त्र बुनेको रहस्य खुलेको छ । अमरहाटमा शेरबहादुर र उनकी स्वर्गीय आमा राममाया राईको संयुक्त नाममा ५ कट्ठा साढे ३ धुर जग्गा रहेको छ । त्यही जग्गा हड्प्न स्थानीय धनमाया राई र डोलरुपा खड्काले करिब डेढ महिनादेखि चलखेल शुरु गरेको स्थानीयबासीको भनाई छ ।
       गरिब र सोझो स्वभावका शेरबहादुरकी आमाको ०६३ सालमा मृत्यु भएको थियो । करिब दुई महिनाअघि छिमेकी धनमाया राईले शेरबहादुरकी श्रीमति विनितासँग ऋणको किस्ता तिर्नुपर्ने भन्दै केही दिनमा उकासेर फिर्ता गरिदिने भन्दै धनीपूर्जा र नागरिकता लगेकी थिइन् । पछि पटक पटक आफुले धनीपूर्जा फिर्ता माग्दा पनि नदिएको विनिताले बताइन् । धनीपूर्जा हत्याएकी धनमायाले भने शेरबहादुरकी आमाको मृत्यु दर्ता पनि निकालेर भुमाफिया गिरोहसँग मिलेर जग्गा नै हडप्न चलखेल गरेकी शुरु गरिन् । यसमा उनलाई डोलरुपाले ठुलो साथ दिएको स्थानीयले बताए । यो गिरोहले दाउरा बेचेर पेट पाल्ने गरिब मानबहादुर तामाङलाई ५० हजारको प्रलोभन दिएर आफु नै शेरबहादुर हुँ भन्न लगाएर नाता प्रमाणितको प्रक्रिया अघि बढाएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नाता प्रमाणित गर्न नगरपालिकाको फारममा शेरबहादुरको फोटो टास्नुपर्ने ठाउँमा मानबहादुरको टाँसेर भुमाफिया गिरोहले निवेदन दिएका थिए । नगरपालिकाले साक्षी सरजिमिनको आधारमा पठाउन वडा समितिमा पत्राचार गरेको थियो । वडा समितिले मानबहादुरलाई नै शेरबहादुर भएको साक्षी सरजिमिन मुचुल्का उठाएर नगरपालिका सिफारिश गरेको थियो । वडा समितिबाट पठाएको कागजात अपुग भएको भन्दै नगरपालिकाले फिर्ता पठाएको थियो । नगरपालिकाले फिर्ता पठाएपछि बिहिबार पुनः स्थलगतरुपमा सरजिमिनमा पुग्दा स्थानीयले थाह पाएपछि षडयन्त्र पर्दाफास भएको थियो । ‘मानबहादुरलाई ५० हजार दिन्छौं, मै शेरबहादुर हुँ भन्न लगाएको रहेछ, धन्न, बेलैमा पर्दाफास भयो’–पीडित शेरबहादुरका काका हर्कवलि राईले भने–‘सोझा भतिजा बुहारीलाई झण्डै उठिबास लगाएछन् ।’
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश खनालले पीडितका तर्फबाट उजुरी आएपछि ठगी उद्योगअन्र्तगत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको बताए । ठगी कसुर प्रमाणित भए ५ बर्षसम्म कैद र विगो भए भराईदिने कानुनी व्यवस्था भएको उनले बताए । घटनामा वडा सचिवको संलग्नताबारे भने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सचिव आचार्यसँग मौखिक जानकारी लिइसकेको बताए । ‘वडा सचिवले आफु भर्खरै गएको र स्थलगतरुपमा नै छरछिमेकीसँग सोधेर सरजिमिन गरेको भनेका छन्’–उनले भने–‘सचिवको पनि संलग्नता छ भन्ने कुरा आयो भने नगरपालिकाले छानबीन गरेर कारबाही गछौं ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे