सार्वजनिक सुनुवाईमा मेयर बोलिरहदा‘एयरपोर्ट चाहिदैन’भन्ने प्ले कार्ड प्रर्दशन


धरान,माघ ६ । विगत १४ बर्षअघिदेखि एयरपोर्ट बन्ने आशमा बसेका धरानबासीमा शनिबार नागरिक उड्यान प्राधिकरणले सार्वजनिक सुनुवाई गर्ने खबर केही दिनदेखि भुसको आगो जस्तै गरि फैलिएको थियो ।
धरान १७ स्थित उदय सामुदायिक वनको सभाहलमा ८ बजे शुरु हुने भनिएपनि शुरुमा उपस्थिति कम भएपछि निर्धारित समयमा कार्यक्रम शुरु हुन सकेन । केही समयपछि भने प्रस्तावित एयरपोर्टस्थलका जग्गाधनीसहित ठुलो संख्यामा नगरबासीहरु प्ले कार्डसहित सुनुवाई कार्यक्रम हलमा प्रवेश गरे । साउण्ड सिस्टमको राम्रो व्यवस्थापन नहुदा शुरुवातदेखि नै तनाव भएको कार्यक्रममा जनतालाई आफ्नो कुरा राख्न नदिइएको भन्दै आयोजक उपमहानगरपालिका र प्राधिकरणका प्रतिनिधिमाथि आक्रोश पनि पोखे । आफु बसेकै स्थानमा बोल्दा माइक प्रष्ट नसुनिएपछि सहभागीहरु स्टेजमा पुगेर बोल्न खोज्दा नदिएपछि जनप्रतिनिधिसँगै नगरबासी आक्रोशित बनेका थिए भने थोरै मात्र बोल्न भन्दै समयसीमा तोक्दा पनि सहभागीहरुले विरोध जनाए ।
खासमा एयारपोर्ट निर्माण कार्यको लागि वातावरणीय प्रभाव मुल्यांकन(इआइए)को अध्ययनको लागि प्राधिकरणबाट परामर्शदाताका प्रतिनिधिहरु प्रभावित क्षेत्रका बासिन्दाहरुको धारणा संकलन गर्न आएका थिए । त्यसैक्रममा आयोजित सार्वजनिक सुनुवाईमा अधिकांशले एयरपोर्ट बन्नुपर्ने धारणा राखेपनि १४ बर्षसम्म जनतालाई रनभुल्लमा पारेको भन्दै उपमहानगरपालिकासँग आक्रोश पोखे । कसैले एयरपोर्टको हल्लाले आफ्नै जग्गा पनि उपभोग गर्न नपाएको गुनासो पोखे भने कसैले क्षतिपुर्ति वा मुअब्जा पाउने कि नपाउने र कसैले सुकुम्बासीहरुलाई कसरी व्यावस्थापन गर्ने भन्दै प्रश्न तेस्र्याए । सबैको कुरा सुनिसकेर जब मेयर तारा सुब्बाले आफ्नो धारणा राख्न थाले, तब सहभागीहरुले प्ले कार्ड उठाए, जसमा लेखिएको थियो,‘हामीलाई एयरपोर्ट चाहिदैन ।’
यातायात सुविधामा थप पहुच हुने र धरानको आर्थिक, पर्यटकीय विकासको दृष्टिकोणले महत्व दिइएको एयरपोर्टलाई जनताले किन चाहिदैन भने ? यसको जवाफ पनि स्वयम मेयर सुब्बाले दिदै भने,‘तत्कालीन नगरपालिकाको नेतृत्वले जनताको जग्गाको कम मुल्यांकन गरेर यति इन्कर्पोरेटलाई जग्गा दिलायो, जनताले पनि एयरपोर्ट बन्छ भनेर दिएको हो, तर बनेन । तपाईहरुको आक्रोश स्वभाविक नै छ ।’ एयरपोर्ट निर्माणमा थुप्रै चुनौतीहरु भएपनि सकरात्मक सोचका साथ अघि बढ्न नगरबासीलाई आग्रह गर्दै मेयर सुब्बाले एयरपोर्ट बन्ने सुनिश्चित भएपछि जनतालाई चित्त बुझाएर मात्र काम अघि बढाउने प्रतिवद्धता पनि सुनाए । जनताको भावना विपरीत र कसैलाई भुमिहिन, सुकुम्बासी बनाउने गरि कुनै पनि योजना अघि नबढ्ने उनको भनाई थियो । मेयर सुब्बाले भने,‘एयरपोर्ट बन्छ कि बन्दैन भन्ने बिषयमा म अहिले बोल्दिन, आज मात्र एयरपोर्ट बन्दा के हुन्छ भन्ने बिषय हो । तर, जनतालाई भुमिहिन बनाउने गरि कुनै योजना लागु गर्दैनौं, न्यायोचित ढंगले मात्र काम गछांंै ।’
एयरपोर्ट बनाउने भन्दै धरान १७ स्थित डाँडाघोपाका जग्गाधनीहरुले न्युनतम मुल्यमा करिब ७ बिघा जग्गा यति इनकर्पोरेट प्रालिलाई बिक्री गरेका थिए । नगरपालिकाको रोहबरमा भएको किनबेच र सहमतिमा ६ महिनाभित्र एयरपोर्ट नबने किनेकै मुल्यमा जग्गाधनीलाई फर्काउने उल्लेख छ । तर, यतिका बर्ष बितिसक्दा पनि एयरपोर्ट बनेको छैन । चुनावको बेला एयरपोर्ट बनाउने घोषणा गरेका जनप्रतिनिधिहरुलाई पनि एयरपोर्ट काउसो झै बनेको छ । पछिल्लो समय प्राधिकरणले चासो दिदै सम्भाव्यता अध्ययन गर्दा ठुलो जहाजको लागि ९३ बिघा जमिन आवश्यक हुने रिपोर्ट आइसकेको छ । अहिले सोही रिपोर्टअनुसार प्रभावित क्षेत्रको सामाजिक, आर्थिक, वातावरणीय अवस्थाको बारेमा अध्ययन भइरहेको र त्यसैक्रममा सुनुवाई कार्यक्रम गरिएको परामर्शदाता प्रतिनिधि लोकेश सापकोटाले बताए । उनले भने,‘त्यो क्षेत्रफलमा कति घरधुरी छ, कति सुकुम्बासी र कति नम्बरी जग्गा छ, के के संरचना छन् भनेर यथास्थिति देखाउने हो । यसले निर्णयकर्ताहरुलाई सहज हुन्छ ।’ अबको एक महिनाभित्र रिपोर्ट तयार गरेर पर्यटन मन्त्रालय पठाउने उनले बताए ।
...............................................

             यतिले जग्गा बेच्न पाउदैन ः जग्गाधनी

प्रस्तावित एयरपोर्ट क्षेत्रका जग्गाधनीहरुले अहिले नाफा खाएर यतिले प्राधिकरणलाई जग्गा बिक्री गर्न लागेकोमा विरोध जनाएका छन् । उनीहरुले विगतमा भएको सहमति अनुसार आफुहरुलाई जग्गा फिर्ता गर्नुपर्ने वा आफुहरुबाट किनेकै मुल्यामा प्राधिकरणलाई बेच्नुपर्ने धारणा राखे । ‘कारणवश एयरपोर्ट निर्माण असफल भए साविककै मुल्यामा फिर्ता गर्ने लिखित सहमति छ, अहिले यतिले नाफा खाएर प्राधिकरणलाई बेच्न लागेको छ, त्यस्तो नहोस्,’जग्गाधनी जीवन भटराईले भने,‘यति इन्कर्पोरेटलाई नाफा खाएर बेच्न जग्गा बेचेका होइनौं, नगरपालिकाले भनेपछि विकास हुन्छ भनेर एयरपोर्टको लागि दिएको हो ।’
जग्गाधनी एवं संघर्ष समितिकी संयोजक समुन्द्र राईले बन्छ कि बन्दैन भन्ने अन्यौलले स्थानीय जनतालाई एयरपोर्टले पीडा मात्र दिइरहेको भन्दै अब आफुहरुले जग्गा नदिने बताइन् । जनतामा एयरपोर्ट बन्छ भन्ने विश्वास नभएकोले अब जग्गा नदिने उनको भनाई थियो । धरान १७ का बासिन्दा लहरु जिमीले एयरपोर्ट बन्न कति जग्गा चाहिने हो भन्ने स्पष्ट खाका नल्याएर जनतालाई रनभुल्ल पारेको बताइन् । सुकुम्बासी नेता सुवास राईले आफुहरु विकास विरोधी नभएपनि प्रभावित क्षेत्रमा १ सय ९५ घरधुरी सुकुम्बासीहरु भएकोले उचित व्यावस्थापन हुनुपर्ने माग दोहोर्याए भने जसकुमार राईले ट्विनअटर विमान अब फेज आउट हुने र ठुलो विमानको लागि ९३ बिघा जग्गा उपलब्ध नहुने भन्दै जनतालाई झुटो आशा नदेखाउन आग्रह गरे ।
प्याराग्लाइडिङ पाइलट राम राईले आफुहरुले प्राधिकरण र सरकारबाट स्वीकृत लिएर रमिते डाँडाबाट व्यावसायिक उडान शुरु गरेको तर एयरपोर्ट बन्दा असर हुने भएकोले क्षतिपुर्ति दिनुपर्ने माग गरे भने जग्गाधनी शिवशंकर राईले सुकुम्बासी र जग्गाधनीसँग सहकार्य गरेर मात्र काम अघि बढाउन आग्रह गरे ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे