धरानमा सम्पन्न भयो, पहिलो अन्र्तराष्टिय रेस्लिङ खेल



धरान । अघिल्लो दिन शुक्रबार नै भानुचौकमा रेस्लिङ खेलाडीहरुबीच भिडन्त भएको खबरले धरानमा सनसनी फैलिसकेको थियो । सधै टिभिमा मात्रै रेस्लिङ भिडन्त हेर्दै गरेका धरानेहरु शनिबार प्रत्यक्ष हेर्न समयमै पब्लिक उच्चमाविको मैदान पुगिसकेका थिए ।
सुकुम्बासीहरुको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले एम्बुलेन्स खरीद गर्न र रु १ बाट अस्पताल निर्माण अभियानलाई सहयोग पुर्याउन रेस्लिङ खेल आयोजना गरेको हो । पूर्वमा यसअघि झापामा मात्रै रेस्लिङ खेल आयोजना भएको थियो । धरानमा पहिलो पटक आयोजना भएकोले पनि बच्चादेखि वृद्धवृद्धासम्म चासो दिएर अन्र्तराष्टिय रेस्लिङ खेल हेर्न मैदान पुगेका थिए । दिउँसो दुई बजे शुरु हुने भनिएपनि हजारौं दर्शकहरुले करिब तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको थियो । रेस्लिङ खेलका कमेन्टेटर रिङमा पुगेर नेपालका ह्याबीवेट च्याम्पियन अजिंगर र भारतका टिएनए रिङ च्याम्पियन महावली वीरालाई बोलाए । दुवै रेस्लर रिङमा छिरेपछि दर्शकहरुमा उत्साह छायो ।
कमेन्टेटरले शुक्रबार नेपाली रेस्लर म्याक्स बीले भानुचौकमा झगडा गरेकोले उनलाई नेपाली टिमबाट रिङमा बहिष्कार गरिएको घोषणा गरे । उनको यो घोषणालगत्तै भारतीय खेलाडी शेराले म्याक्स बीलाई रिङमा लिएर आए अनि, आफुसँगँ मिलेर रिङमा उत्रने बताए । त्यसपछि, कमेन्टरले सर्त राखे,–‘यदि एउटा नेपाली खेलाडीसँग हार्यो भने म्यास बिलाई ४ पाटा मुडेर अर्धनग्न बनाएर धरान बजार घुमाउछौं ।’ शेराले सहमति जनाए । यो सर्तले शुरुवातदेखि नै रेस्लिङ खेलमा रोमाञ्चकता प्रदान गर्यो ।
रिङमा सबैभन्दा पहिला म्याक्स बी र लिजर्ड किङ भिडेका थिए । भिड्ने क्रममा दुवै रिङ बाहिर निस्किएर पनि लडाई गरेका थिए । लिजर्ड किङलाई दर्शकको साथ हुदाहुदै पनि म्याक्स बीले खेल जिते, र चारपाटा मुडिनबाट जोगिए । दोस्रो खेलमा धरानका किङ कोब्रा र चितवनका राइनो भिडे । शारीरिकरुपमा कमजोर देखिएपनि घरेलु दर्शकहरुको साथ पाएका किङ कोब्राले जितेरै छोडे । यो खेलपछि रिङमा उत्रिए, म्याक्स बी र मिस्टर यति । यतिले रिङ बाहिरबाटै म्याक्सलाई कुट्दै ल्याए । बल्लबल्ल उम्किएर म्याक्सले भारतीय रेस्लर सेरालाई ल्याए । दुवै मिलेर रेफ्रीलाई अल्मलाउदै, झुक्याउदै यतिलाई कुटे, र फेरि पनि म्याक्स बीले नै खेल जिते ।
यो खेलपछि रिङमा नेपालका ह्याबी वेट च्याम्पियन अजिंगर र डिएनए खेलिसकेका भारतका शेरा भिडे । यो खेलमा पनि म्याक्स बी आएर रेफ्रिीलाई अल्मलाए । शेराले झेली खेल्दै नेपालका ह्याबीवेट च्याम्पियन अजिंगरलाई हराए । अन्तमा, टिएनए रिङ च्याम्पियन महावली वीरा र म्याक्स बीबीच फाइनल भिडन्त भएको थियो । म्याक्स बीले भारतीय खेलाडी शेराको टिममा भएकोले फाइनलमा महावली वीरा नेपालको टिमको तर्फबाट खेलेका थिए । फाइनल भिडन्तमा पनि शेराले म्याक्स बीलाई सहयोग गर्न आउछन् र चिटिङ गर्दै महावली वीरालाई पराजित गर्छन् । वीराको च्याम्पियन वेल्ट लिएर जानै लाग्दा भने रिसले आगो भएका महावली वीरा दुवै(म्याक्स र शेरा)माथि जाइलाग्छन् । रेफ्रिले खेल सकिएकोले रिङबाट जान आग्रह गर्दा गर्दै पनि भिडन्त हुन्छ । त्यतिबेला नै लिजर्ड किंग, यति पनि आएर म्याक्स र शेरामाथि जाईलाग्छन् र अन्त्यमा रिङमा नेपालको टिम हावी हुन्छन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे