प्रतिभाको कदर भन्दै आयोजित तिज तारा ०७० मा धाधली !

 धरान । रातो साडी, चोली र तिलहरीमा चिटिक्क सजिएका महिलाहरुले शुक्रबार दिउसो धरानको सभागृह हल भरिभराउ थियो । सेफ्टी पूर्वाञ्चल तिज तारा ०७० को ग्रेण्ड फेनाली आयोजना भएकोले स्टेज पनि झकिझकाउ थियो ।
हरितालिका तिजको अवसरमा मकालु टेलिभिजनले आयोजना गरेको रियालिटी शोको फाइनलमा निर्णायकको परिणाम नआउदासम्म उल्लासपुर्ण रह्यो । प्रतिस्पर्धी एघार समुहले तिजको गीतमा प्रस्तुत गरेको नृत्य अनि गायिका मनिषा पोखरेल र उदयीमान गायक नवराज बस्नेतको गीत प्रस्तुतीले महिलाहरुलाई हलभित्रै नचायो । तर, जब उद्घोषकले निर्णय सुनाए, दिनभरि रमाइलो मानिरहेका तिनै महिलाहरु आयोजकसँग आक्रोशित भए । केहीबेर अघिसम्म छमछमी नाचेका प्रतिस्पर्धी महिला र दर्शकदीर्घामा रहेर ताली बजाइरहेका महिलाहरु निराश बने, आयोजकले प्रतिभा नहेरी पैसाको भरमा विजयी बनाएको भन्दै नाराबाजीमा उर्तिए । यो विवादको साक्षी प्रमुख अतिथि रहेका पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारी स्वयम बने ।
उद्घोषकले शुरुमा निर्णायकको अंकको आधारमा पहिलो, दोस्रो र तेस्रो प्रतिस्पर्धी समुहको नाम लिएका थिए । त्यतिबेला धरानको दिव्यआचार्य लाइन पहिलो र विर्तामोडको सनातन टोल समुह दोस्रो भएको थियो । ती प्रतिस्पर्धी समुहका महिलाहरु खुशीले नाचे, उफ्रिए । तर, फेरि उद्घोषकले भोटिङ मतको आधारमा पहिलो, दोस्रो र तेस्रो हुने अरु नै समुहको नाम लिए । अघिल्लो पटकको समुहको खुशी हरायो । भोटिङ मत बढी ल्याउने समुह फेरि खुशीले कराउन थाले । उद्घोषक यस्तो रिजल्टले निर्णायकहरुमा पनि अन्यौलता छायो । निर्णायकमध्येका नगेन्द्र राई हत्तपत्त उठेर उद्घोषकलाई केही भन्न स्टेजतर्फ जादैथिए । निर्णायकले फेरि विजेताको नाम घोषणा गरिदिए, दिव्यआचार्य समुह धरान तेस्रो, सुर्यज्योति समुह झापा दोस्रो र नन्द भाउजु समुह झापा पहिलो । यो घोषणासँगै मकालु टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको तिज तारा ०७० मा हंगमा मच्चियो ।
निर्णायकको मतको आधारमा पहिलो घोषणा हुदा दिव्यआचार्य लाइन समुह तेस्रो हुँदा पुरस्कार थाप्न स्टेजमा गएन । वेष्ट डान्सरको पुरस्कार जितेकी सनातन टोल समुहकी नृत्यकार निशा श्रेष्ठले स्टेजमा पुगेर आक्रोश पोखिन्–‘प्रतिभाको कदर नै भएन, सब पैसाको मात्रै कदर भयो ।’ प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा उनको भनाई नसक्दै उद्घोषकले माइक खोसेको थियो । आयोजक सभागृह हलबाट बाहिरिदासम्म सहभागी महिलाहरुले बारिह पनि निर्णयको विरोध जारी राखेको थियो ।
प्रतिभाको उजागर गर्ने भन्दै यसअघि आयोजना हुदै आएको रियालिटि शो कार्यक्रमहरु पनि आर्थिक विवादमा पर्दै आएको छ । केही महिनाअघि गरिमा डान्स सेन्टरको आयोजना र मकालु टेलिभिजनको प्रस्तुतीमा भएको नटराज र स्वरमणी पनि आर्थिक चलखेलको विवादमा परेको थियो । स्वरमणीको एक सहभागीबाट भोटिङको लागि भनेर लिएको पैसा आयोजकले पछि फिर्ता गरेको थियो ।

                             पत्रकार सम्मेलन गरेर विरोध


 प्रतिभाको कदर गर्ने भन्दै आयोजना भएको तिज ताराले पैसा कमाउनको लागि मात्रै आयोजना भएको प्रतिस्पर्धी महिला समुहहरुले आरोप लगाएका छन् । नतिजासँग असन्तुष्ट समुहहरुले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतिभा देखाउने अवसर भन्दै पैसा ब्रम्हलुट गर्ने यस्ता कार्यक्रमलाई प्रशासनले पुर्णप्रतिबन्ध लगाउनुपर्ने महिलाहरुले माग गरे ।
‘पहिला पनि पैसाको खेल भएको थियो, हामीले त्यस्तै होला भन्दा यसपाली हुदैन भन्यो’–निका समुहकी नृत्यकार निका मोक्तानले भनिन्–‘तर, फेरि पैसाकै चलखेल भयो ।’ आयोजकले शुरुमा एसएमएस भोटिङबारे जानकारी नदिएको र सेमीफाइनल सकिएपछि मात्रै जानकारी गराएको उनले बताइन् । सौन्दर्य कला व्यावसायी संघकी जिल्ला अध्यक्ष पुष्पा श्रेष्ठले टप १० मा छनौट हुने समुहलाई आयोजकले नै कोरियोग्राफर उपलब्ध गराउने भनेपनि नदिएको बताइन् । ‘एसएमएस भोटिङमा हाम्रो समुह दोस्रो थियो, तर पुरस्कार दिइएन । के आधारमा निर्णय भएको हो ?’–उनले भनिन् ।
दिव्यआचार्य लाइन समुहकी एलिसा श्रेष्ठले निर्णायकको मत ५० प्रतिशत र एसएमएस भोटको मत ५० प्रतिशतको आधारमा निर्णय हुने भनिएपनि चित्तबुझ्दो नभएको बताइन् । ‘निर्णयकको ५० प्रतिशत मत भए हामी पहिलो थियौं, एसएमएस र निर्णायकको मत कसरी मिलाइयो र हामी तेस्रो भयौं’–उनले भनिन् । फाइनल परिणाम पश्चात झापाको समुहहरुले पनि शुक्रबार विरोध जनाएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे