धरानमा मासुजन्य उद्योग,नेबुलाको उत्पादन विदेशमा कासेली
धरान,पुष १८ । पुर्वको सुन्दर शहर धरान घुम्न आउदा तोम्बासँग सुकुटीको स्वाद नचाखे खल्लो हुन्छ । ती सुकुटी परम्परागतरुपमा घरेलु तरिकाले उत्पादन गरिन्छ । तर,भर्खर सञ्चालनमा आएको नेबुला फुड प्रडक्सन प्रालिले भने अत्याधुनिक प्रविधि अपनाएर उत्पादन गरेको ‘धराने सुकुटी’ कोसेलीकोरुपमा विदेश पुगिसकेको छ ।
धरान १७ आर्दश चोकमा १ करोड १५ लाख लागतमा स्थापना भएको मासुजन्य यो उद्योगले गएको दशैंयता आफ्नो उत्पादनमा बजारमा ल्याएको हो । यो अवधिमा प्रालिले राँगाको मासुबाट धराने सुकुटीसँगै विभिन्न परिकार उत्पादन शुरु गरिसकेको छ भने कुखुरा, वंगुर र माछाको परिकार पनि आधुनिक प्रविधिबाट उत्पादन शुरु गरेको छ । सञ्चालनमा आएको छोटो अवधिमा नै प्रालिले आफ्नो उत्पादन स्थानीय बजारसँगै विदेशमा रहेको नेपालीहरुमाझ कोसेलीकोरुपमा पुगिसकेको छ । ‘हाम्रो उत्पादन गुणस्तरीय र स्वास्थ्यकर छ, यसैले स्थानीय बजारमा त गएकै छ । दुबई, हङकङ, मकाउ र अमेरिकामा पनि हाम्रो प्रोडक्टलाई पुगिसकेको छ,’प्रालिका सञ्चालक एवं जनसम्पर्क अधिकारी सुमन जवेगुले भने,‘ग्राहक वर्गको सकरात्मक प्रतिक्रियाबाट लगानीकर्ता हामी उत्साहित छौं ।’
प्रालिमा जवेगु, मानबहादुर विश्वकर्मा, समोज कुमार खत्री, देवराज आचार्य, विवेक खतिवडा, उज्वल पौडेल र रोशन निरौला गरी ७ जनाको लगानी छ । कुल १ करोड १५ लाख लगानी भएको उद्योगमा मासुजन्य उद्योग प्रवद्र्धन कार्यक्रमबाट पनि १० लाख अनुदान प्राप्त भएको प्रालिका अध्यक्ष एवं मानव स्रोतसंसाधन प्रमुख समोजकुमार खत्रीले बताए । उनका अनुसार हालसम्म नेबुला ब्राण्डमा वफ(राँगा)को मासुबाट धराने सुकुटीसँगै मिटवल, मिट पिकल(आचार) र सुकुटीको अचार उत्पादन भइरहेको छ भने कुखुराको मासुबाट आचार, मिटवल र ससेज उत्पादन हुन्छ । वफ(वंगुर)को मासुबाट मिटवल र ससेज उत्पादन भइरहेको छ भने माछाको पनि फिस मिट वल उत्पादन हुन थालेको छ ।
नेबुला ब्राण्डको २ सय ग्राम र ४ सय ग्रामको पाउचमा वफ र पर्क मिटवल उत्पादन गर्ने यो नेपालकै पहिलो उद्योग पनि हो । रसायनिक तत्व र अप्राकृतिक रंगहरु प्रयोग नगरी उपभोक्ताको स्वाद, स्वास्थ्य र सन्तुष्टीलाई प्राथमिकता दिएर थोरै मात्र तेल प्रयोग गरी अचार पनि उत्पादन गरिएको प्रालिको भनाई छ । अचारमा फलफुलबाट बनेको भिनेगर प्रयोग गरेर १५० ग्राम पाउच र ३ सय ग्रामको डब्बा उत्पादन रहेको प्रालिको भनाई छ । ‘अहिलेसम्म रेष्टुरेष्टहरुले आफ्नै तरिकाले ग्राहकलाई खुवाउदै आएको थियो, हामीले व्यावसायिकरुपमा नै उत्पादन गरेको छौं,’अध्यक्ष खत्रीले भने,‘मासुजन्य धेरै परिकारहरु परम्परागतरुपमा उपभोग गरिरहेका छौं । हामीले ट्रेडिसन(परम्परा) र प्रविधिलाई समायोजन गरी आधुनिकीकरण गरेका छौं ।’
प्रालिका अनुसार उद्योगमा मासिक ३ टन रागाको मासु खपत भइरहेको छ भने कुखुरा र वंगुरको मासु मासिक १५ सय केजी खपत भइरहेको छ । उद्योगको लागि कुखुरा र वंगुरको मासु धरानको उत्पादनले पुगेपनि रागाको मासु सुनसरीकै दुहबीबाट ल्याउनु परेको प्रालिले जनाएको छ । हाल दैनिक एक लाख बराबारको उत्पादन उद्योगले बजारमा पठाइरहेको छ । उद्योगका सञ्चालकहरु खाद्य प्राविधिक पनि भएकोले गुणस्तरीय एवं स्वाथ्यकर उत्पादनमा सचेत भएको अध्यक्ष खत्री बताउछन् । उनी आफै पनि खाद्य प्राविधिक हुन् । ‘राज्यलाई कर तिरेका छौं, आधुनिक प्रविधि, स्वास्थ्य सुरक्षा अपनाएका छौं । त्यसैले गुणस्तरीय उत्पादन छ,’उनले थपे । भविष्यमा भेज परिकार पनि उत्पादन गर्ने प्रालिको योजना छ । प्रालि अध्यक्ष खत्रीका अनुसार आइसक्रिम, भेज ससेज, टोफु, ह्याम, बग्रर, नगेट, चिकन ड्रमस्टिक, चिकन ललीपप र टोमाटो केचप उत्पादन गरिनेछ भने पशुपंक्षीको पालन पनि गर्ने योजना छ ।
स्वदेशी उद्योगमा रोजगारीको सृर्जना
डेढ कट्ठा जग्गा लिजमा लिएर उद्योग सञ्चालनमा आएपछि स्थानीयले रोजगारी पनि पाएका छन् । हाल उद्योगमा १५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्षरुपमा पनि थुप्रैले रोजगारी पाएको जनसम्पर्क प्रमुख जवेगु बताउछन् । ‘उद्योगको कारणले मासु खपत हुने भएकोले पशुपालन व्यावसायमा पनि फष्टाउछ, यही पनि हाल १५ जनाले रोजगारी पाएको छ,’जवेगु भन्छन्,‘उद्योगको उत्पादनले धरानको चिनारी पनि गराउछ, धरान आउने पर्यटकहरुलाई उद्योगको उत्पादन चखाउनुपर्छ, यसले पर्यटनलाई पनि टेवा पुग्छ ।’
थ्री फेज विजुल नपाउदा समस्या
नेबुला फुड स्थानीयस्तरमा खुलेको पहिलो मासुजन्य उद्योग पनि हो । छोटो समयमा नै गुणस्तरीय मासुजन्य परिकार उत्पादन गरेर प्रसंसा कमाएको यो उद्योगलाई विद्युत प्राधिकरणले थ्री फेज विजुलीको लाइन नदिदा भने ठुलो समस्या भोग्नु परेको छ । उद्योगको ड्रायर मेशिन चलाउन थ्री फेज लाइन आवश्यक छ ।प्राधिकरणले अनेक बहानामा थ्री फेज लाइन नदिए पछि उद्योगले ठुलो क्षमताको जेनेटर खरीद गर्नुपर्दा आर्थिक भार खेप्नु परेको जनसम्पर्क प्रमुख जवेगुको गुनासो छ । ‘प्राधिकरणलाई धेरै अनुनय विनय गर्यौं, तर सुनुवाई भएन । राजनीतिक दल, उपमहानगरपालिकालाई पनि गुहार्यौं, तर प्राधिकरणले आलटाल गरिरहेको छ,’उनी भन्छन्,‘स्वदेशी उद्योग, उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा त्यस्तो पाइएन ।’
Comments
Post a Comment