भानुचौकमै भयो नेपाली रेस्लिङ खेलाडीहरुको भिडन्त

 धरान । वडेमानको ज्यान र पाखुरा भएका मान्छेहरु गाडीबाट धरानको भानुचौकमा ओर्लिए । हातमा फुल र खादा लिएर प्रतिक्षा गरिरहेकाहरुले सबैलाई स्वागत गरे ।
शुक्रबार बिहान करिब १० बजेतिर उल्लासपुर्ण वातावरण बनेको भानुचौक क्षणभरमै तनावग्रस्त बन्यो । गाडीबाट ओर्लिएका तीन जना पहलमानहरु आपसमा विवाद गर्न थाले । स्वागत गर्न बसेकाहरुले सम्झाउदै थिए, तर उनीहरु आपसमा मुक्का हानहान गर्न थालिहाले । नजिकै उभिएका प्रहरी मुकदर्शक भए । पहलमानहरु आपसमा भिड्न थालेपछि भानुचौकक्षेत्र एकछिनमै सयौं मानिसको भीड लाग्यो । के भएको हो कसैले पत्तै पाएनन् । स्वागत गर्न बसेकाहरुले बल्लतल्ल उनीहरुलाई छुट्याएर बेग्ला बेग्लै गाडीमा राखेर होटलतिर लगे ।
भानुचौकमा प्रहरीकै अघि भिड्ने पहलमानहरु नेपालका रेस्लिङ खेलाडीरु म्याक्स, अजिंगर र मिस्टर यति हुन् । उनीहरु शनिबार धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा हुने रेस्लिङ खेलको लागि धरान आएका हुन् । धरान आइपुगेलगत्तै यी तिनै जनाबीच लडाई शुरु भएको थियो । उनीहरुसँगै भारतबाट आएका रेस्लिङ खेलाडी महावली वीरा र सेरासँग आफुहरु शनिबार रिङमा भिड्न पाउनुपर्ने माग गर्दै झगडा भएको रेस्लिङ खेलका संयोजक कुमार कार्कीले बताए ।
‘हामी खेलाडीहरुलाई स्वागत गर्दै थियौं, तीनै जनाले भारतबाट आएका रेस्लरसँग भोली म खेल्न पाउनुपर्छ भन्नथाले । मैले ठिकै छ, मिलाउछु भन्दा भन्दै उहाँहरु आपसमा झगडा गर्न थालिहाल्नुभयो’–संयोजक कार्कीले भने–‘भोली मिलाएर खेल गराउछौं भनेर बल्लबल्ल छुट्यायौं, उहाँहरुलाई अगल अगल गाडीमा हालेर होटल पुर्यायौं ।’ नेपाली व्यावसायिक रेस्लर मिस्टर यतिका अनुसार भारतीय दुई खेलाडीसँग नेपालका पनि दुई जना मात्रै रिङमा भिड्न पाउने भएकोले तीन जना रेस्लरबीच आपसमा झगडा गरेको बताए । ‘रिङमा दुई जनाले मात्रै भारतका खेलाडीसँग भिड्न पाउने भएकोले आफु भिड्ने भन्दै झगडा गरेका हुन्’–उनले भने । उनका अनुसार भारतबाट २ जना र नेपालका ६ जना व्यावसायिक खेलाडीहरु आएका छन् । भारतबाट महावली वीरा र सेरा आएका छन् भने नेपालका अजिंगर, म्याक्स बी, मिस्टर यति, लिजर्ड किङ्ग, किङ कोब्रा र राइनो आएका छन् ।
सुकुम्बासीहरुको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले एम्बुलेन्स खरीद गर्न र रु १ बाट अस्पताल निर्माण अभियानलाई सहयोग पुर्याउन रेस्लिङ खेल आयोजना गर्न लागेको हो । पूर्वमा यसअघि झापामा मात्रै रेस्लिङ खेल आयोजना भएको थियो । त्यसैगरि, राजधानीबाहिर पोखरा, बुटवल, बाग्लुङ, हेटौडा, सिन्धुपाल्चोकमा पनि आयोजना भइसकेको मिस्टर यतिले जानकारी दिए । उनका अनुसार धरानमा विगत ५ बर्षअघि देखि नै रेस्लिङ खेल आयोजना गर्ने योजना बनेको थियो । नेपालमा हालसम्म विभिन्न १० मुलुकका खेलाडी आइसकेको उनले बताए । दक्षिण एसियामा रेस्लिङ खेलाडीहरुको टिम बनेको नेपालको पहिलो भएको उनको भनाई छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे