मुहान बगाएपछि पाँचकन्याबासीलाई खानेपानीको सास्ती

धरान । पाँचकन्या ५ देउराली चोकमा होटल चलाइरहेकी रनमाया तामाङलाई दुई साता यता धारामा नियमित पानी नआउदा व्यावसाय जोगाउन नै कठिन भइसक्यो । धारामा आउने पानीले एक गाग्री पानी भर्न पनि मुश्किल छ ।
गत भदौ २१ गतेको बर्षासँगै आएको बाढी र पहिरोले खानेपानीको मुहानमा क्षति पुर्याएपछि अहिले पाँचकन्या गाविसमा खानेपानीको हाहाकार लागेको छ । गाउँलेहरु खोला खोल्सी धाएर पानी संकलन गरिरहेका छन् भने कतिपयले महंगो शुल्कमा ट्यांकरबाट मगाएर पानी उपभोग गर्नुपरिरहेको छ । होटल व्यावसायी तामाङका अनुसार मुहानमा क्षति पुगेपछि धारामा पानी नआउदा करिब १० दिनजति एक कोष टाढाको खोला खोल्सी धाएर पानी ल्याउनु परेको थियो । ‘अहिले खोल्सीमा पाइप राखेर पानी ल्याएका छौं, अझै पनि कति जना खोला खेल्सी नै पुग्नुपर्छ’–उनले भनिन् ।
पाँचकन्याबासीहरुले सेहरा खोला, मार खोला, सिस्नेलगायत खोलाको मुहानबाट इनटेक गरेर पानी उपभोग गर्दै आइरहेका छन् । करिब २०२० सालदेखि यी खोलाहरुलाई खानेपानीको स्रोतकोरुपमा उपभोग गर्दै आएको पाँचकन्यामा हालसम्म २० वटा खानेपानी उपभोक्ता समिति बनिसकेको छ । क्षतिको पूननिर्माण गर्न तीन महिनाभन्दा बढी समय लाग्ने भएकोले पाँचकन्याबासीहरु थप चिन्तित छन् । ‘धारामा पानी आउदैन, तत्काल पूनर्निमाण पनि नहुने रहेछ, खोलाखोल्सीबाटै खानेपानी चलाउनुपर्ने भो’–देउरालीका मचिन्द्र लावतीले भने ।
भदौ २१ गतेको बाढी र पहिरोले खानेपानीका यी सबै मुहानमा क्षति पुर्याएको छ भने पाइप र इन्टेक पनि बगाएर करोडौंको क्षति पुर्याएको खानेपानी उपभोक्ता समिति पाँचकन्या ५, देवीगाउँका सचिव खगेन्द्र प्रसाद भण्डारीले बताए । उनका अनुसार गाविसका सबै उपभोक्ता समितिमा इटहरीस्थित खानेपानी डिभिजन कार्यालयबाट लगानी भएको थियो । ती सबै खानेपानीमा करिब ७ करोडको लगानीको भएको उनको भनाई छ । ‘ती सबै लगानी(७ करोड) क्षति पुगेको छ, पहिरोले मुहान पुरेको छ, पाइप र इन्टेक बगाएको छ’–सचिव भण्डारीले भने–‘पूनर्निमाण गर्न सक्ने अवस्था नै छैन, सामान्य टालटुल मात्रै गरेका छौं ।’ सम्बन्धित सरकारी निकायबाट पाइप जुटाउन पहल भइरहेको उनले जानकारी दिए ।
सेहरा खोलाको मुहानबाट पाँचकन्याको पानवारी, खैरेनी, देउराली, साउने, ठिंगाबारी र आँपटार क्षेत्रका बासिन्दाले खानेपानी उपभोग गर्दै आइरहेका थिए । यस्तै, मार खोलाको मुहानबाट देवी गाँउ, वसन्तटार, खैरेनी, झोरापाटा, सिरान देउरालीका बासिन्दाले खानेपानी पिउथे भने सिस्ने खोलाको मुहानबाट देवी गाउँ र झोरापाटाका बासिन्दाले पानी उपभोग गर्थे । स्थानीयका अनुसार देउरालीका ५ हजार ५ सय घरपरिवार, देवीगाउँका ५ सय, झोरा पाटाका एक सय, वसन्तटारका एक सय,पानवारीका ६ हजार घरधुरी र अन्य क्षेत्रका थप ५ सय घरधुरीले विभिन्न उपभोक्ता समितिमार्फत सेहरा, मार खोला र सिस्ने खोलाबाट खानेपानी उपभोग गर्थे । ‘पहिला धारामा बिहान २ घण्टा र बेलुकी २ घण्टा यी सबै परिवारलाई पुग्ने गरि पानी आउथ्यो’–सचिव भण्डारीले भने–‘एउटा घरले एक हजार लिटर पानी थाप्ने गरेको थियो ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे