लेट्स गेट लाउडमा झुमे धराने युवायुवती

धरान । करिब महिना अघिदेखि नै धराने युवाहरु ब्यग्र प्रतिक्षामा थिए । टुबोर्ग स्टेज लेट्स गेट लाउड कार्यक्रमअन्र्तगत नेपालका चर्चित ब्याण्ड एवं पप, रक गायकगायिकाहरु धरानमा भेला हुने खबरले उनीहरु अधिर बनिसकेका थिए ।
अझ आयोजकले धरानमा मेगा कन्सर्ट गर्नुअघि पूर्वका विभिन्न शहरहरुमा म्युजिकल ट्रक शो आयोजना गरेर युवा मनहरुलाई प्यासी बनाइदिएको थियो । शनिबार धराने युवाहरुको प्रतिक्षाको घडि सकिदा स्थानीय मात्रै होइन, धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा पुरै पूर्वेली युवाहरुको घुँइचो थियो । आयोजकले दिउँसो एक बजेदेखि गेट खुल्ने बताएता पनि त्यसअघिदेखि नै युवायुवती एवं संगीतप्रेमीहरुको लाम लागेको थियो । कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिला शुरु हुदा पनि गीत,संगीतका पारखी युवायुवतीहरु मैदानभित्र प्रवेश पाउन लाममै थिए ।
कार्यक्रमको शुरुवात नै चर्चित गायक निमा रुम्बाको रकिङ प्रस्तुतीबाट भयो । नमस्ते धरान भन्दै स्टेजमा झुल्किएका गायक निमाले लेट्स गेट लाउड भन्दै प्रियसी..बोलको गीतबाट आफ्ना फ्यानहरुलाई तताउन शुरु गरे । उनले क्रमशः मिस क्याटवक.., आउ आउ न.. र हुरी बतास..गीत प्रस्तुत गर्दा भिडमा संगीतको तिर्खा झनै बढाईदिए । सुरक्षाकर्मीलाई दर्शकको भीडलाई नियन्त्रण गर्नै हम्मे पर्यो । सुरक्षा घेराको बार नै भाँचिन खोजेपछि थप प्रहरी परिचालन गर्नुपर्यो ।
निमा पछि स्टेजमा आएका ब्याण्ड रविन एण्ड द न्यु रिभल्युसनले पब्लिकको मैदानलाई झनै उचाल्यो । तपाईहरु नै हो हाम्रो देशको भविष्य भन्दै रविनले शुरु गरे केटाकेटी..बोलको गीत । त्यसपछि क्रमशः उनले गाए, जति माया लाएपनि.., यो हाम्रो देशमा.., चिसो चिसो हावामा.., नेपाल मेरो गुलाबको काडा.. र भेट मैले शिवजी... । अन्तिम प्रस्तुतीमा आइपुग्दा रविनले आफनो जीउबाट कालो रंगको टि सर्ट उतारिसकेका थिए । उनका हरेक गीतमा युवाहरुले सँगसँगै गाएर साथ दिए ।

उनीपछि अभया एण्ड स्टिम इञ्जिन ब्याण्डले पनि युवाहरुलाई निराश पारेन । शुन्यता..बाट प्रस्तुती शुरु गरेकी अभयाले तिम्रो लागि.., रमाउन देऊ न.., नाच्यो झिल्के नाच्यो.. र सिरिमा सिरि..बोलको गीतले युवाहरुलाई जुरुक जुरुक उफारिन् । त्यसपछि, स्टेजमा झुल्कियो अर्को चर्चित ब्याण्ड १९७४ एडि । पुरानो तर ब्याण्डको कालजयी गीत तिमीलाई पिरतीले बाँधौला..बाट प्रस्तुती शुरु गरेको ब्याण्डले क्रमशः वरीपरी गाउँमा हल्ला छ.., गुरासै फुल्यो.., सम्बोधन र यो मन त मेरो नेपाली हो..प्रस्तुत गरे । ब्याण्डको हरेक गीतमा युवाहरुले साथ दिएका थिए । मेगा कन्सर्टको अन्तिम प्रस्तुतीकोरुपमा स्टेजमा गायक सविन राई उभिदा साँझ झमक्कै परिसकेको थियो । तर, दर्शक स्रोताको घुँइचो घट्नुको सट्टा झनै बढ्दै थियो । गृहनगरमा सविनले माया जालैमा..बाट आफ्नो रकिङ प्रस्तुती शुरु गरे । उनले आफ्ना चर्चित गीतहरु चपली हाइट.., तिमी नै भन.., किनकि म माया गर्छु.., गुरासको फेद मुनि..लगायत गाएर हजारौं संगीतका प्यासीहरुको तिर्खा मेट्ने प्रयास गरेका थिए । आयोजकका अनुसार धरानको मेगा कन्सर्टमा १० हजार भन्दा बढी स्रोताहरु सहभागी भएका थिए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे