अपराध नियन्त्रण गर्न पाँचकन्यामा सुरक्षा समिति गठन

प्रहरीको प्रयासले मात्रै शान्ति, सुरक्षा सम्भव नहुने ठहर गर्दै गाउँलेहरु पनि अपराध नियन्त्रणमा अग्रसरता देखाएका हुन् । इलाका प्रहरी कार्यालय धरानसँगको सहकार्यमा गाउँलेहरुले बुधबार सामाजिक सुरक्षा समिति गठन गरेका छन् । चाड पर्वमा जुवातास एवं सामाजिक विकृत अझ बढ्ने भएकोले जनतालाई नै सामाजिक विकृति एवं अपराध नियन्त्रणमा सक्रिय बनाउन समिति गठन गरिएको प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए । ‘जनता आफैले सामाजिक अपराध, विकृति विसंगतिविरुद्ध आवाज उठाउदैनन् र नियन्त्रणमा अग्रसरता देखाउदैनन्, तबसम्म दीर्घकालीनरुपमा नियन्त्रण गर्न कठिन छ’–सुरक्षा समिति गठन गर्न पाँचकन्या पुगेका रिजालले भने–‘जनता आफै पनि अपराध नियन्त्रणमा अग्रसर हुदा प्रहरीलाई पनि थप प्रोत्साहन मिल्छ ।’
पाँचकन्याबासीहरुको भेलाले बुधबार वडा ४, ५, ६, ७ र ८ लाई समेटेर १५ सदस्यीय सुरक्षा समिति गठन गरेका छन् । समितिको संयोजकमा दुर्गादास कुलुङ छन् भने सह संयोजकमा अनिता राई र सचिवमा पुर्णबहादुर राई छन् । ‘समाजमा थुप्रै समस्याहरु छन्, विकृति बढ्दो छ, त्यसलाई नियन्त्रण गर्न प्रहरी भएर मात्रै नहुदो रहेछ’–संयोजक कुलुङले भने–‘अब जनता आफै पनि सक्रिय हुनुपर्छ, सामाजिक विकृति, अपराध रोक्न हामी आफै जुट्छौं, प्रहरीलाई सघाउछौं ।’ समितिले आवश्यकताअनुसार वडास्तरमा र टोलस्तरमा पनि सुरक्षा समिति गठन गरेर सामाजिक विकृति, विसंगति नियन्त्रणमा सक्रिय रहने उनले बताए ।


.............................
धरानमा सामुदायिक सेवा केन्द्र
अपराध एवं सामाजिक विकृत्ति नियन्त्रण गर्न प्रहरीले धरानमा सामुदायिक सेवा केन्द्रको अवधारणा अघि सारेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न, विकृति विसंगति नियन्त्रण गर्न एवं युवा जनशक्तिलाई रचनात्मक काममा प्रेरित गर्न केन्द्रको अवधारणा ल्याएको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालयको पहलमा नरेन्द्र पोमोको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति पनि गठन भइसकेको छ । समितिमा नागरिक समाज, बुद्धिजिवी, भूपू प्रहरी, शिक्षक, पत्रकारलगायत समाजका सबै क्षेत्रको प्रतिनिधित्व गरिएको छ । समितिको विधान मस्यौदा भइसकेको र जिल्ला प्रशासन कार्यालयमा दर्ताको क्रममा रहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । ‘अपराध नियन्त्रण, युवा जनशक्तिलाई दुव्र्यसनबाट मुक्त गर्न प्रहरी र केन्द्रबीच निरन्तर सहकार्य र समन्वय हुन्छ’–उनले भने । सुरक्षा संवेदनशीलता एवं आवश्यकता हेरेर धरानका विभिन्न टोल टोलमा सुरक्षा समितिहरु गठन गरिने उनले बताए ।
Comments
Post a Comment