मेला आयोजना विवादले युवा समुह र प्रहरी झडप


धरान । दशैं तिहारको अवसरमा बर्षेनी हुदै आएको मेला आयोजनाको दाबी गर्ने युवा समुहबीचको प्रतिस्पर्धाले बुधबार धरान तनावग्रस्त बन्यो ।
आयोजनाको दाबी गर्दै दुई वटा युवा समुह नगरपालिकामा हस्ताक्षर बुझाउन जानेक्रममा प्रहरी र युवा समुहबीच झडप भयो । प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । दुई दिनअघि नगरपालिकामा भएको सर्वदलिय वैठकले निवेदन परेका संघसंस्थाको सहमति लिएर आउन दिएको म्याद सकिन लागेको बेला दुई वटा गुटमा विभाजित युवा समुह हस्ताक्षर बुझाउन नगरपालिका गएको थियो । यो समुहलाई नगरपालिका पुग्न नदिई प्रहरीले छाता चोकमा रोकेपछि विवाद चर्किएको थियो ।
युवाहरुलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज गर्यो । लाठी चार्ज पछि छाताचौक क्षेत्रमा भागदौड मच्चियो । युवाहरुले प्रहरीलाई ढुंगा प्रहार गरे । झडप शुरु भएपछि छाताचोक आसपासका सबै पसलहरु बन्द भएको थियो । सवारी आवागमन ठप्प भयो भने सर्वसाधारणहरु आतंकित बनेका थिए । ढुंगा प्रहारबाट धरान मन्टेश्वरीको को १ ज ११५९ नम्बरको म्यानको शिसा फुटेको थियो । प्रहरीले छाता चोकदेखि नगरपालिका जाने बाटोमा सवारी आवात जावतमा निषेध गरेको थियो । छाता चोकमा झडप भइरहदा भने नगरपालिकामा कस्लाई मेला सञ्चालनको लागि सिफारिश गर्ने भनेर सर्वदलिय वैठक बसिरहेको थियो । झडपपछि प्रहरीले श्री सुब्बा, सम्पुर्ण ताम्राकारसहित ४ जनालाई मात्रै हस्ताक्षर बुझाउन नगरपालिका जान दिएको थियो ।
श्री सुब्बा संयोजक र सम्पुर्ण ताम्राकार सह संयोजक भएको युवा समुहले सुनसरी जिल्ला खेलकुद विकास समिति वा दुङ्माली वान्तवा राई समाज मध्ये जसको व्यानरमा मेला आयोजना हुदा पनि सहमत भएको भन्दै केही संघसंस्थाको हस्ताक्षर लिएर र्यालीसहित नगरपालिका जान खोजेका थिए । श्री सुब्बा संघीय समाजवादी पार्टी र सम्पुर्ण तरुण दलमा आवद्ध छन् । त्यसअघि, आविष्कार लिम्बू, दिवस राई, सन्तोष बिकको समुहले सहयोगी मञ्च सुनसरीयो समुहले निवेदन दिएकामध्ये दर्जन बढी संघसंस्थाको सहमति भएको दावी गर्दै हस्ताक्षर लिएर नगरपालिका पुगेको थियो । आविष्कार र दिवस एमालेको युवा संघमा छन् भने सन्तोष तरुण दलमा छन् । प्रहरीले उक्त समुहलाई नगरपालिका भन्दा पश्चिमपटि रोकेका थियो । दुवै समुहबीच झडप हुनसक्ने आशंकाले सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो । सातौं राष्टिय खेलकुद आयोजनाको लागि आर्थिक सहयोग जुटाउने भन्दै जिल्ला खेलकुद विकास समितिले पनि मेला आयोजनाको दाबी गर्दै समर्थन जुटाउन लागेको थियो । खेलकुद जस्तो पवित्र संस्थालाई विवादमा मुछेको भन्दै कतिपय खेलकुद संघसंस्थाहरुले यसको विरोध पनि गरिरहेका छन् ।
दशैतिहारको अवसर पारेर पब्लिक उच्चमाविको मैदानमा आयोजना हुने मेलाले विकृतिसँगै अपराधलाई बढवा दिएको भन्दै जनस्तरबाट बन्द गर्नुपर्ने आवाज उठिरहे पनि सुनुवाई भएको छैन । करिब दुई करोडको कारोबार हुने मेला लगाउन ठुलो आर्थिक चलखेल हुने गरेको छ । मेला लगाउन दिन राजनैतिक दलहरु नै अग्रसर हुने गरेका छन् । मेला आयोजकबाट दलहरुले पनि आर्थिक भागबण्डा पाउने गरेको आरोप लाग्दै आएको छ । मेलाकै कारणले धरानमा डन प्रवृत्तिका युवाहरुबीच चर्को गुटबन्दी बन्ने गरेको छ । आयोजना गर्न नसक्ने संघसंस्थाहरुले पनि बार्गेनिङ गर्नको लागि निवेदन दिने गरेका छन् । ति संघसंस्थाहरु पछि केही मोटो रकम लिएर कुनै एक संस्थालाई सहमति दिन्छन् । यसपटक मेला आयोजनाको दाबी गर्दै २१ वटा संघसंस्थाहरुको निवेदन परेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले नगरपालिकाले विवादित मेलालाई सञ्चालन गर्ने पक्षमा नभएपनि निवेदन परेपछि दलीय निर्णयअनुसार नै अघि बढ्ने बताए । ‘यस्तो विवाद हुदा नगरपालिका मेला नलागे हुन्थ्यो भन्ने हो, तर सर्वदलिय वैठकले जे निर्णय गर्छ त्यही हुन्छ’–उनले भने–‘तर, आजको वैठकमा कुनै निर्णय हुनसकेन, दुवै पक्षले हामी मिलेर आउछौं, भोलीसम्मलाई समय दिनुस् भनेकोले वैठक स्थगित गर्यौं ।’ सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले तनाव भइरहे मेला सञ्चालनको अनुमति नदिने बताए । ‘विसुद्ध मनोरञ्जन, औद्योगिक, व्यापरिक उद्देश्यले मर्यादितरुपमा लाग्ने हो भने चाडवाडमा दिने हो, तर यस्तो तनाव हुन्छ भने किन दिने ?’–प्रजिअ थापाले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे