आगामी संविधानसभाको निर्वाचनमा सुकुम्बासीको मत निर्णायक

धरान । अघिल्लो संविधानसभा चुनावमा एकीकृत माओवादीले आर्कषक नारा दिएको थियो, ‘सबैलाई हेर्यौं पटक पटक, माओवादीलाई हेरौं एक पटक’ । यो नाराले सुनसरीको क्षेत्र नम्बर १ मा निर्णायक मत रहेका सुकुम्बासी बस्तीका मतदाताहरु पनि प्रभावित भए ।
माओवादी उम्मेदवार र नेताहरु दिनरात भोट माग्न सुकुम्बासी वस्तीमा हुन्थे । क्रान्तिकारी भुमिसुधार लागु गर्ने, धनीपूर्जा बाँड्ने, पानी, विजुलीको सुविधा दिलाउनेलगायत आश्वासन दिए । निर्णायक मत रहेको सुकुम्बासीहरुको साथ पाएर माओवादी उम्मेद्वारले एमालेको गढ मानिएको क्षेत्रमा अत्यधिक बहुमतले विजय हासिल गरे । एमालेको गढ मानिएको क्षेत्रमा उपमेयर हुदै धरानको मेयरसमेत भइसकेका चर्चित नेता मनोजकुमार मेन्याङ्वोलाई भर्खर देखा परेका माओवादीका उम्मेदवार किरणकुमार राईले जित्नुमा पनि सुकुम्बासीहरुको मतले ठुलो भुमिका खेल्यो । माओवादी उम्मेदवारले १८ हजार ६ सय २० मत ल्याएका थिए भने एमालेका उम्मेदवारले ११ हजार ६ सय ९३ मत ल्याएका थिए भने कांग्रेस उम्मेदवारले ६ हजार ५ सय ३५ मात्रै मत पाएका थिए । त्यसबेला ४५ हजार १ सय ४५ मत खसेको थियो ।
यो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, ०५१ को मध्यावधि निर्वाचनमा स्वर्गीय लिला श्रेष्ठ सुब्बा र ०५६ को आमनिर्वाचनमा कुन्ता शर्माले जितेका थिइन् । एमालेको गढ भत्किनुमा तत्कालीन मेयर मेन्याङ्वोले ०५८ साल चैतमा सुकुम्बासी वस्ती रहेको धरान १३ स्थित अमर बस्ती(ख) बलजफ्ती हटाउनु मुख्य कारण बन्यो । त्यतिबेलाको घटनाले सुकुम्बासीहरु रुष्ट बनेका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा माओवादीले त्यही मुद्दालाई उठान गरेर एमालेलाई सुकुम्बासीविरोधी पार्टीमा चित्रित गर्यो । फलस्वरुप ः उसले अत्यधिक बहुमतले विजय हासिल गर्यो । ‘अमर वस्तीको घटनाले सुकुम्बासीहरु रुष्ट थियौं, संविधानसभा निर्वाचनको बेला माओवादीले त्यही मुद्दालाई चर्कायो’–सुकुम्बासी नेतृ एवं नेपाल महिला एकता समाजकी जिल्ला अध्यक्ष सीता मगरले भनिन्–‘हामीलाई पनि त्यस्तै लाग्यो, नयाँ पार्टीलाई एक पटक हेरौं न त भनेर भोट दियौं ।’
आफुहरुलाई भोट बैंककोरुपमा मात्रै प्रयोग गरेको महशुस गरिरहेका सुकुम्बासीहरुले एक पटक हेरौं न त भनेर नयाँ शक्तिलाई जिताएपनि अहिले भने निराश छन् । चुनावअघि क्रान्तिकारी भुमिसुधार लागु गर्ने, सुकुम्बासीहरुलाई धनीपूर्जा बाड्नेलगायत चर्का नाराहरु जितसँगै विलाएको उनीहरुको अनुभव छ । ‘आखिर सबै दल गरिब, सुकुम्बासीहरुलाई आश्वासन मात्रै बाँड्ने रैछन, हाम्रो माग त जस्ताको तस्तै नै छन्’–मगरले भनिन्–‘हामीले सबै दललाई हेरिसक्यौं, अब पहिला जस्तो गुलियो कुरामा त्यसै भुलिदैनौं ।’ एमाले नगर उपाध्यक्ष नारायण सुवेदी तत्कालीलन मेयर मेन्याङ्वोले जोखिमयुक्ता क्षेत्रमा विपत्ति आउनबाट जोगाउन वस्ती हटाउन पहल गरेको तर पछि माओवादीले सुकुम्बासीलाई उठिबास लगायो भन्दै त्यस घटनालाई इस्यु बनाएर मतदाता प्रभावित पारेको स्वीकार गर्छन् । ‘सुकुम्बासीको साथ पाएर नै माओवादीले जितेको हो, एमाले सुकुम्बासी विरोधी थिएन र छैन । सुकुम्बासीहरुको अधिकार, घरधुरीकर, निजी धारा जडानबारे सबैभन्दा पहिला हामीले नै आवाज उठाएका थियौं’–उनी भन्छन् । एमाओवादीका नगर इञ्चार्ज चोत्लुङ पनि सुकुम्बासी मतदाताहरुको साथ विना जित हासिल गर्नु कठिन रहेको स्वीकार गर्दै पार्टी र उम्मेदवारले संविधानसभामा क्रान्तिकारी भुमिसुधारबारे, भुमिहिनहरुलाई उचित व्यवास्थापन गर्नेबारे आवाज उठाएको दाबी गर्छन् । ‘संविधान बनेन, बनेको भए ती सबै कुराहरु सम्बोधन हुन्थ्यो’–उनले भने–‘केही गरेन भन्ने होइन, पार्टीको तर्फबाट पेश गरिएको दस्तावेज र सुझावहरुमा ती मुद्दाहरु समेटिएको छ ।’
जिल्ला निर्वाचन आयोगका अनुसार अघिल्लो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (धरान नगर र पाँचकन्या गाविस) मा ८४ हजार २ सय ३ जना मतदाता थिए । आयाोगका अनुसार फोटोसहितको मतदाता नामावलीपछि भने अहिले मतदाता संख्या घटेर ६५ हजार ७ सय ९५ भएको छ । ती मध्ये निर्णायक मत मानिएको धरान नगर क्षेत्रको सुकुम्बासी वस्तीमा मात्रै कार्तिक अघि १६ हजार ९ सय मतदाताहरु रहेका थिए । त्यतिबेला फोटोसहितको मतदाता नामावली संकलन जारी रहेकोले यो संख्या अझ बढेको हुनसक्ने नेपाल बसोबास बस्ती संरक्षण समाजका पूर्वाञ्चल क्षेत्रीय सचिव कुमार कार्की बताउछन् । कार्तिकमा घरधुरी करको सम्बन्धमा नगर क्षेत्रमा सर्वेक्षण फारम भर्ने क्रममा यो तथ्यांक फेला परेको थियो । पाँचकन्या क्षेत्रमा भने ४ हजार बढी सुकुम्बासीहरु रहेका छन् । ‘सुनसरी क्षेत्र नम्बर १ मा अहिलेसम्म २२ हजार बढी सुकुम्बासी मतदाताहरु छन्, यो संख्या बढेको अनुमान छ, हामी चाडै लागत संकलन गर्ने तयारीमा छौं’–क्षेत्रीय सचिव कार्कीले भने–‘दलहरुले ०४८ सालको निर्वाचनदेखि नै हामीलाई जहिल्यै प्रयोग मात्रै गरे, तर यो पटक त्यस्तो हुन दिदैनौं, अबको चुनावलाई कसरी हाम्रो पक्षमा उपयोग गर्ने भनेर गम्भीर छलफल गर्दैछौं ।’
आसन्न संविधानसभा निर्वाचनलाई सुकुम्बासीहरुको पक्षमा कसरी उपयोग गर्ने भनेर अवधारणा बनाउन कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भइसकेको छ । समितिले दलहरु भोट माग्न आउदा संस्थागतरुपमा अघि सार्ने अवधारणाको मस्यौदा तयार पार्न गृहकार्य गरिरहेको छ । ‘अब कुनै एउटा दलको आश्वासनमा हामी फस्दैनौं, हाम्रो एजेण्डालाई सबै दलले एकसाथ, साझारुपमा नउठाउने हो भने हामी आफै नयाँ शक्ति निर्माण गर्न वा विकल्प खोज्न पनि बाध्य हुनेछौं’–संयोजक कार्कीले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे