तक्मे बुढा मावली(धरान) आए, अनि हसाएर गए
धरान । ‘म त बडि बिल्डिङ होइन, भुडिबिल्डिङ गर्न लागेको छुँ’–चर्चित हाँस्य कलाकार तक्मे बुढाले पेट छाम्दै यसो भन्दा शनिबार सभागृह हासोले गुञ्जायमान बन्यो ।
पूर्वाञ्चलव्यापी प्रथम मिस्टर मस्कुलर शारीरिक सुगठन प्रतियोगितालाई शनिबार तक्मे बुढाले हासोमय बनाइदिए । धरान उनको मावली पनि रहेछ । पटक पटक उनले धरान मेरो मावली हो भनेर उल्लेख गरिरहे ।
तक्मे बुढाको भुमिका सकेपछि केही बेरमा आफ्नै रुप(विल्सन बिक्रम राई)मा नातीको भुमिकामा उनी स्टेजमा देखा परे । दुवै रुपमा उनले दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य तुल्याए । शारीरिक सुगठन प्रतियोगितामा तक्मे बुढा पनि आउने भएपछि सभागृह खचाखच भरिएको थियो । तम्मे बुढाको हरेक बोलीमा नहास्ने कोही थिएनन् । ‘अरु सिक्स प्याक बनाउछन्, मेरो चाहि फेमिली प्याक जस्तो पो हुदैछ’–तक्मेले हसाउदै भने ।

धरानको ट्राफिक समस्याबारे पनि तक्मेले ब्यङ्ग्यात्मक हास्य प्रस्तुती दिए र युवाहरुलाई सन्देश पनि दिए । ‘ठुला ठुला इञ्जिनियर त यहाँ पो रैछ बा, कम्पनीले बाइक बनाएर पठाउछ, यहाँका केटाहरुले चाक ठाडो हुनेगरि फेरि अर्कै बनाइदिन्छ’–तक्मेले भने–‘हेल्मेट टाउकोको सुरक्षाको लागि हो, तर धरानमा त पाखुरामा पो लगाएर हिड्छन् ।’ जाँडरक्सी खाएर बिग्रनु भन्दा युवाहरुले शारीरिक व्यायाम गर्नु राम्रो भन्दै उनले सही बाटोमा हिड्न आग्रह पनि गरेका थिए । ‘जाडरक्सीले बिग्रनुभन्दा एक्सरसाइज गर्नु, राम्रो काममा लाग्नु । आफ्नो ठाउँ, देश बनाउनु र जीउ पनि बनाउनु है’–उनले भने ।

Comments
Post a Comment